म्याग्दीमा पहिलो पटक टिम्मुर प्रसोधन गर्ने औजार भित्रीयो

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

Timur Parsodhan Mecineम्याग्दीमा मसलेदार फल टिम्मुरको प्रसोधन गर्ने औजार भित्रीएको छ । बेनी नगरपालिका ९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलो पटक टिम्मुर सुकाउने, प्रसोधन, तौलने र पिधेर मसला बनाउने औजार भित्र्याएको हो ।

जिल्ला वन कार्यालय म्याग्दीको दश लाख रुपैयाँ अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय उपकरणको प्रयोग गरेर टिम्मुर सुकाउने, प्रसोधन गर्ने, तौलने र मसला बनाउन थालीएको छ ।

औजार भित्रीएपछि गाउँमै टिम्मुर प्रसोधन गरेर मसला बनाई बजार पु¥याउन सकिने भएको छ । यसअघि नाङ्लोमा केलाएर टिम्मुर प्रसोधन गर्दै आएका थिए । गेडा टिम्मुरनै बिक्री हुने गरेको थियो । यसो हुँदा ब्यापारीले मिसावट हुन्थ्यो ।

लागत घट्ने, बढी मूल्य पार्न सकिने र तोरीपानीको टिम्मुरको ब्रान्डीङ गर्न सजिलो हुने बानियाले बताउनुभयो । मेसीन राख्ने घरको व्यवस्था गरेर नियमित रुपमा सञ्चालन गर्ने समूहको योजना रहेको उहाँले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर टिप्न प्रयोग हुने कैची उपलब्ध गराएपछि फल टिप्न रुखको हाँगानै काट्नुपर्ने अवस्थाको अन्त्य भएको छ । टाढैबाट फलको झुप्पा कैचीले काटेर फल टिप्दा काँडाले कोप्ने समस्या हटेको छ ।
तोरीपानीका एक सय घरधुरीले व्यवसायिक रुपमा टिम्मुर खेती गर्दै आएका छन् । टिम्मुर खेती तोरीपानीका बासिन्दाको बैकल्पीक आयस्रोत बनेको छ । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदीक औषधिको रुपमा प्रयोग गरिन्छ ।

गत वर्ष तिस लाख रुपैयाँ मूल्य बराबरको ३५ मुरी टिम्मुर उत्पादन भएको तोरीपानीमा यसपाली भने उत्पादन घटेको छ । यसपाली करिब दश मुरीको हाराहारीमा मात्र उत्पादन भएको भुमेसिद्ध टिम्मुर सञ्जालले जनाएको छ ।

टिम्मुरको फुल खेल्ने र बटिला लाग्ने समय जेठ, असार महिनामा अत्याधिक वर्षा हुनुका साथै असिना परेकाले उत्पादन घटेको हो । असोज र कात्तिक महिना टिम्मुरको फल टिप्ने समय हो । तोरीपानीमा उत्पादन भएको टिम्मुर बेनी, मुस्ताङ, पोखरा, काठमाडौका साथै जापान, जर्मन र बेलायत लगायत देशमा समेत निकासी हुने गरेको छ ।