खबरामा सिँचाईका लागि पोखरी

विकल्प न्यूज/बेनी
पुस १७ गते ।

Pokhariपोखरी निर्माण भएपछि कृषकहरुलाई सिँचाई गर्न सहज भएको छ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाई गर्ने व्यवस्था मिलाइएको हो ।

थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपुर्ती गर्दा खेतीबालीमा सिँचाई गर्न सहज भएको कृषकहरुले बताएका छन् । पोखरी निर्माण भएपछि सुख्खा याममा पनि सिँचाई सुबिधा भएपछि कृषकहरुले मौसमी र बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन् ।
बेनी नगरपालिका २ खबराका कृषक यामबहादुर घिमीरेले पोखरी निर्माण भएपछि बाह्ै महिना सिँचाई सुबिधा उपलब्ध भएको बताउनुभयो । खबराको सिम्ले टोलका ५ घरधुरी कृषकहरुले ६० हजार लिटर क्षताको पक्की पोखरी बनाएका छन् ।

मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक पर्दा आलो पालो गरेर सिँचाईको व्यवस्था मिलाइएको घिमीरेले बताउनुभयो । पोखरीको पानी हिउँदमा गहुँ, तोरी, आलु र तरकारी बालीमा सिँचाई गर्न प्रयोग भएको छ ।

पानीको स्रोत थोरै भएपनि पोखरीमा संकलन गर्दा सिँचाई गर्न छिटो र सजिलो भएको घिमीरेको अनुभव छ । पोखरीमा पानी संकलन गर्ने व्यवस्था भएपछि हिउँदको सुख्खा याममा पनी खेतबारी हराभरा बनाउन तथा तरकारी उत्पादन गर्न सहज भएको खबराका कृषक प्रकाश घिमीरेले बताउनुभयो ।

तरकारी र केरा खेतीका लागि पकेट क्षेत्र खबराका हरेक टोलमा पोखरी निर्माण भएका छन् । सिचाईको भरपर्दो स्रोत नभएको खबराका कृषकहरुका लागि पोखरी बरदान बनेको छ । पोखरी भरित दुईतिन दिन लागेपनि पर्याप्त पानी आपुर्ती हुने भएकाले सिचाई छिटो हुने गरेको कृषकहरुको भनाई छ ।

बेनी बजारमा तरकारी आपुर्ती गर्ने प्रमुख स्थल खबरामा पचास जना भन्दा बढी व्यवसायीक कृषकहरु छन् । हाँडेभिरबाट पम्प गरेर लभ्लीहिलमा पुराएको पानी पिपलडाँडा र दारम्बोट पु¥याएर पोखरी मार्फत गाउँभरी सिँचाई सुबिधा विस्तार गर्न पहल भएको आयोजनाका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

एउटा पोखरी निर्माण गर्न दुई देखि तिन लाख रुपैयाँ सम्म खर्च लाग्ने गरेको छ । गत वर्ष जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा खबरामा पाँच वटा नयाँ पोखरी निर्माण र दुई वटा पुराना पोखरीको मर्मत भएको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।

खबराका साथै बेनपा १ रत्नेचौर, ४ थामडाँडा, भगवतीको रिसीन चौतारी लगायतका ठाउँमा पानी पोखरी बनाएर सिचाई गरिदै आएको छ । पानीको स्रोत कम भएको ठाउँमा पोखरी प्रभावकारी बनेको भुसंरक्षण अधिकृत पौडेलले बताउनुभयो । पोखरी निर्माणमा यसअघिका वर्षमा जिल्ला कृषि विकास कार्यालयले पनी सघाउदै आएको थियो ।

यसपाली भने कृषि र भू–संरक्षण मार्फत सञ्चालन हुने उक्त कार्यक्रमको बजेट नगरपालीका र गाउँपालिकामा गएको छ । स्थानीय तहका जनप्रतिनिधि र कृषकहरुले सुख्खा क्षेत्रमा पोखरी बनाउने योजनालाई निरन्तरता दिएमा सिँचाई सुबिधा विस्तारका साथै कृषि उत्पादन र आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।