बेनीका मासु व्यवसायीको यस्तो खेलबाड कहिलेसम्म….?

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १७ पुष ।


DSC03046म्याग्दीको सदरमुकाम बेनीमा बधशालाको अभाव भएको छ । व्यवस्थित बधशाला र बधस्थलको अभावमा उपभोक्ता अस्वस्थ्यकर तवरले दुषित ठाउँमा बध गरिएको मासु उपभोग गर्न बाध्य छन् । अव्यवस्थित बधस्थलका कारण नदी र नजिकैको बस्तीका बासिन्दा प्रदुषणको चपेटामा परेका छन् ।

बेनीका मासु व्यवसायीले खुल्ला मञ्च नजिकै रहेको बधस्थल र डल्लेपपिलको पाखोमा राँगा भैसी बध गर्दै आएका छन् । व्यवस्थित भनीएको खुल्ला मञ्च नजिकैको बधस्थलबाट राँगा भैसीको लादी, छाला, रगत र फोहोर सिधै म्याग्दी नदीको किनारमा फाल्दा दुर्गन्ध फैलीएको स्थानीयबासीले गुनासो गरेका छन् ।

बेनी–गलेश्वर सडक खण्ड अन्तरगत पर्ने डल्लेपिपलको पाखोको बधस्थल सञ्चालकले सम्बन्धित निकायबाट अनुमती लिएका छैनन् । आधारभुत मापदण्ड समेत पुरा भएको छैन् । खुल्ला स्थानमा भैसी राँगो बध गरिदै आएको छ ।

बध गर्ने ठाउँमा पानीको सुबिधा छैन् । लादी, खुट्टा, पुच्छर, सिङ, छाला पाखाभरी फालीएको छ । जहा पायो त्यही बध गर्ने र जथाभावी फोहोर गर्दा वरपरको वातावरण प्रदुषित भएको डल्लेपिपलका बासिन्दा मनबहादुर चर्माकारले बताउनुभयो । Badha Place“अस्वस्थित बध स्थल हटाउन वा व्यवस्थित गर्न सम्बन्धि मासु व्यवसायी, नगरपालीका, वडा, पशु सेवा र प्रहरी कार्यालयमा माग गरेपनी सुनुवाई भएन” चर्माकारले भन्नुभयो । धुले सडकको छेउमा रागा भैसीको बध र मासु काटेर पसलमा लैजाने गरेका छन् । यहा बध गरिएको मासु बेनीमा बिक्री गर्नुका साथै कुश्मा र मुस्ताङ समेत पठाउने गरेका छन् ।
दैनिक तिन वटा सम्म रागा भैसी बध हुने गरेको छ । पशु स्वास्थ्यकर्मीहरुका अनुसार फोहोरी ठाउमा बध र काटेको मासुबाट विभिन्न रोग सर्ने उच्च जोखिम हुन्छ । त्यस्तो मासु उपभोग गर्नु स्वास्थ्यका लागि हानीकारक हुने पशु स्वास्थ्यकर्मीहरु बताउँछन् । डल्लेपिपलमा रागाभैसी बध गर्दै आएका मासु ब्यवसायी सुरेश नेपालीले नगरपालिकाले बधशालाको व्यवस्था नगर्दा समस्या भएको प्रतिक्रिया दिनुभयो ।

उनिहरुलाई यसअघि बजार अनुगमन टोलीले पटक पटक सचेत बनाएपनी अटेरी गरिरहेका छन् । बेनी नगरपालीका ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बधशाला निर्माणको तयारी भएको बताउनुभयो । बेनपा २ हाडेभिरमा बधशाला बनाउनका लागि योजनाको सर्वेक्षण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मासु व्यवसायी र नगरपालीकाको संयुक्त लगानीमा बधस्थल निर्माण गर्ने योजना बनाइएको छ ।

बेनीमा रहेका २२ वटा पसलहरुले मासिक एक करोड रुपैया मूल्य बराबरको २६.७ मेट्रिक्टन मासुको ब्यापार गर्दै आएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पटक पटक अनुगमनका क्रममा मासु पसलको सरसफाईमा ध्यान दिन, स्वच्छ र सफा मासु बिक्री गर्न ब्यवसायीलाई निर्देशन दिएपनि अटेर गर्ने ब्यवसायीलाई कारबाही भएको छैन् । अस्वस्थ्य र दुषित मासुको ब्यापार गर्ने ब्यवसायीलाई कानुनी कारबाहीका साथै बेनीमा ब्यवस्थित बधस्थल निर्माणका लागि सरोकारवालाको ध्यान जान जरुरी देखिएको छ ।