पुरानै कार्यशैलीका कारण विकासको कामले गति लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ गते ।

beni nagarpalikaपरम्परागत कर्मचारी प्रशासन, नयाँ संरचना र समन्वयको अभावमा म्याग्दीका स्थानीय तहले अपेक्षाकृत रुपमा विकासको कामलाई गति दिन सकेका छैनन् ।

राजनीति र प्रशासनीक नेतृत्वबिच तालमेल अभाव देखिएको छ । कार्यशैलीमा परिवर्तन नआउँदा कर्मचारीले चलाउँदाको र अहिलेको अवस्थामा खासै भिन्नता नभएको सर्वसाधारण बताउँछन् ।

नयाँ संरचना, क्षेत्राधिकार र नीतिगत अस्पष्टताका कारण कर्मचारी र जनप्रतिनिधि अझै अन्यौलमा छन् । योजना निर्माण प्रक्रियामा सम्बन्धित कार्यालय र स्थानीय तहबिच समन्वय अभावमा बिषयगत कार्यालयले सञ्चालन गर्ने योजना तथा कार्यक्रममा मन्त्रालयले पठाए अनुसार बजेट बिनियोजन हुन सकेको छैन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयानाथ शर्माले शिक्षा, स्वास्थ्य, कृषि, पशु, आर्युवेद लगायत कार्यालयबाट स्थानान्तरण भएर आएका कर्मचारीहरुसंग घुलमिल भएर काम गर्न नसकेको बताउनुभयो । नगरपालिकाभित्र विषयगत शाखाका कर्मचारीको लागि कार्यकक्षको अभाव भएकाले उनिहरुले पहिलेकै कार्यालयबाट काम गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले ठूला बजेटका योजनाको ठेक्का प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । बेनी पात्लेखेत सडक कालोपत्रे, खुल्ला मञ्च खेलमैदान र नगरपालीकाको भवनमा तला थप गर्ने योजनाको ठेक्काका लागि बोलपत्र आव्हान भएको छ । उपभोक्ता समिति मार्फत हुने योजनाको प्राबिधिक सर्वेक्षण र सम्झौतालाई तिब्रता दिइएको नगरपालिकाले जनाएको छ ।

गत असारमा भएको प्रथम नगरसभाले ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट पारीत गरेको थियो । नगरपालिकाको सबै वडाका कार्यालय व्यवस्थित भएपनि ४ नम्बर वडामा सचिव नहुँदा अर्को वडाकाले काम चलाउँदै आएका छन् । बेनी बजारको फोहोर व्यवस्थापनका लागि ल्याडफिल साईट निर्माण गर्न साठी लाख रुपैयाँ बिनियोजन भएपनि जग्गा पहिचान हुन नसक्दा कसरी र कहाँ काम गर्ने भन्ने अन्यौल छ । beni nagarनगरप्रमुख हरिकुमार श्रेष्ठले नीतिगत अन्यौलताका कारण काम गर्न अप्ठ्यारो भएपनि नगरसभाले पारित गरेको योजना कार्यान्वयनलाई तिब्रता दिइने बताउनुभयो । प्रदेश र संघीयसभाको चुनाव भएकाले क्षेत्राधिकार सम्बन्धि अन्यौलता हट्ने र काम गर्न सजिलो हुने बताउनुभयो ।

बाहीरी जिल्लामा कार्यालय भएका केही विषयगत कार्यालयले समन्वयमा बेवास्ता गर्दा अप्ठ्यारो परेको उहाँले बताउनुभयो । सन्तुष्ट हुन नसकेपनि बिवादरहित, पारदर्शी र प्रक्रियासंगत ढङगले विकासको कामको गति बढाइने नगरप्रमुख श्रेष्ठको भनाई छ । नगरपालिकाले ल्याण्डफिल साईटको जग्गा खोजीलाई तिब्रता दिनुका साथै एकिकृत सम्पत्तीकर लागु गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।