म्याग्दीखोलाको पानी लभ्लीडाँडामा पुगेपछि स्थानीय दङ्ग

विकल्प न्यूज/बेनी
पुुस ५ गते । Lift Sinchai Aayojona 1तरकारी खेतीको पकेट क्षेत्र बेनपा २ खबराका कृषकले नयाँ प्रबिधिको सिँचाई आयोजना निर्माण गरेका छन् । लिफ्ट प्रबिधिको सिँचाई आयोजना निर्माण गरेर बेनी बजार नजिकैको हाँडेभिरबाट म्याग्दी नदीको पानी तानेर लभ्लीहिलको डाँडाँमा पु¥याएका हुन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा खबराको राधाकृष्ण कृषि सहकारी संस्थाले जिल्लामै पहिलो पटक नयाँ प्रबिधिको सिँचाई आयोजना निर्माण गरेको हो ।

वि.स २०७३ फागुनदेखि निर्माण सुरु गरिएको योजना दश महिनामा सफल भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । बिहीबार र शुक्रबार म्याग्दी नदीबाट पानी तानेर लभ्लीहिलमा पु¥याई आयोजनाको परिक्षण गरिएको थियो ।

परिक्षण सफल भएपछि खबराका कृषकमा उत्साह छाएको छ । नदी किनारमा दश मिटर गहिरो ईनार बनाइएको छ । ईनारभित्र विद्युतको सहायताले चल्ने समसिवल पम्प जडान गरिएको छ । सो पम्पले तानेको पानी पाईप मार्फत लभ्लीहिलको डाँडामा पु¥याइएको हो । Lift Sinchai Aayojonaईनारदेखि लभ्लीहिलको डाँडासम्मको सिधा उचाई २५० मिटर छ । ६० एमएमको पाईपबाट प्रति घण्टा नौ हजार लिटर पानी तान्न सक्ने २० हर्सपावर क्षमताको पम्म जडान गरिएको छ । ईनारदेखि रिजर्भटंकी सम्मको दुरी ५०० मिटर छ ।

खोलाबाट तानेर लभ्लीहिलमा पु¥याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्नका लागि बिस हर्स पावर क्षमताको समसिवल पम्प जडान गरिएको प्राबिधिक कृष्ण खत्रीले बताउनुभयो । lift sinchi 2विद्युतको सहायताले चल्ने सो उपकरणले प्रतिघण्टा नौ हजार लिटर भन्दा बढी पानी तान्न सक्ने क्षमताको छ । उक्त योजनाबाट हाल ४० घरधुरी कृषक लाभान्वित भएका छन् । करिब पाँच सय रोपनी खेतबारीमा सिँचाई सुबिधा पुगेको छ ।

लभ्लीहिलको पोखरीमा अर्को पम्प जडान गरि दारीम्बोटसम्म पानी पु¥याउने योजना रहेको अध्यक्ष कार्कीले बताउनुभयो । दोस्रो चरणमा ठूलो खबरा क्षेत्रलाई पुग्ने गरी सिँचाई विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

आयोजना निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । पूर्वाधार निर्माणका लागि स्थानीयबासीले थप आठ लाख रुपैयाँ भन्दा बढीको श्रमदान गरेका उपभोक्ता समितिका कोषाध्यक्ष कृष्णबहादुर सुवेदीले बताउनुभयो ।

ब्यवसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाईको समस्या छ । हिउँदको माघ, फागुन देखि जेठ महिनासम्म सुख्खा हुँदा तरकारी खेती गर्न कृषकलाई समस्या भएको थियो । खबराका बासिन्दाले तरकारी खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।
लिफ्ट आयोजनाको पानी बिशेष गरेर खडेरी हुँदा सिँचाईका लागि प्रयोग गर्न सकिने कृषकहरुको भनाई छ । फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग परेका छन् । फेदीको पानी डाँडामा पुग्ला भनेर नसोचेको बताउँदै कोषाध्यक्ष सुवेदीले योजना निर्माण भएपछि उत्साह छाएको प्रतिक्रिया दिनुभयो ।

खबरामा उत्पादन भएको तरकारी सदरमुकाम बेनीमा खपत हुन्छ । बजार नजिकै भएकाले उत्पादन बिक्री नहुने समस्या छैन् । सिँचाईको समस्याले उत्पादन बढाउन र खेती विस्तारका लागि समस्या भएको थियो ।

लिफ्ट सिँचाईलाई व्यवस्थित गरेर दिर्घकालीन रुपमा सञ्चालन गर्ने सहकारीको योजना छ । सिचाई सुबिधा उपलब्ध नभएको नदी किनारको तटीय क्षेत्रमा लिफ्ट प्रबिधि उपयोगी बन्ने प्राबिधिक खत्रीले बताउनुभयो ।