सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ असोज ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् ।
शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा प्रोजेक्टर, १० वटा सोलार प्यानल र शैक्षिक सामाग्रीहरु सहयोग प्राप्त भएको प्रअ आचार्यले जानकारी दिनुभयो ।
आधारभुत र मावि तहमा ऐच्छिक कम्प्युटर विषयको पठनपाठन सञ्चालन हुने सो विद्यालयमा पाईजाले कम्प्युटर शिक्षकको तलबका लागि हालसम्म करिब सात लाख रुपैया नगद सहयोग समेत प्राप्त भएको छ ।
कक्षा १२ को पठनपाठन हुने सो विद्यालयमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयको छ कोठे भवन निर्माणका लागि समेत पाईजाले प्रवासमा रहेर सहयोग जुटाउन पहल गर्नुभएको थियो । रोजगारीका लागि अमेरीकामा पुगेका पाईजाले मावि तहसम्मको शिक्षा शिख मावीबाट लिएका थिए ।