बेनी नगरपालिका ८ द्धारा म्याग्दीमै पहिलोपटक व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु

सन्तोष गौतम /विकल्प न्यूज
बेनी ७ भदौ । बेनी नगरपालीका वडा न. ८ ले व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु गरेको छ ।
गणेशटोलमा स्थापना भएको वडा कार्यालय उद्घाटनका अवसरमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको हो ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिलो पटक छोरी तेजस्वी र छोरा विद्यत केसीको अनलाईन माध्यमबाट घटना दर्ता गराउनुभएका राजु केसीलाई घटना दर्ताको प्रमाणपत्र प्रदान गरेर सेवाको सुरुवात गर्नुभएको थियो ।benpa 8संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको सर्भरमा अनलाईनको माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्दा खोजेको समयमा अभिलेख भेटिने र सेवा प्राप्त गर्न सहज हुने जनाइएको छ । बेनपा ८ ले जिल्लामै पहिलो पटक अनलाईनमा व्यक्तिगत घटना दर्ता सुरु गरेको हो ।
कार्यालय उद्घाटनपछि नगर प्रमुख श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवालले वडा अध्यक्ष रामकृष्ण बराईली र वडा सदस्यहरुलाई कार्यकक्षमा पदस्थापना गराउनुभएको थियो । जनप्रतिनिधि चयन भएको तिन महिनापछि वडाको कार्यालय स्थापना भएको हो ।

केही दिनअघि तत्कालीन अर्थुङ््गे गाविसको भवनमा वडा न. ६ को कार्यालय स्थापना गरेको नगरपालीकाले छिट्टै वडा नम्बर ७ का लागि पनी आफ्नै कार्यालयको व्यवस्था गर्ने जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले आफ्नै कार्यालय भएपछि वडाको सेवा प्रवाह सहज बन्ने अपेक्षा व्यक्त गर्दै घरबाट कालीगण्डकी नदीमा सिधै ढल र फोहोर फाल्ने काम बन्द गर्न वडा बासीलाई आग्रह गर्नुभयो । उहाँले ईन्टरनेट सुबिधा भएको अन्य वडामा पनि अनलाईनबाट व्यक्तिगत घटना दर्ता गर्न सुरु गर्ने बताउनुभयो ।

वडा अध्यक्ष रामकृष्ण बराईलीले प्रबिधिको प्रयोग गरेर सेवाग्राहीलाई छिटो छरिटो सेवा प्रवाह गरिने बताउनुभयो । उहाँले बेनपा ८ को ढल व्यवस्थापन, बाढी नियन्त्रणको योजनालाई प्राथमिकता दिएको र कालीपुल बसपार्कलाई व्यवस्थित बनाउन पहल थालीएको जानकारी दिनुभयो ।

वडा सचिव कृष्णप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समितिका पञ्जिकरण तथा सामाजिक सुरक्षा सम्र्पक व्यक्ति राजेन्द्र आचार्यले अनलाईन व्यक्तिगत घटना दर्ताको विषयमा जानकारी गराउनुभएको थियो ।