सन्तोष गौतम/विकल्प न्यूज
भदौं ६ गते ।
साउन २६ गते शुक्रबार मुस्ताङबाट म्याग्दी आउँदै गरेकी बेलायती पर्यटक करलोट् कम्मा कथरिना फुलरटनको थासाङ गाउँपालिका ४ घोप्टेभिरबाट खसेको ढुङ्गाले लागेर ज्यान गयो ।
सोही दिन घोप्टेभिरमै खसेको ढुङ्गाले लागेर घाइते भएका म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका ४० वर्षिय सवारी चालक दलबहादुर फगामी मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका छन् । साउन २१ गते अपराहन्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेभिरबाट खसेको ढुङ्गाले लागेर काठमाडौ महानगरपालिका ५ का २५ वर्षिय उत्तम पाठक गम्भिर घाइते भए । पछिल्लो दश दिनयता भएका उल्लेखित घटनाले म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको जोखिमको अवस्था दर्शाउँछ ।“हिड्दा हिड्दै कतिबेला भिरबाट ढुङ्गा र पहिरो खस्छ भन्ने त्रासै त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ” सवारी चालक दिनेश खड्काले भन्नुभयो “बर्खा याममा निकै जोखिम छ ।” ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको गलेश्वर–घाँसा खण्ड जोखिमपूर्ण छ ।
पहाडको खाँेच र कालीगण्डकीको किनारमा रहेको कच्चि, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकमा खस्ने पहिरो, ढुङ्गा तथा खोलाहरुमा आउने बाढीले बेनी–जोमसोमको यात्रा जोखिमपूर्ण बनाएको हो ।
म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दाका साथै मुक्तिनाथ दर्शनका लागि आउने तिर्थयात्री र मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकले प्रयोग गर्ने यो सडक पहिरोले छिया छिया बनाएको छ । रघुगंगा गाउँपालिका ३ पिप्लेको तिल्केनीचौर, अन्नपूर्ण गाउँपालिका ३ गुईठेभिर तथा मुस्ताङ र म्याग्दीको सिमा क्षेत्रमा पर्ने बादरजुङ भिरमा दिनहुँजसो पहिरो खस्ने गरेको छ । यस्तै बेगखोला, भिरकाटे र दानाको घोप्टेखोलामा बाढी आउँदा समेत सवारी आवत जावत प्रभावित हुने गर्छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले उत्तरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने यो सडकमा नियमित सवारी सञ्चालनको प्रयास गरिएपनि दिनहुँ खस्ने पहिरोले आजित बनाएको बताउनुभयो ।
“आयोजनाले दुई वटा डोजर तयारी अवस्थामा राखेको छ” शेरचनले भन्नुभयो “तर दिनभरी मर्मत गरिएको सडक रातीमा पानी पर्नेवित्तिकै खस्ने पहिरोका कारण भोलीपल्ट फेरी अवरुद्ध हुन्छ ।”
पहिरोको जोखिमका कारण साउन ५ गतेदेखि भदौ १५ गतेसम्मका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र यातायात व्यवसायीले गलेश्वर–दाना खण्डमा बेलुकी ५.३० देखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले पहिरो र ढुङ्गाहरु खसिरहने हुँदा दुर्घटनाको जोखिम भएकाले रातको समयमा सवारी सञ्चालन बन्द गर्नुका साथै दिउँसोको समयमा समेत सर्तकता अपनाइएको बताउनुभयो ।
यता छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पुरा हुनसकेको छैन् ।
निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाई भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा बिशाल एण्ड बिराट जेभीसंग छ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
२०७३ फागुन ३ गते सम्पन्न हुनुपर्ने काम पुरा नभएपछि २०७४ जेठ २० गतेसम्मका लागि म्याद थपिएको थियो । “फागुन चैतमा पिच गर्ने तयारी सहित सबै पूर्वाधार निर्माण गरेका थियौ” निर्माण कम्पनीका प्रतिनिधि नवराज थापाले भन्नुभयो “पिच गर्ने उपकरण नपाएर ढिलाई भएको हो ।”
एक लेनको सडक कालोपत्रे गर्ने सम्झौता भएकोमा कोरला नाका सञ्चालनमा ल्याउने सरकारको तयारीसंगै दुई लेनको बनाउने निर्देशन आएपछि काम भैरहेको अवस्थामा स्टिमेट परिवर्तन गरिएको थियो ।
सडक डिभिजन र बिभागले नयाँ डिजाईन तयार र स्विकृत गर्न ढिलाई गर्दा त्यसको असर कार्यक्षेत्रमा परेको प्रतिनिधि थापाले बताउनुभयो । पहिले एक लेन (३.५ मिटर चौडा) सडकमा तिन दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने सम्झौता थियो । पछि एक किलोमिटर ६०० मिटरमा दुई लेन (७ मिटर चौडाई) कालोपत्रे गर्ने नयाँ सम्झौता भएको छ ।
यो सडक बेनी–जोमसोम सडकको प्रवेश बिन्दु हो । सडक फराकीलो बनाउने, नाली, ग्राभेल, पर्खाल लगायत पूर्बाधार तयार पारीएको सडकको विभिन्न ठाउँमा खसेको पहिरो र हिलोले क्षति पु¥याएको छ ।
बर्खामा काम गर्दा गुणस्तरीय नहुने भएकाले बर्षा रोकीएपछि दसै अघिनै कालोपत्रे गर्ने गरी अहिलेलाई काम स्थगीत गरिएको प्रतिनिधि थापाले बताउनुभयो । सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर दृस्टि काफ्लेले जेठ २० सम्मको समय अवधिमा काम गर्न नसकेपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकी एक किलोमिटर ९०० मिटर सडकको कालोपत्रेका लागि ठेक्का प्रक्रिया सुरु गरिएको छ । यसका लागि चार करोड लागत अनुमान गरिएको छ । दोस्रो चरणमा म्याग्दी प्रवेशद्धार देखि गलेश्वर सम्मको सबै सडकमा कालोपत्रे गर्ने योजना रहेको इन्जिनियर काफ्लेले बताउनुभयो ।
पहिलो चरणमा पर्वत बगरफाँट जाने झोलुङ्गे पुल देखि गलेश्वर बसपार्क सम्मको सडकमा कालोपत्रे गर्ने जनाइएको छ । प्रशिद्ध धार्मीक स्थल गलेश्वर, म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङ जान आउन प्रयोग हुने बेनी गलेश्वर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्या छ ।
यसैगरी बेनीमा रहेको बसपार्कलाई व्यवस्थित गर्न थालीएको छ । एक दशकअघिदेखि प्रयोगमा आएको बेनपा ८ कालीपुल स्थित बसपार्कलाई व्यवस्थित र आधुनिक बनाउने काम अघि बढेको छ ।
बेनी नगरपालिका, बेनपा ८ को वडा कार्यालय र सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्कको प्राबिधिक अध्ययन गरी डिजाइन तयार पारेका छन् । प्राबिधिक टोलीले अध्ययन गरी डिजाईन तयार पारिसकेको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।
“भवन डिभिजनको प्राबिधिक सहयोगमा बसपार्कको संरचना कस्तो बनाउने भनेर डिजाईन तयार भएको छ” वडा अध्यक्ष बराईलीले भन्नुभयो “आर्थिक स्रोत जुटाएर योजना कार्यान्वयन गर्छौ ।” योजना कार्यान्वयनका लागि पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
म्याग्दी जिल्ला प्रवेशद्धारमा रहेको बसपार्क साँघुरो, अव्यवस्थित पार्कीङ, बर्खामा हिलो, हिउँदमा धुलो, फोहोर र यातायात व्यवसायीको टिकउ काउन्टर छरीएर रहेकाले अस्तव्यस्त अवस्थामा छ । व्यवस्थित पार्कीङको अभावमा कतिपय सवारी धनीले आफ्नो घरअगाडी र सडक छेउमा सवारी साधन पार्कीङ गर्दै आएका छन् ।
प्रारम्भिक डिजाईन अनुसार बसपार्कलाई व्यवस्थित बनाउनका लागि ढलान, अव्यस्थित संरचना हटाउने, टिकट काउन्टर एकै ठाउँमा राख्नुपर्ने र फोहोर व्यवस्थापन गर्नुपर्ने सहरी आवास तथा भवन निर्माण डिभिजन बागलुङका इन्जिनियर गणेश मर्हजनले बताउनुभयो ।
२२ रोपनी क्षेत्रफलमा फैलीएको बसपार्कको कालीगण्डकी नदीतर्फको भागमा ठूला, मझौला र माथिल्लो क्षेत्रमा साना प्रकृतीका सवारी साधन पार्कीङ गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ । कालीपुलको बास्केटबल खेलमैदानलाई कवर्डहल नजिकै सार्ने र सो ठाउँमा व्यवसायिक भवन निर्माण गर्न प्रस्ताव गरिएको छ ।
भवनको भुई तलामा सबै यातायात व्यवसायीको एकै ठाउँमा टिकट काउन्टर, सपीङ सेन्टर, दोस्रो तलामा चिया, खाजा पसल तथा कार्यालय सञ्चालन गर्न प्रस्ताव गरिएको छ । बिचमा सडक, त्यसको छेउमा फुटपाथ, यात्रु गाडी चढ्ने र झर्ने सुबिधाका लागि दुई वटा प्रतिक्षालय, सार्वजनिक शौचालय समेत निर्माण गरिने भएको छ ।
बसपार्कलाई व्यवस्थित गरेपछि एक पटकमा २२ वटा ठूला र ५५ वटा साना गाडी पार्कीङ गर्न सकिने डिजाईनमा उल्लेख छ । सञ्चालनमा आएको एक दशकपछि बसपार्कलाई व्यवस्थित गर्न लागिएकोमा खुसी व्यक्त गरेका यातायात व्यवसायीहरुले क्षेत्रफल र क्षमत्ता विस्तार गर्न सुझाव दिएका छन् ।
म्याग्दी बस तथा जिप व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष लालवहादुर थापाले कम्तीमा दुई सय ठूला बस अटाउने क्षमताको बसपार्क आवश्यक रहेको बताउनुभयो । “बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सबै बस, जिप र ट्याक्सी पार्कीङका लागि बसपार्कको क्षमता बढाउन आवश्यक छ” थापाले भन्नुभयो ।
वि.स २०६४ मा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएपछि कालीपुल बसपार्क सञ्चालनमा आएको थियो । पर्वत र म्याग्दीको सिमानामा सो पुल निर्माण हुनुअघि म्याग्दीबाट लामो दुरीमा चल्ने गाडीहरु पर्वत बेनीमा पार्कीङ हुने गरेका थिए । नवविकल्प प्रिन्ट संस्करणबाट