यसरी भयाे रघुगंगाकाे स्थायी केन्द्र मौवाफाँट

raghuganga gaupalika
कमल खत्री
म्याग्दी, ५ भदौ ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट तोकिएको छ । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट तोकिएको हो ।

सोमबार रघुगंगा गाउँपालिका–३ को घुमाउनेताल स्थित निर्माणधिन कालिगण्डकी रिसोर्टमा बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको बैठकले गाउँपालिकाको बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि स्थायी केन्द्र मौवाफाँट तोक्ने निर्णय गरेको हो ।
गाउँसभाका ४३ जना मध्ये ४२ जनाको सहभागिता रहेको सो बैठकमा मौवाफाँटको पक्षमा २६ जना र पाखापानीको पक्षमा ४ जनाले हस्ताक्षर गरेका थिए । गाउँपालिकाको केन्द्र कायम गर्न सामान्य बहुमत संख्या २३ जना पु¥याउनुपर्ने भएपनि मौवाफाँटको पक्षमा २६ जनाले हस्ताक्षर गरेपछि स्थायी केन्द्र कायम भएको हो । अब सोमबारको निर्णय कार्यान्वयन सम्बन्धमा सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाका कार्यकारी अधिकृत राजु नेपालले बताउनुभयो ।
सो बैठकमा वडा नम्बर ५ झिँ र वडा नम्बर ६ पाखापानीका ११ जना जनप्रतिनिधिहरुले सो निर्णयप्रति असहमती जायर गर्दै बहिस्कार गरेका थिए । मौवाफाँटको पक्षमा बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोलाका जनप्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन भने कुईनेमंगलेका जनप्रतिनिधिहरुले पाखापानीको पक्षमा हस्ताक्षर गरेपनि झिँ र पाखापानीले भने सो निर्णयप्रति असहमती जायर गरेका हुन् ।
दिनभर भएको छलफल पछि गाउँपालिकाका बहुसंख्यक नागरिकलाई पायक पर्ने गरि मौवाफाँटलाई स्थायी केन्द्र कायम गरिएपनि पाखापानीलाई सेवा केन्द्र कायम गर्दै सो क्षेत्रमा थप अर्को केन्द्रको लागि पनि पहल गरिरहने गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झिँ हुँदै पाखापानी सम्मको लागि सडक सञ्जालले जोड्नको लागि तत्काल आबश्यक प्रकृया सुरु गर्ने समेत बताउनुभयो ।
‘‘ यो बिषम परिस्थिती हो, भौगोलिक रुपमा विकटता रहेकाले सबै जनताले चाहेको ठाउँमा केन्द्र राख्न सक्ने अबस्था नरेकाले अधिकतम जनतालाई सुविधा पुग्ने गरि केन्द्र कायम भएको छ, अबका दिनमा अपायक पर्ने क्षेत्रमा विकास निर्माणलाई प्राथमिकता दिएर विकासका कार्यलाई अगाडी बढाउनुपर्नेछ–‘‘ गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभयो ।