चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज
साउन २९ गते । प्रसंग त्यतिबेलाको हो जतिबेला वेनी उद्योग वाणिज्यसंघले शनिबार वेनीबजार बन्द गर्नुपर्ने निर्देश जारी गरेको थियो । साना व्यापारीहरु मर्कामा परे, शनिवारे विदाको उपयोग स्वरुप स्कूले नानीहरुलाई घरकुरुवा राखेर बजार गर्ने काँठहरुलाई असुविस्ता भएको थियो । बजार बन्द भएपछि कामदार मजदुरहरु एक दिनका लागि भए पनि वेरोजगार बने । वेरोजगारीको प्रतिफलस्वरुप समाज गलत व्यसनतिर प्रवृत्त हुनु स्वाभाविक हुन्थ्यो ।
उसै पनि सानो बजारक्षेत्र, त्यही पनि बन्द भैदिए पछि अस्थानीय कर्मचारीहरुलाई दिन बिताउन गाह्रो पर्ने नै भो । वाणिज्यसंघको निर्णयले उत्पन्न गरेको असुविधाले समाजलाई धेरथोर प्रभावित गरेको थियो । शनिबारको दिनमा मन बहलाउने र समय बिताउने वैकल्पिक व्यवस्था “के हुन सक्छ” होला भन्ने सन्दर्भमा त्यतिबेला वेनीबजारमा जीवित एक मात्र साप्ताहिक “म्याग्दी सन्देश”मा एउटा छोटो लेखोट प्रकाशित गरेर समाजको ध्यानाकर्षण गर्ने मेरो तत्कालीन प्रयत्नको पुनस्मरण यतिबेला भएको छ ।
बजार बन्दको प्रतिफल बाजरबासीहरुमा “जुवाको लत बढ्यो” भन्ने सामाजिक टिप्पणीमा आंशिक सत्यता थियो भन्न कञ्जुस्याई गर्नुपर्दैनथ्यो । लतमुक्तिको वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने सन्दर्भमा साप्ताहिक पत्रिकामार्फत चारवटा प्रस्तावहरु अघि सारिएकोे थियो । सायद, त्यतिबेलाको बेनीको सन्दर्भमा ती कुरा अप्रसांगिक ठहरे होलान । कसैको नजर परेन । कसैले सरोकार राखेन । समाजले उपेक्षा गरेको त नभनौं, कसैको कानबसात नलागेको ती कुराहरुको पुनस्मरण गर्नु ठिकै होला ।
दोविल्लादेखि कालीपुलसम्म कालीगण्डकीको किनारामा अलि फराकिलो कोराइडोर (बाटो) बनाएर त्यसलाई पार्कको रुप दिने, गाविस भवनको पृष्ठभागदेखि प्रहरी कार्यालयसम्मको म्यादीको तटमा तटवन्ध उठाएर पार्क निर्माण गर्ने, म्याग्दी तातोपानी देखि वेनीसम्म हिउँदयाममा डुङ्गासयरको व्यवस्था मिलाउने र आँपको रुख भनिने खाली जमिनमा व्यवस्थित पार्क निर्माण गर्ने त्यतिबेलाको प्रस्ताव थियो । कालीको तट घरहरुले भरियो, अव त्यसको सम्भावना ट¥यो । म्याग्दीको तट सुरक्षित गर्ने कार्य त भयो तर त्यसले पार्कको रुप लिन सकेन । तातोपानी–वेनीको डुङ्गायात्रा सायद व्यापारिक दृष्टिले नाफामूलक नहुने ठहरियो ।
सम्भावना बाँकी बचेको एउटा आँपको रुख मात्र हो । त्यो ठाउँ पनि वनवुट्यानले भरिइसकेको छ । खाली हुँदा जसरी विकासको उन्नत योजना बनाउन सकिन्थ्यो अव त्यस्तो सुविधा रहेन तापनि वेनीको सन्दर्भमा त्यो ठाउँको वैकील्पक उपयोगिता खोज्ने दिशातर्फ सोच्नु अप्रसाङ्गिक हुदैन । यसपटक स्थानीय सरकारकातर्फबाट पार्क निर्माणको योजना अघि सारिनु प्रशंसनीय कार्य हो । समाजका लागि त्यसको सान्दर्भिकता, आवश्यकता र उपयोगिता अवश्य छ ।
“मनको लडडु घीउसित खानु” भनेजस्तो त्यो खाली ठाउँ देखेर मेरा आँखा लोभिएको झण्डै दुईदशक अगाडिदेखि नै हो । उतिबेला आँपको रुख अर्थुङ्गेबासीको गौचरणको रुपमा उपयोग हुन्थ्यो । बानियाँहरुको कुलमन्दिर पुनर्निमाणको कुरा उठेपछि अर्थुङ्गेको समाजसँग मागेर जालपाको मन्दिर त्यही ठाउँमा बनाउने मेरो रायसँग बानियाँ बन्धुसमाज सहमत भएन । खासगरेर, प्युने पानीको समस्या देखाएर त्यस्तो पहकदमीको ढोका बन्द गरियो । सामुदायिक वनको अवधारणा म्याग्दीमा पुगिसकेको थिएन ।
माटो खन्ने मटकिन्लोका रुपमा उपयोग हुने आपँको रुखको बाँझो जमिन दुवो पनि उम्रन नसक्ने अवस्थामा पुगिसकेको थियो । पानीको व्यवस्था मिलाउने सामाथ्र्य जुटाउन सकेका भए सम्भवतः अर्थुङ्गेको समाज मन्दिर बनाउने कुरामा सहमत हुन्थ्यो होला । त्यो योजाना गर्भमै तुहियो । समयक्रममा त्यो ठाउँले सामुदायिक वनको रुप लियो । त्यसलाई दुरुपयोग नमाने पनि सदुपयोग भएको मान्न मेरो मन कहिल्यै तयार भएन । त्यसैले पार्कको सम्भावनातर्फ वेनीेबजारको ध्यानाकर्षण गर्ने प्रयत्न गरिएको थियो । वास्तवमा त्यो ठाउँ देखेर लोभिएको मनको थकथकी मेट्ने प्रयत्न थियो, सायद !
यसपटक नगर समितिले पार्कको लागि त्यही ठाउँ रोजेको कुराले सबैलाई “राम्रै भो” भन्ने लागेको हुनुपर्छ । त्यसको विपक्षमा उजाडिलो ठाउँलाई हराभरा बनाउन श्रमपसिना खर्चेको वनउपभोक्ता समिति तयार हुन गाह्रो मान्ला कि ? उपभोक्ता समिति तयार भएर पनि समस्या बाँकी नै रहन्छ होला । किनकि त्यो जमिन वनको स्वामित्वमा छ, अवश्य । वनले उपभोक्त समितिलाई अस्थायी रुपमा स्वामित्व हस्तान्तरण गरेको मात्र हो ।
नगरले पार्क निर्माण गर्नका निमित्त उपभोक्ता समितिको मात्र स्वीकृति लिएर पुग्दैन । वनको पनि स्वीकृति र अनुमति चाहिन्छ होला । वनको जग्गा प्राप्तिको प्रक्रिया त्यति सरल भने छजस्तो लाग्दैन । हुन त समाजले आँटेपछि गर्न नसकिने कुरा त हुदैन होला । सिङ्गो चन्द्रागिरिको डाँडो एउटा प्राइवेट कम्पनीलाई दशकौंको लागि लिजमा दिएको उदाहरण हाम्रा अगाडि छँदै छ ।
साँचो हो, होइन कुन्नी ! प्रस्तावित पार्कको नाम “रामायण” जुराइयो रे भन्ने हल्लासँग भने सहमत हुन सकिदैनथ्यो । रामको जन्मस्थान मानिने भारतको अयोध्यामै राममन्दिर बनाउने विषय विवादमा परेको छ । दशकौं देखिको खिचलो भारतीय उच्च अदालतमा विचाराधीन छ । रामको जन्मस्थान अयोध्या नै हो भन्ने मान्यताको ऐतिहासिक आधार नभए पनि हिन्दुसमाजको पौराणिक मान्यता वास्तविकता स्वीकार गर्न तयार छैन ।
एउटा ठूलो समुदायको आस्थासँग गाँसिएको विषय हो त्यो । रामजन्मभूमि भनिएको ठाउँमा “बाबरी मस्जिद” थियो । मस्जीद इतिहासिद्व प्रमाणित विषय हो । इतिहास प्रमाणिक मानिन्छ भने पुराण अप्रमाणिक ! अदालतले निर्णय दिने सबुतप्रमाणको आधारमा टेकेर हो ।
निष्पक्ष रहेर प्रमाणको आधार लिने हो भने अदालतले मस्जीदको पक्षमा निर्णय दिनुपर्ने हुनसक्छ । भारतीय हिन्दुवादी जनमत त्यसको विपक्षमा छ । त्यसैले स्थानीयरुपमै जनस्तरमा मिलापत्र होओस भन्ने चाहना अदालतले राखेको देखिन्छ । मुस्लीम समुदाय आधा जमिन लिएर सम्झौता गर्न तयार छ । तर हिन्दू अतिवादीहरुको आग्रहका कारणले “न मन्दिर न मस्जिद”को अवस्थामा अड्केको छ । सम्झौताको विकल्प देखिदैन । समझदारी बनेपछि रामन्दिर बन्ने छ । धार्मिक प्रतीष्ठाको विषय हुनाले असाधारण र भव्य बन्ने छ ।
त्यसपछि रामको “भगवत्व”मा विश्वास गर्ने हिन्दू समुदायको आस्था श्रद्धाको केन्द्र अयोध्या बन्ने छ । वेनीमा पनि धार्मिका आस्थाको आधारमा राममन्दिर बनाउन सकिन्छ, तर त्यसलाई धार्मिक पर्यटन प्रवर्धनको साधनको रुपमा विकास गर्न सकिदैन । रामको नामले वेनी पर्यटकको भ्रमणसूचिमा कदापि चढ्दैन । आँपको रुखमा राममन्दिर बनाउनु र पुलस्त्य आश्रममा शिवमन्दिर बनाउनु उस्तै उस्तै उट्पट्याङ्ग चेष्टा हो ।
नजानेर गल्ती हुन्छ । एउटाले गरेको गल्तीबाट अर्कोले पाठ सिक्नु बुद्धिमानी ठहर्छ । सबैले एकपटक गल्ती गरेरै सिक्ने हो भने समाजको प्रगति अवरुद्ध नभए पनि गति सुस्त हुन्छ, हुन्छ । त्यो त “एउटा भेडो भीरबाट हाम्फालेपछि सिङ्गो बथान हाम्फाल्छ” भन्ने लोकोक्तिको उदाहरण बन्छ ।
पार्कको नाम “रामायण कि रावण” भन्ने चर्चा व्यापक बनेपछि त्यस्तो नामको पार्क पुलस्त्य आश्रममा बनाइयोस भन्ने आवाज समाजमा उठ्नु स्वाभाविक हो । त्यसलाई अन्यथा अर्थमा लिनु हुदैन । “वेनी–पुला” ऐतिहासिक ठाउँ हो । ३५० वर्ष लामो पर्वतराज्यको राजाधानीको गौरव वेनी–पुलासँग संयुक्तरुपमा जोडिएको छ । वेनी र पुला पुलस्त्य ऋषिसँग पनि जोडिन्छन । पुलस्त्यलाई ब्रह्मापुत्र मान्ने पुराणहरुको कथनमा सत्यता नभए पनि पुलस्त्य नामका ऋषिको ऐतिहासिकता प्रमाणित हुन्छ ।
उनको कृति “पुलस्त्यस्मृति” इसवी संवतको २०० पछिको हो भनेर प्रमाणित भैसकेकोे छ । पुलस्त्य ऋषिको आश्रम वेनी र पुला नै हो भनेर दावी गर्ने प्रशस्त आधारहरु वैदिक साहित्य भण्डारमा सुरक्षित छन । त्यसैले पुलस्त्यको ऐतिहासिकता वेनी नगरपालिकाको लागि मूल्यवान निधि हो । त्यसको संरक्षण, विकास र उपयोगर्ने योजना बन्नै पर्छ । बनाउनै पर्छ ।
यतिवेला प्रस्तावित पार्क विवादको सन्दर्भमा सुभास श्रेष्ठजीले एउटा नयाँ स्थानतिर सबैको ध्यानकृष्ट गर्ने सराहनीय कोशिस गर्नु भएको छ । हो, त्यो ठाउँको पनि आफ्नै इतिहास छ, मौलिक गौरव गरिमा छ । ओझेलमा परेको त्यो ऐतिहासिक धरोहरसँग बाँकी दुनियालाई परिचित गराउने चेष्टा सबै दृष्टिकोणबाट प्रशंसनीय कार्य मानिनेछ । “पर्वतगढी” अर्थात “ढोलठानागढी” अथवा “पुलस्त्य आश्रम”को विकासका निमित्त दीर्घकालीन योजना बनाएर काम थाल्नु राम्रो होला । त्यसका निमित्त समय घर्की हाल्यो भनेर डराउनु पर्दैन ।
नवनिर्वाचित नगरसमितिले आफ्नो कार्यकालमा दीर्घकालीन गुरुयोजना तयार गरेर कामको सूरुवात मात्र गर्न सक्यो भने पनि त्यसले ठूलो महत्व राख्ने छ । वेनीको सन्दर्भमा आँपको रुखमा तत्काल पार्क बनाउन सकिन्छ भने बनाउनु राम्रो हुनेछ । त्यसलाई कमसेकम पुलस्त्य, रावण वा रामसँग नजोडेकै “राम्रो” भन्ने नागरिक धारणा मात्र हो । त्यसलाई अन्यथा अर्थमा लिनु उपयुक्त हुन्छजस्तो लाग्दैन ।
अर्थात ऐतिहासिक र पौराणिक महत्वको स्थानहरुको संरक्षण होस् । “सुत्केरीको निहुँ पारी, टाउको मैलै खाएँ” भनेजस्तो प्रहसन नभएकै राम्रो । पार्क सुविधा हेरेर बनाइयोस तर पुलस्त्य वा रावणका नाममा होइन, अरु नै नाम दिइयोस । आँपको रुख अर्थुङ्गेको प्राकृतिक सम्पत्ति हो । त्यस ठाउँमा निर्माण गरिने संरचनाको नाम बरु “देउराली पार्क” राख्नु विवादमूक्त निर्णय मानिएला कि ?! नवविकल्प साप्ताहिकको प्रिन्टसंस्करण