ताजा समाचार:
Search

यसरी निर्धारण गरियो धौलागिरी गाउँपालिकाको स्थायी केन्द्र

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २६ साउन ।

dhaulagiri gaupalikaगाउँसभाका दुई तिहाई सदस्यको बहुमतको आधारमा म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थायी केन्द्र र सेवा प्रदायक कार्यालयहरु रहने स्थान कायम गरिएको छ ।

गाउँपालीकाको केन्द्र बिवाद टुङ्गो लगाउन तिनदिनसम्म हालको अस्थाई केन्द्र मुना स्थित कार्यालयमा बसेको गाउँसभाले मुनाको घट्टेखोलामा मुख्य कार्यालय र अन्य शाखा कार्यालयहरु ताकम, शिवाङ र मुनामा राख्ने निर्णय गरेको हो ।

धौलागिरीको स्थाई केन्द्र ३ नम्बर वडा मुना वा ताकम मध्य एक ठाउँमा राख्नुपर्ने दुई गाउँका बासिन्दाहरुबीच बिवाद रहेको थियो । गाउँ कार्यपालीकाको बैठकको निर्णय र दुई तिहाई सदस्यको बहुमत जुटाएर स्थाई केन्द्र र शाखा कार्यालय रहने ठाउँको टुङ्गो लगाइएको गाउँ कार्यपालीकाका प्रबक्ता झकबहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार केन्द्र बिवाद टुङ्गो लगाउन सोमबारदेखि सुरु भएको गाउँसभामा मुना र ताकम मध्य कुनै पनी ठाउँमा सहमती जुट्न नसकेपछि बिचमा पर्ने ठाउँमा मुख्य र दुबै गाउँमा अन्य कार्यालय रहनेगरी निर्णय गरीएको हो । स्थाई केन्द्र रहने घट्टेखोला मुना र ताकमको सिमा क्षेत्रमा पर्छ । धेरैजसो सेवा प्रदायक कार्यालय ताकम क्षेत्रमा रहने भएका छन् ।

हाल ताकममा रहेका प्रहरी, कृषि, वन, पशु सेवा लगायत सेवा प्रदायक कार्यालय त्यहीनै कायम हुने, ताकमको धारापानीमा पन्ध्र सैया क्षमत्ताको अस्पताल बनाउने, शिवाङमा शिक्षा र मच्छिममा महिला बालबालीका, भुसंरक्षण, खानेपानी, सिचाई लगायत कार्यालयको शाखा रहने निर्णय भएको छ ।

यसैगरी हाल अस्थाई केन्द्र रहेको मुनामा कर तथा राजस्व सम्बन्धि कार्यालय राख्ने निर्णय भएको छ । भुगर्भविद्को सल्लाहमा आगामी असोज भित्र स्थाई केन्द्र रहने उपयुक्त ठाउँ कायम गर्ने निर्णय गर्दै मंगलबार स्थगीत भएको गाउँसभा बैठक एक तिहाई सदस्यहरुको अनुरोधमा बुधबार पुन बोलाइएको थियो ।

गाउँपालीकाका अध्यक्ष थमसरा पुनले दुई वटा वडाको बिवादका कारण यस्तो निर्णय गर्नुपर्ने बाध्याता आएको बताउनुभयो । सेवाग्राहीलाई असुबिधा हुने भएपनी बिवादका कारण यस्तो असहज निर्णय गर्न बाध्य भएको भन्दै अध्यक्ष पुनले निर्णय कार्यान्वयनमा सघाउन सबैलाई आग्रह गर्नुभयो ।

वडा न. ७ ताकमका अध्यक्ष कलानिधी सुवेदीले वडाबासीको माग अनुसार नभएपनी सबैको भावनालाई सम्बोधन गर्नुपर्ने र प्रजातान्त्रीक बिधीबाट भएको निर्णय स्वीकार गर्नुपर्ने बताउनुभयो । गाउँकार्यपालीका बैठकमा स्थाई केन्द्र र शाखा कार्यालयको विषयमा सहमती जुटेपनि गाउँसभा बैठकमा ताकमका जनप्रतिनिधीहरुले हस्ताक्षर गरेका छैनन् ।

गाउँपालीकाका ७ मध्य ६ वटा वडाका जनप्रतिनीधिको हस्ताक्षरमा सो निर्णय भएको हो । सहमती जुटाउन जनप्रतिनिधि, राजनितिक दल र सबै वडाका अगुवाहरुको उपस्थितीमा सोमबार बृहत छलफल समेत गरीएको छ । छलफलमा सहभागीले सहमतीमा जोड दिएपनी केन्द्रको टुङ्गो लाग्न सकेको थिएन् ।

राज्य पुनसंरचनाका क्रममा जिल्ला स्तरीय समितिले धौलागिरीको केन्द्र ताकम वा मुना मध्य एक ठाउँमा कायम गर्न सिफारीस गरेको थियो भने पुनसंरचना आयोगले मुनामा अस्थाई केन्द्र तोकेको थियो ।