चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
साउन ११ गते ।
काठमाडौंका सडक, गल्ली र ढलनिकासको दूर्दशाको अब्बल नमूना यो वर्षको बर्खायामको प्रारम्भमै देखाप¥यो । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने दुर्गति त काठडमाडौले वर्षौदेखि पचाउँदै आएको थियो ।
यसपटक सडकगल्लीमा बगेको बर्खे भेलले दुई/दुईजना स्कूले नानीहरुलाई बगायो । एकजनाको त ज्यानै जाने दूर्भाग्य समेत निम्तियो । त्यो दुःखद घटनाले राजिनीतिकर्मीहरुलाई कति चेतायो र सम्बन्धित अघिकारीहरुलाई कति चनाखो बनायो कुन्नी ? उच्चाधिकारीहरुको बैठक बोलाएर तत्काल सडकगल्लीका खाल्डाखुल्डीहरु पुर्ने व्यवस्थाका लागि प्रधानमन्त्रीबाट निर्देशन भएको समाचार सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीले नै चासो प्रदर्शन गरिदिएपछि बाँकी राजनीतिकर्मीहरुले स्वतः जिम्मेवारीबाट मुक्त भएको अनुभूति गरेका होला ! कर्मचारीयन्त्रले आदेशको पालना कसरी गर्छ भन्ने कुरा व्यवहारमै हेर्न बाँकी भए पनि “कानमा तेल राखेर निदाउने” कुम्भकर्णे सदावहार चरीत्रबाट तत्काल मुक्त भैहाल्ला भनेर आशा गरे पनि ढुक्क हुन सकिदैन ।
व्यवस्थित सडकसुधारतिर सम्बन्धितहरुलाई उत्प्रेरित गरोस वा नगरोस्, सडकमा बगेको ढलले स्कुले नानीहरुलाई बगाएको घटनाले अर्को एउटा कुराको रहस्योद्घाटन भने गरिदिएको छ । काठमाडौंका मतदाताले राजनीतिका उडन्ते गफ किन पत्याउँदा रहेछन भन्ने कुराको खुलासा भएको छ । यद्यपि अब त्यस्तो अवस्था विद्यमान नभए पनि “काठमाडौं मन्दिरै मन्दिरको शहर हो” भनेर संसारमा परिचित छ ।
काठमाडौंको रैथाने नेवार समुदाय उसै पनि धर्मकर्म, पूजापाठ, देवी देवता, झारफुक, गुभाजु, देउभाजुमा अति नै विश्वास गर्ने समुदाय हो । इतिहासमा त नभनौं, वंशावलीहरुमा गुभाजु र जादुगरहरुका अनेक तिलस्मी चमत्कारका कथाहरु भरिएका छन ।
अर्थात नेवार समुदाय दैवी चमत्कारमा विश्वास राख्ने संस्कार, संस्कृति रहेको जातिसमुदाय हो । त्यसमाथि यतिखेरसम्ममा नेवारको जनसंख्यासँग प्रतिश्पर्धामा उत्रनेगरी ब्राह्मण समुदाय उपत्यकामा खाँदिएको छ । स्वभावतः त्यो समुदाय पनि दैवी चमत्कारको भ्रम समाजमा फिँजाएर आफ्नो दुनो सोझ्याउन सिपालु जमात हो ।
ती दुई समुदायको संयोजन हुनपुगेपछि संस्कृति संरक्षणको नाममा दैवी चमत्कार र भाग्यवादको दवदवा समाजमा स्थापित हुनु स्वभाविक हुने नै भो । त्यसैले विज्ञान, प्रविधिभन्दा बढी काठमाडौंले दैवी चमत्कारमा विश्वास गर्छ ।
काठमाडौंजस्तो अव्यवस्थित बसोबास रहेको शहरमा “तीन महिनामै” घरघरमा ग्यासको पाईपलाईन जोडिदिन्छु भन्ने गँजडी प्रलापलाई पनि “हो क्यारे” भनेर पत्याइदिनु त्यसको पछिल्लो उदाहरण बनेको छ । “मलाई त थाहा छैन, मेरो पार्टीको घोषणापत्रमा लेखिएको हुनाले, काठमाडौंमा दुईवर्षभित्र मोनोरेल कुदाउन सकिन्छ भन्ने विश्वास छ” भन्ने चमत्कारीलाई छोडेर दुईवर्ष त सम्भाव्यता अध्ययन गर्दैमा खर्च हुन्छ भन्नेहरुलाई पछिल्लो निर्वाचनमा काठमाडौंले किन मत देओस त ?!
इतिहास हेर्दा काठमाडौं उपत्यका निकै लामो समयसम्म मधेसबाट शासित रहँदै आएको देखिन्छ । पहिलो राज्य स्थापना गर्ने गोपालावंशीदेखि अठारौं शताब्दीसम्म शासन गर्ने मल्लवंशीहरु सबै मधेसीमूलकै थिए ।
शासनप्रणाली फेरियो, पछिल्लो शाहराजवंश पनि उखेलियो । जनताको शासन स्थापित भयो भनियो । तर विडम्बना कस्तो देखिन थालेको छ भने मलिला खेतका फाँटहरु घर शहरले छोपिएपछि काठमाडौं मधेसबाट “पालित” हुनुपर्ने अवस्थामा पुगेको छ । त्यसैले होला कि काठमाडौंले मधेसप्रति इष्र्याभाव हो अथवा कुण्ठाको भाव सँगालेको छ ।
राष्ट्रियताको नाममा मधेसलाई हेप्ने खेद्ने खाले राजनीतिलाई काठमाडौंले निकै रुचाउन थालेको देखिनुको कारण त्यही हो । राजा महेन्द्रले सुरु गरेको छद्म राष्ट्रवाद केपी ओलीको समयसम्म आइपुग्दा फले फुलेको मात्र होइन वनमारा झारझै झाङ्गिन थालेको छ ।
राष्ट्रवादको नौटङ्कीले काठमाडौंका आदिवासी समाजलाई “खसकरण” गर्ने गुलियो विषको काम गरिरहेको छ भन्ने तथ्य बिर्सेर “दैवी चमत्कार” को हल्लाका पछि कुद्न रुचाउनुको कारण त्यही होइन भन्न मिदिैन ।
बीसौं शताब्दीको अन्ततिर एकपछि अर्को गर्दै साम्यवादी सत्ताहरु ढले । साम्यवादको पराजयले समाजमा वीचारविहीन राजनीतिको विजारोपण गरिदिएको कुरा यथार्थ हो । समाजवादी सत्ताले धक्का खाएपछि संसारका सबैजसो कम्युनिष्ट पार्टीहरुले आ–आफना चोला बदले । मुसोलाई आकर्षित गर्न मुस्यौंटो (खोर) भित्र लोभलाग्दो चारो राखेजस्तै कम्युनिष्ट दर्शनबाट दीक्षित नेता कार्यकर्ताहरुलाई पूँजिवादी दर्शनतर्फ आकर्षित गर्न मदन भण्डारीले “बहुदलीय जनवाद” नामको चारो त्यही सन्दर्भमा छरेका थिए ।
त्यस्तै चेष्टा “एक्काइसौं शताब्दीको जनवाद”को नाममा तत्कालीन माओवादीले पनि गरेको थियो । नयाँ बनाउने टन्टा बेसाउनुभन्दा एमालेले खनेको डोरेटोमा हिड्नु सजिलो हुने ठह¥याएर होला एक्काइसौं शताब्दीको जनवादलाई उति धेरै महत्व दिइएन ।
अथवा त्यसको आवश्यकता नै ठानिएन । समयले कम्युनिष्ट दर्शनका पक्षपातीहरुलाई विकट र कठोर धरातलमा बजारिदिएको कुरा तीतो यथार्थ हो । समय सन्दर्भ अनुसार आफूलाई रुपान्तरित गर्नुपर्ने आवश्यकताबोध हुनु अस्वाभाविक होइन ।
समयक्रममा सबै चेपागाँडाहरुको मत्स्यरुप फेरिनु अनिवार्य नियति हो । तर पूर्व कम्युनिष्टहरुमध्ये सारा नक्कली आडम्बरहरु त्यागेर आफ्नो सक्कली रुप देखाउने हिम्मत “नयाँ शक्ति” मा गोलवन्द हुनेहरुले गरेजस्तो लाग्छ । र राष्ट्रवादको नक्कली गजुर पहिरिनुपर्ने झन्झटबाट मुक्तहुन खोज्दा सक्कलीहरु खुम्चने र नक्कलीहरु फस्टाउने परिस्थिति सिर्जना भएको छ भन्नु बढ्ता हुदैन ।
यतिबेला निकै फस्टाएजस्तो देखिएको राष्ट्रवादको खेतिमा सत्यताको अंश साहै्र न्यून छ । वास्तवमा त्यस्तो नौटङ्की नेताहरुका आफ्ना दुईवटा कमजोरीहरु ढाकछोप गर्ने निहीत उद्देश्यबाट अभिप्रेरित छन ।
पहिलो कुरा त पश्चिमी संसारमा प्रचलित सिद्धान्तमा होइन इस्युमा आधारित रहेर गरिने राजनीतिमा नेपाल र नेपालीहरुलाई अभ्यस्त गराउने चेष्टा हो । राज्यमा सर्वहारावर्गको अधिनायकत्व, उत्पादनका साधनहरुमा मजदुरवर्गको स्वामित्व, सबैखालका शोषण उत्पीडनहरुको अन्त, साँचो अर्थमा जनताको शासन जस्ता गरुङ्गा विषयहरुलाई छोड्नुपर्दा जनताका बीचमा लिएर जाने गहकिलो विषय कम्युनिष्टहरुसँग बाँकी नरहेपछि राष्ट्रियताको चर्को नारा उरालिएको हो ।
त्यसको सुरुवात मदन भण्डारीले नै गरेका थिए । महाभारत युद्धकथामा अभिमन्यु नामगरेका एकजना सर्वकालिक सहानुभूतिका पात्र छन । द्रोणचार्यले रचना गरेको चक्रव्युह तोडेर एक्लै कौरवसेनाभित्र छिरेका अभिमन्युसंग दिन ढल्दानढल्दै सारा हतियारहरुको स्टक समाप्त भयो ।
हतियारको संकट उत्पन्न भएपछि उनले टुटेफुटेका रथका पाङ्ग्रा उठाएर शत्रूसेनामाथि प्रहार गर्न थालेका थिए रे ! हो, नेपालका एकथरी कम्युनिष्टहरुले समाज रुपान्तरणका निमित्त भनेर उठाइएका सारा वैचारिक हतियारहरु समाप्त भएपछि अर्थात सचेतनापूर्व तिनको परित्याग गरेपछि राष्ट्रवाद नामको थोत्रो पाङ्ग्रो समातेर मैदानमा टिक्ने अडिने प्रयत्न गर्न थालेका हुन । अस्त्रशस्त्र सञ्चालनको त्यो अन्तिम चेष्टा निरर्थक सावित हुने र योद्धाले अभिमन्यु नियति भोग्नुपर्ने कुरा भने अनिवार्य परिणति बन्ने छ भन्नु बढता नहोला ।
दोश्रो कुरा, यो वैश्वीकरणको युगमा “राष्ट्रियता” धारविनाको तरबार हो । भुत्ते हतियारको प्रहारबाट विपक्षीको कुनै खति हुदैन भन्ने जानकारी भए पनि त्यसको प्रयोग गर्नुको विकल्प नेताहरुसँग अर्को छैन । नेपालको सन्दर्भमा “राष्ट्रवाद” को सर्वमान्य परिभाषा “भारतविरोध” बनेको छ । हो, त्यही परिभाषालाई नेपाली नेताहरुले आफ्नो अयोग्यता ढाकछोप गर्ने साधन बनाएका हुन । अर्थात तीनदशक लामो आफ्नो असफलताको लाज छोप्न राष्ट्रवादको “लगौटी” धारण गरिएको मात्र हो ।
दक्षिणपूर्वी एसियाका मुलुकहरुलाई हेर्दा मुलुकको कायापलट गर्नका लागि तीनदशको अवधि पर्याप्त हुँदो रहेछ भन्नै पर्छ । भौतिक उन्नतिको मामलामा हामीभन्दा हिजोसम्म निकै पछि लतारिएको भूटानले पनि पछिल्लो एक दशकमै हाम्रो लागि अकल्पनीय भन्न मिल्ने प्रगति गरेर देखाएको छ । अहिले राष्ट्रवादको चर्को नारा लगाउनेहरु विगत पच्चीस तीस वर्षदेखि निरन्तर सत्तामा रहँदै आएकाहरु नै हुन ।
मुलुकको दुर्गतिका लागि उनीहरु पनि अरु जत्तिकै दोषभागी छन । त्यो असफलता सबैको साझा असफलता हो ।
हो, त्यही कारणले “हामीले त गथ्र्याैं, गर्न खोजेकै हा,े उसले गर्नै दिदैन” भनेर अन्ततिर चोरऔलो तेर्साएर आफू “पानीमाथिको ओभानो” देखिने जालसाँज मात्र हो । देश भनेको जनता नै हो । जनता फर्जी नाराबाट सम्मोहित भएपछि देश नै राष्ट्रवादको पिछलग्गु बन्यो भन्नै प¥यो । फर्र्जी नौटङ्कीको मोहनीजालबाट मेरो देश कहिले मुक्त हुन्छ, खोइ ?!