बेनीको कृषि बजार किन भयो बेवारीसे ?

सन्तोष गौतम/विकल्प न्यूज
साउन १० गते ।
बेनीको कृषि उपज स्थल बेवारीसे बनेको छ । साप्ताहिक हाटबजार सञ्चालन हुन छाडेपछि कृषकको सुबिधाका लागि निर्माण भएको पूर्वाधारको दुरुपयोग भएको छ ।

Kirsi Hatbazar (2)बेनपा ७ को बहुउद्देश्यिय मैदानमा रहेको कृषि हाटबजारको टहरामा बाँधीएका भैसी ।तस्विर नवविकल्प 

कृषि उपजको खरिद बिक्री गर्ने ठाउँ पशु गोठमा परिणत भएको छ । कृषि बजार स्थलको टहरामा मासु व्यवसायीले भैसी बाँध्न थालेका हुन् । बेनीको बहुउद्देश्यीय मैदानमा वि.स २०६७ देखि सञ्चालन हुदै आएको साप्ताहिक हातबजारले निरन्तरता पाउन छाडेपछि लाखौ लगानीमा निर्माण भएका पूर्वाधार अलपत्र परेको हो ।

कृषकहरुले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने समस्या भएपनि हाटबजार र संकलन केन्द्र प्रयोगमा ल्याउन सरोकारवालाको ध्यान पुगेको छैन् । बजार स्थल परिसर झाडीले भरीएको छ भने हिलो र ढलले दुर्गन्धीत बनेको छ ।

कृषक र उपभोक्ता जागरुक नहुनु, सरोकारवालाको बेवास्ता, कमजोर व्यवस्थापन, ब्यवसायीको असहयोग, फोहोर र ढल व्यवस्थापन नहुँदा हाटबजार अलपत्र परेको हो । बेनी र असापासका क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी, फलफुल, पशुजन्य बस्तुको बजारीकरण गर्ने तथा उपभोक्ताहरुले उत्पादक बाटै सिधै खरिद गर्न पाउने सुबिधाका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन हुदै आएको थियो ।Kirsi Hatbazar (1)सुरुवातका केही समय राम्रोसंग सञ्चालन भएको हाटबजारमा पछिल्लो समय पूर्वाधार थपिएपनि व्यवस्थित र नियमित रुपमा सञ्चालन हुन सकेको छैन् । ब्यवस्थापकीय कमजोरीका कारण हाटबजार सञ्चालन हुन छाडेपछि भैसीको भकारो बन्न पुगेको बेनी बजारको ईन्द्रेणीटोलका राजु राम्जालीले बताउनुभयो ।

“कृषि उपजको खरिद बिक्री गर्न बनाइएको ठाउँ भैसी गोठमा परिणत हुँदा समेत कसैले वास्ता गरेका छैनन्” राम्जालीले भन्नुभयो “हाटबजार सञ्चालन भएमा कृषक र उपभोक्तालाई धेरै राहत मिल्ने थियो ।” तरकारीमा बिचौलीयाको प्रभाव कम गर्ने हाटबजार सञ्चालन गर्नुको प्रमुख उद्देश्य थियो ।

कृषकले महत्व बुझ्न नसक्नु हाटबजार सञ्चालन हुन नसक्नुको प्रमुख कारण भएको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठले बताउनुभयो । “हाटबजार सञ्चालन गर्न कृषि कार्यालयले पहल, कृषक सचेत र उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्छ” श्रेष्ठले भन्नुभयो “लाखौ लगानीमा निर्माण भएका पूर्वाधार प्रयोगमा ल्याएर कृषक र उपभोक्तालाई सुबिधा दिनु सबैको दायीत्व हो ।”

हाटबजार टहरा र कृषि उपज संकलन केन्द्र निर्माणका लागि कृषि विकास कार्यालयले वि.स २०६५ देखि ७१ सम्म १९ लाख रुपैयाँ लगानी गरेको छ । गैरसरकारी संस्था सहमती, लघुउद्यम विकास कार्यक्रम, धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडिसी)ले दुईदुई लाख र तत्कालीन जिल्ला विकास समितिले एक लाख पचास हजार रुपैया पूर्वाधार निर्माणमा सहयोग गरेका थिए ।

संकलन केन्द्रको पूर्वाधार अपुग भएपछि छुट्टै टहरा बनाइएको थियो । कृषकले सामान ल्याउन छाड्नु, शनिबार बजारका पसल खुल्नु, उपभोक्ता सचेत र कृषक जागरुक नहुनु, बिक्री नभएको सामानको व्यवस्थापन गर्न नसक्नु, नजिकै फालीने फोहोर र ढलको दुर्गन्धका कारण हाटबजार सञ्चालनमा समस्या भएको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

“आफै तरकारी खेती र पसल सञ्चालन गरेका हामी केही कृषकले हाटबजार धानेका थियौ” कार्कीले भन्नुभयो “स्थानीय तहको चुनावले ब्यापार हुन छाड्यो । अहिले बर्खा भएकाले सञ्चालन गर्न सकेका छैनौ । असोज लागेपछि सञ्चालन गर्ने योजना छ ।” हाटबजारमा कृषक भन्दा ब्यापारी हावी हुदै गएपछी समस्या भएको हो ।

सुरुमा हाटबजारमा राम्रो ब्यापार हुने गरेको थियो । धेरै बजारबासी सामान किन्न हाटबजारमा पुग्ने गरेका थिए । कृषकले तरकारी, च्याउ, टुसा देखि खसी कुखुरा बेच्न हाटबजार आउँथे । हाटमा चहलपहल बढेपछि बजारका तरकारी तथा फलफूल ब्यवसायीले कृषकलाई असहयोग गरे । हाटमा बेच्ने कृषकको सामान ब्यापारीले किन्नै छाडे । कृषकहरुले दिनभरी हाटमा सामान बेच्न ग्राहक कुरेर बस्न पाउने समय भएन् । उनिहरुले अन्तत् ब्यापारीलाईनै सामान जिम्मा लगाउन बाध्य भए् ।

हाटमा कृषि उपजको मात्र नभएर फेन्सी, खाद्यान्नको पनि ब्यापार हुन थाल्यो । पसल र हाट एउटै भयो । बजारका ब्यापारीले बिरोध र उद्योग वाणिज्य संघलाई दवाव दिए । शनिबार बजारका पसल बन्द गर्ने संघको नियम कडाईका साथ कार्यान्वयन हुन सकेन् । अन्तत् हाटको प्रभावकारीता घट्यो र बन्द हुन पुगेको सरोकारवालाको भनाई छ । भैसी बाँध्ने मासु व्यवसायीलाई हटाउन अनुरोध गरेपनी अटेर गरेको अध्यक्ष कार्कीले गुनासो गर्नुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले उद्देश्य अनुसार सञ्चालन हुन नसक्दा हाटबजार प्रभावकारी बन्न नसकेको बताउनुभयो । “कृषक र उपभोक्ताको सुबिधाका लागि जसरी हाटबजार खुल्यो त्यसरी सञ्चालन हुन सकेन्” अध्यक्ष विश्वकर्माले भन्नुभयो “तरकारी, फलफुल भन्दा फेन्सी र खाद्यान्नको ब्यापार हावी भयो । बजार र हाटमा सामान किन्दा कुनै फरक नहुने अवस्था आएपछि प्रभावकारी भएन् ।”

सरोकारवालाले अनुगमन, कृषकले हाटको महत्व बुझ्न र सञ्चालकले सरसफाईमा ध्यान दिनुपर्ने अध्यक्ष विश्वकर्माले बताउनुभयो । जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले कृषक, उपभोक्ता, ब्यापारी र उद्योग वाणिज्य संघबीच समन्वय गरेर हाटबजार सञ्चालन गर्न पहल गर्ने बताउनुभयो ।

तरकारी ब्लक आयोजना मार्फत हालै खरिद भएको गाडी मार्फत कृषकको घरदैलोमै पुगेर कृषि उपज ढुवानी गर्न सकिने भएकाले हाटबजार सञ्चालनका लागि समन्वय गर्ने थापाले बताउनुभयो ।

बेनी नगरपालिकाले हालै आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख हरिकुमार श्रेष्ठले हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन र नजिकैको बधस्थल स्थानान्तर गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

बेनीको मात्र नभएर बाबियाचौर, भुरुङ तातोपानी, घार, हिस्तानको महभिर, सिंगा तातोपानीमा रहेको कृषि उपज संकलन केन्द्रका पूर्वाधार उपयोगमा आउन सकेको छैन् । स्थानीय तहमा निर्वाचनी जनप्रतिनीधि र सरोकारवालाहरुले कृषि पूर्वाधारको उपयोग र संरक्षणमा प्राथमिकता दिनुपर्ने देखिन्छ ।