थमसरा पुन /विकल्प न्यूज
साउन ७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका विकासको दृष्टीकोणले पछाडी परेको गाउँपालिका हो । केन्द्रिकृत शासन प्रणालीले गर्दा यस क्षेत्रमा विकासको ढोका खुल्न सकेन । सधै पछाडी पारियो ।
जिल्लाको विकट भूगोलका कारण आर्थिक,सामाजिक र राजनीतिबाट सधै पछाडी प¥यो । विकासको हिसावले निकै पछि परेको जिल्लाकै दुर्गम धौलागिरी गाउँपालिका हो । यहाँका नागरिकहरु यातायात,सञ्चार,शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा छन् ।
भौगोलिक हिसावले अति दुर्गम छ । अहिले पनि सवै गाउँहरुमा सहज तरिकाले सञ्चार सुविधा उपलब्ध छैन । यस्तो कठिन परिवेशमा धौलागिरीमा विकासको ढोका खोल्ने अदम्य शाहसका साथ हामी जनताबाट चुनिएर आएका छौं ।
अवको पाँचवर्षमा परिवर्तनको आभास हुने कुरामा जनताको आशा र भरोसा हामीप्रति पलाएको छ । लामो समय कर्मचारीतन्त्रबाट सञ्चालित स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधिहरु आएका छन् । गाउँपालिकाको सम्पूर्ण शासनसत्ता जनप्रतिनिधिहरुको हातमा छ । अवको पाँच वर्षमा गाउँपालिकालाई विकासको उचाइमा पु¥याउने जिम्मेदारी हाम्रो काँधमा आइपुगेको छ ।
हामीले जनताप्रति उत्तरदायी भएर निष्ठापूर्वक कार्यसञ्चालन गर्नुपर्दछ । संभावना र चुनौतीका विच हामीले विकासको आधार खडा गर्नुपर्ने भएको छ ।
करिव विष वर्षपछि आएर निर्वाचित जनप्रतिनिधिहरुले यहाँको विकास र संभावनाका वारेमा छलफल गर्ने अवसर प्राप्त गरेका छौं । यो अवसरलाई सहि सदुपयोग गर्नसकेमा विकासको लहर ल्याउन सकिन्छ । हामीले भर्खर गाउँपालिकाको पहिलो गाउँसभा सम्पन्न गरेका छौं ।
व्यापक जनशहभागिता जुटाई वडा स्तरबाट योजनाहरु छनौंट गरेर बजेट निर्माण गरेका छौं । गाउँसभा मार्फत आर्थिक वर्ष २०७४\०७५ का लागि नीति,कार्यक्रम,योजना र बजेट सार्वजनिक गरेका छौं ।
हामीलाई प्राप्त भएको सिमित बजेटको सिमामा रहेर यसपाली विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेका छौं । विकासले सधै पछाडी परेको यहाँका नागरिकहरुको आशा र अपेक्षा हुनु स्वभाविक हो ।
तर हामी सँग साधन र स्रोतको सिमित उपलब्धता छ । हामीलाई प्राप्त भएको बजेटका आधारमा चालु आवका लागि नीति,कार्यक्रम र योजना बनाएका हौं । हामीले अधिकतम रुपमा नागरिकका अपेक्षाहरु सम्बोधन गर्ने प्रयास गरेका छौं । निर्वाचनका समयमा व्यक्त भएका हाम्रा प्रतिवद्धताहरुलाई ख्याल गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गरेका छौं ।
प्राकृतिक स्रोतसाधनबाट सम्पन्न भएपनि समुचित रुपमा प्रयोग र परिचालन हुननसक्दा हामी सधैं पछाडी प¥यौं । धौलागिरी हिमालको काखमा अवस्थित यस गाउँपालिकाको समृद्धिका आधारहरु पर्यटन्,जलस्रोत र जडीवुटी हुन ।
उच्च हिमाली भेगका दुर्लभ जडीबुटीको व्यवस्थित निकास र संरक्षण गर्ने सोच हामीले बनाएका छौ । पर्यटकीय दृष्टिकोणले सहज रहेका धौलागिरी लगायतका अन्य हिमालहरु यात्राका लागि आवश्यक पूर्वाधारको विकासका साथै दीर्घकालीन योजना बनाएर काम अगाडि बढाउन सके विकासका धेरै सम्भावनाहरुको ढोका खुल्ने विश्वास लिएका छौं । पर्यटकीय क्षेत्रहरुमा होमस्टेको विकास गर्ने सोच बनाएका छौं ।
हामीले पाँच वर्ष भित्र सवै वडाहरुलाई सडक सञ्जाल सँग जोड्ने लक्ष्य लिएका छौं । विकासको आधार भनेको नै सडक हो । यसैलाई मध्यनजर गरेर सडक विकासलाई प्राथमिकता दिएका छौं । यो गाउँपालिकामा जलविद्युतको पनि राम्रो संभावना छ ।
म्याग्दी लगायत अन्य साना नदीनालाहरुबाट प्रशस्त जलविद्यत उत्पादन गर्नसकिने संभावना छ ।
धौलागिरी गाउँपालिकामा कृषि, पर्यटन, ऊर्जा र जडीबुटी नै हाम्रा समृद्धिका आधार बन्न सक्ने भनेर पहिचान गरेका छौं । हामीले जुन ठाउँमा जस्ता सम्भावना बढी देखिन्छन् त्यसैमा ढिलो नगरी काम सुरु गरिहाल्नु पर्छ भन्ने मान्यताका साथ योजनाहरु निर्माण गरेका छौं ।
लामो समय पछि स्थानीय तहमा जनप्रतिनिधिहरु आएकाले जनताका आकांक्षा धेरै छन् । ति आकांक्षाहरुलाई उचित सम्बोधन गर्न हामी सँग अहिले प्रयाप्त स्रोतको अभाव छ । समिति साधनस्रोतका बावजुद् हामीले यतिखेर नागरिकका आशा र अपेक्षहरुको संम्बोधन गर्न चुनौती देखेका छौ । विकासका लागि पूर्वाधार बनिसकेका छैनन् ।
छोटो समयमा उल्लेख्य विकास गर्न नसके जनतामा निराशा र कुण्ठा उत्पन्न हुन सक्ने सम्भावनालाई हेरी जनप्रतिनिधिले इमान्दारीपूर्वक काम गर्नुपर्ने छ ।
बसाइँ–सराइ गर्नेको अत्यधिक चापले गाउँहरू रित्तिँदै जान थालेका छन् । गाउँमा रोजगारी सिर्जना हुननसक्दा युवाहरु विदेश पलायनको समस्या छ । गाउँमै रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु हामीले ल्याउनु छ । हामीले अहिले कृषि र पर्यटन व्यवसायमा युवाहरुलाई आकर्षीत गर्ने योजनाहरु बनाएका छौं । उत्पादनमुलक क्षेत्रमा युवाहरुलाई आकर्षीत गर्ने खालका योजनाहरु अघि सारेका छौं ।
हाम्रो गाउँपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ यिनकै प्रयोग गरेर मात्र हामी समृद्धि हासिल गर्न सक्छौं । जल र जंगलजस्ता प्राकृतिक साधन स्रोत भएका आफ्नै खाले सम्भावना र विशिष्टता रहेका छन् ।
हामी सँग रहेका पुराना कलासंस्कृति लोप हुने अवस्थामा छन् । ति कला संस्कृतिको संरक्षण गर्न सके आन्तरिक एवम् वाह्ै पर्यटकलाई आकर्षीत गरि यसबाट पनि फाइदा लिन सकिन्छ । गाउँपालिकाले ति संस्कृतिहरुको संरक्षण गर्ने कार्यक्रमहरु बनाएका छौं । मगर,छन्त्याल र खस आर्य जातीहरुको वसोवास रहेको यस क्षेत्रमा आ–आफ्नै कला र संस्कृतिहरु भएकाले तिनीहरुको संरक्षण र प्रचारप्रसारमा सहयोग पुग्नेखालका कार्यक्रमहरु हामी सँग छन् ।
चालु संक्रमणकाल नै स्थानीय सरकारको सबैभन्दा ठूलो चुनौती हो । सबै ऐन कानुन संघीय संसद्ले बनाएर पद बहाल गरेकै दिनदेखि जनप्रतिनिधिहरूले संविधान र कानुनबमोजिम कार्य गर्न पाउने अवस्था छैन । कानुनकै अभावमा अझ केही समयसम्म स्थानीय सरकारहरू निष्क्रिय बस्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ स्थानीय सरकारमा काम गर्ने कर्मचारीको समायोजन र व्यवस्थापन सम्बन्धमा समेत कुनै कानुन नहुँदा अन्योलपूर्ण अवस्था रहेको छ । स्थानीय सरकारले अझ केही समय संक्रमणकालमै व्यतीत गर्नुपर्ने देखिन्छ ।
स्थानीय सरकारहरूले यो पाँचवर्षे अवधि निर्बाध रूपमा कार्य गर्न सफल भएको अवस्थामा साँच्चै जनताको जीवनस्तरमा आमूल रूपान्तरण सम्भव छ । यसैको माध्यमबाट नेपालको संविधानले परिकल्पना गरेको समाजवादतर्फको यात्रा सुनिश्चित गर्न सकिन्छ ।
यो कार्यमा आमनागरिकको खबरदारी र सहयोग निरन्तर जरुरी छ । जनस्तरको खबरदारीले नै जनप्रतिनिधिहरूलाई क्रियाशील र जवाफदेही अनि पारदर्शी बनाउन सहयोग पुग्नेछ । संभावना र चुनौतीका विचमा रहेर नै समृद्धिको आधार निर्माण गर्ने हो । हामीले आगमी पाँचवर्ष भित्र समृद्ध र नमुना गाउँपालिका बनाउनका लागि सवै पक्षसँगको निरन्तर सल्लाह,सुझाव र सहकार्यलाई मूख्य प्राथमिकतामा राखेका छौं । लेखक पुन धौलागिरि गाउँपालिककी अध्यक्ष हुनुहुन्छ । कुराकानीमा आधारित