बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान

विकल्प न्यूज\बेनी
चैत १२ गते ।


म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अहिलेसम्म ७२ औं पटक रक्तदान गरिसक्नुभएको छ । केसीले २५ वर्ष अघि देखि निरन्तर रुपमा रक्तदान गर्दै आउनुभएको हो । केसी रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत हुनुुहुन्छ । बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक हुँदा केसीले रक्तदान गरेर ज्यान बचाइदिनुभएको छ ।

विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ७२ औँ पटक रक्तदान गरेर अरुलाई नयाँ जीवन दिनुभएको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा केसी बेनी नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पनि आवश्यकता अनुसार रक्तदान गर्दै आउनुभएको छ ।

केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने महिला, गाडी दुर्घटना भएका लगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएर बचाउनुभएको छ ।

शनिबार केसीले बेनी अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गरेपछि ७२ औं पटक पुगेको उहाँले बताउनुभयो । केसीको रगत ‘ए’ प्लस समूहको हो । म्याग्दीमा केसीले सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिको परिचय बनाउनुभएको छ ।

सवै भन्दा बढी रक्तदान गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले ४ वर्ष अघि सम्मान समेत गरेको थियो । केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्षसमेत हुनुहुन्छ । केसी राजनीतिका साथै सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।