मुस्ताङमा एमालेका तुलाचनलाई पराजित गर्दै कांग्रेसका युवा नेता गौचन विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर ५ गते ।

 मुस्ताङको प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका योगेश गौचन विजयी हुनुभएको छ । गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेतको समर्थनमा उम्मेदवार बन्नुभएका २९ वर्षीय युवा नेता गौचन थकालीले ३ हजार ९ सय ९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ६१ वर्षीय निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेसका उम्मेदवार थकाली पूर्व बाणिज्यमन्त्री रोमी गौचनका छोरा समेत हुनुहुन्छ । २०७४ मा आफैले प्रतिस्पर्धा गरेको उम्मेदवारसंगको चुनावी प्रतिस्पर्धामा यस पटक गौचनले आफ्नै छोरालाई अघि सार्नुभएको थियो । थासाङ गाउँपालिका– ३ लेते घर स्थायी ठेगाना भएका गौचन र तुलाचन नातेदार समेत हुनुहुन्छ ।

०७४ को निर्वाचनमा प्रेमले रोमीलाई ४८५ मत अन्तरले हराउँदै प्रतिनिधि सभामा जित हाँसिल गर्नुभएको थियो । कांग्रेसको आन्तरिक अन्तरद्धन्द्धको कारण २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा काँग्रेस छाडेर एमाले प्रवेश गरि टिकट लिनुभएका तुलाचनले मुस्ताङमा दुई पटक चुनाब जितेका गौचनलाई मात्रै हराएनन्, जिल्लामा काँग्रेसको गढमा एमालेको प्रभाब फिजाउन समेत सफल हुनुभएको थियो । अघिल्लो निर्वाचनमा एमालेले प्रदेशसभाका दुई वटै सिटमा समेत बिजयी हाँसिल गरेको थियो ।

कांग्रेसले तुलाचनलाई टक्कर दिन यस पटक युवा नेता गौचनलाई अघि सारेको थियो । प्रदेश सभा क्षेत्र नंम्बर १ मा एमालेका ईन्द्रधारा बिष्ट र गठबन्धनबाट कांग्रेसका नम्डु गुरुङ र प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका विकल शेरचन, एमालेका चन्द्रमोहन गौचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्मा डोल्कर गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभा तर्फको मतगणना सकिएपछि प्रदेश तर्फको मतगणना थालिएको छ ।
कुल मतदाता १० हजार नौ सय ५७ मतदाता रहेकोमा सात हजार दुई सय ५७ मत खसको हो । प्रतिनिधितर्फ ४ जना र प्रदेश क तर्फ २ जना एवम् प्रदेश ख मा तीन जना गरी कुल तीन स्थानका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।