राउण्ड धवलागिरिको प्रचार गर्न मोना हङकङको टोली पदयात्रामा (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
असोज २६ गते ।

राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गर्न पदयात्राको आयोजना गरिएको हो ।

विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा वसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन गर्न १२ दिनको चक्रिय धवलागिरि पदयात्रा सुरु गरिएको छ । टोलीलाई बुधवार विहान बेनी नगरपालिकाका मेयर सुरत केसी,ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य,धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ लगायतले विदाई गरेका थिए ।

बेनीबाट सुरु भएको पदयात्रा धवलागिरि गाउँपालिका ४ मुदी देखि धवलागिरि वेसक्याम्प हुँदै धवलागिरि हिमालको फेरो मारेर मुस्ताङको मार्फा निस्किने कार्यक्रम रहेको मानो हङ्गकङ्गका अध्यक्ष कर्ण पुनले बताउनुभयो । पदयात्रामा मोनाका टोली,पत्रकार र गाइड गरी ३२ जना सहभागि हुने उहाँले बताउनुभयो । जन्मथालेको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आफूहरुले पदयात्राको कार्यक्रम राखेको उहाँले बताउनुभयो ।


मोना हङकङका अध्यक्ष पुनको नेतृत्वमा बुधबारदेखि उनीहरू बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कनेछन् ।‘हामी धौलागिरि पदमार्ग प्रवद्र्धनका लागि पदयात्रामा निस्कँदैछौं’, पुनले भन्नभुयो, ‘आफ्नो मातृभूमिको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य अवलोकन गरेर यहाँको पर्यटन संभावनाका वारेमा विश्वभर व्यापक प्रचारप्रसार गर्ने योजना बनाएका छौं । हाम्रो अभियानबाट प्रेरित भएर अरुलाई पनि पदयात्रा गर्न प्रोत्साहन मिल्ने अपेक्षा राखेका छौ ।’

पदयात्रा टोलीमा अध्यक्ष पुनसहित उहाँको जीवनसाथी मनु पुन, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरि, उहाँको जीवनसाथी सुनिता पूर्जा पुन, सचिव देबेन्द्र फगामी उहाँको जीवन साथी मन्दिरा फगामी, सल्लाहकार राजु गर्बुजा पुन, उहाँको जीवनसाथी देवामाया पुन र पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, उहाँको जीवन साथी लक्ष्मी थापा मगर सहभागी छन्। साथै पत्रकार अमृत भादगाउँले सहित तीन जना पत्रकार पनि पदयात्रामा सहभागि भएका छन् ।


सुन्दर पर्यटकीय क्षेत्र भएरपनि ओझेलमा परेको यस क्षेत्रलाई पदयात्राले पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । पदयात्रामा निस्केका टोलीलाई बुधवार विहान बेनी नगरपालिकाका मेयर सुरत केसी,ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य लगायतले विदाई गर्नुभएको थियो ।