जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राप्रपाको चुनावी एजेण्डा ः अध्यक्ष लिङ्देन

विकल्प न्यूज\बेनी
म्याग्दी २८ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थिरताका लागि संवैधानिक राजसंस्था सहितको जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राप्रपाको आगमी चुनावी एजेण्डा भएको बताउनुभएको छ ।

मंगलबार बेनीमा राप्रपा म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र सहित अभिभावकीय भूमिकामा राजसंस्था र कार्यकार्य प्रधानमन्त्री जनताबाट निर्वाचित हुने व्यवस्था राप्रपाको आगमी निर्वाचनको एजेण्डा भएको बताउनुभयो । उहाँले अहिलेको निर्वाचनमा हुने विकृतिलाई हटाउन संसदलाई पूर्ण समानुपातिक बनाउँदै प्रदेश सरकार खारेज गर्ने आफ्नो पार्टीको चुनावी एजेण्डा भएको उहाँको भनाई थियो ।

राप्रपाले अघि सारेका एजेण्डा मुलुकको हितका लागि भएको भन्दै अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचनमा राप्रपालाई मतदान गर्न म्याग्दीवासीहरुलाई अनुरोध गर्नुभयो । बेनी आयोजना गरेको पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलहरुबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको भन्दै आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मत परिवर्तन गरी आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्नुभएको हो ।

‘‘मुलुकमा भष्टाचार र अनियमितता मौलाउँदो छ, यसमा ठूला पार्टीका नेता र सरकार सञ्चालनमा गएकाहरु समेत संलग्न छन्, त्यसैले उनीहरुबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन, राप्रपाले भष्टाचारलाई अपराध मानेको छ, यस पटक मुलुककै नेतृत्व गर्ने अभिमतको लागि आम नागरिकबाट सकरात्मक सहयोगको अपेक्षा गरेका छौँ’’–उहाँले भन्नुभयो । उहाँले एक पटक र यसै पटक राप्रपालाई मतदान गरि मुलुकलाई संकटबाट बचाउने कार्यमा लाग्न समेत आह्वान गर्नुभयो ।

युवाशक्तिलाई वैदेशिक रोजगारमा पठाएर रेमिट्यान्सबाट मुलुक सञ्चालन गर्ने र मुलुकको आर्थिक घाटा बढाएर आर्थिक रुपमा कमजोर बनाउने काममा राज्यको नेतृत्वमा पुगेका नेता र दलहरु सक्रिय रहेको बताउँदै उहाँले मुलुकलाई सहि मार्गमा अघि बढाउन नागरिकले समेत सहि व्यक्ति र पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाई छ । जनता निर्वाचनको मतदानको दिन मालिक हुने भन्दै पटक पटक सोचेर आफ्नो मतको सहि सदुपयोग हुने निक्यौल गरेर मात्रै मतदान गर्नु उहाँले आग्रह गर्नुभयो ।

राप्रपा अध्यक्ष विरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश समितिका अध्यक्ष पञ्चमान गुरुङ, केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, पूर्व सहायकमन्त्री जगतप्रसाद गौचन, केन्द्रीय सदस्य दिलविकासराज भण्डारी राप्रपा म्याग्दीका बरिष्ठ उपाध्यक्ष जगनारायण गौचन लगायतले मन्तव्य राख्नुभएको थियो भने विभिन्न पार्टीबाट राप्रपामा प्रवेश गरेकाहरुलाई स्वागत तथा पार्टी सदस्यता प्रदान गरिएको थियो भने हरिप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।