पाउद्धारवासीको नमूना काम ः पदमार्गमा धर्मचौतारा

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
भदौं ५ गते ।


(खयरलेक) आजकल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जानथालेका छन् । भएका पाटीपौवा र चौताराहरु नासिदै जान थालेका छन् । केही काम गर्नुप¥यो सरकारको मुख ताक्ने गरिन्छ । तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई यहाँका गाउँलेले जिवित राखेका छन् । आफन्तको संझना तथा स्मृतिमा परिवारका सदस्यहरुले चौतारा चिनेर एउटा उदाहरण प्रस्तुत गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका स्थानीयवासीहरुले चौतारा बनाउने कार्यलाई मानवसेवा, धर्म तथा परोपकारी कार्यसँग जोडेका छन् । यहाँ आफन्त तथा परिवारका सदस्यको स्मृतिमा चौतारा बनाउने प्रतिस्पर्धा नै चलेको छ । पाउद्धार देखि पर्यटकीय स्थल खोप्र हुँदै खयरलेकसम्म पुग्ने पदमार्गको करिब एकसय स्थनमा चौतारा निर्माण गरिएको छ ।

गाउँलेहरुले पछिल्लो पाँचवर्ष यता यस्तो अभियान सञ्चालन गरेका हुन । पदमार्गको विभिन्न स्थानमा ढुङ्गाले बनाइएका चिटिक्कका चौतारा छन् । प्रत्येक चौतारामा पिउने पानी जडान गरिएको छ । चौतारा हेर्दा आकर्षक देखिन्छन् । पाउद्धार देखि खोप्रा सम्म ७ घण्टाको पैदल यात्राको प्रत्येक पाँचसय मिटरको दुरीमा आकर्षक खालका चौतारा निर्माण गरिएका छन् । यस्तै खोप्रा देखि खयर लेक सम्मका विभिन्न स्थानमा पनि चौतारा बनाइएका छन् ।

यस्ता चौताराहरुलाई गाउँलेहरुले धर्मचौतारा भनेर भन्ने गरेका छन् । आफन्तको सम्झना तथा स्मृतिमा निर्माण गरिएका चौताराहरुको बेलाबखतमा उनीहरुकै परिवारका सदस्यले मर्मत सम्भार पनि गर्ने गरेका छन् । ठाउँठाउँमा निर्माण गरिएका चौताराका कारण पदयात्रीलाई बाटो काटेको पत्तै हुँदैन । पहिलोपटक खयरलेक पुग्नुभएका बेनी नगरपालिका ६ का भरत केसीले भन्नुभयो ‘यस्तो नमुना कार्य अहिले सम्म देखेकै थिइन, आकर्षक चौतारा हेर्दा हर्दै बाटो काटेको पत्तै पाइन ।’

स्थानीयवासी तथा छिमेकी गाउँका व्यक्तिले समेत आफन्त तथा परिवारका सदस्यहरुको स्मृतिमा विगत ५ पर्ष देखि यता चौतारा निर्माण अभियान संचालन भएको खयर भारानी थानका संरक्षक राजु पुनले बताउनुभयो । करिब ४ हजार ७ सय मिटर उचाईमा रहेको प्रशिद्ध खयर भारानीको दर्शनका लागि भक्तजनहरुलाई सहज होस् भनेर समुदायको सक्रियतामा चौतारा र पदमार्ग निर्माण अभियान थालिएको उहाँले बताउनुभयो ।

अहिले सम्म करिब एकसय भन्दा बढी स्थानमा चौतारा निर्माण भएका छन् उहाँले भन्नुभयो ‘यो अभियानमा स्वतस्फूर्त रुपमा स्थानीयवासीहरु सहभागि जानुभएको छ । वर्षेनी चौताराको संख्या थपिदै गएका छन् ।’ ‘हामीले कसैलाई पनि यसो गर्नुप¥यो भनेर भन्नुपर्दैन आफै जानेर पदमार्ग र चौतरा बनाइदिनुहुन्छ ’पुनले भन्नुभयो ।

निर्माण गरिएका चौतारा परिवारकै सदस्यले समयमा समयमा मर्मत सम्भार गर्ने गरेको उहाँको भनाई छ । हामीले पाउद्धार देखि खयरलेक सम्मको पदमार्गलाई नमुना बनाउने अभियानमा जुटेका छौं खयर भारानी थान संरक्षक पुनले भन्नुभयो ‘स्वतस्फूर्त रुपमा गाउँलेहरुले आफन्त तथा परिवारको स्मृतिमा पदमार्ग र चौतारा निर्माण गरेका छन् ।

खयर भारानीको दर्शनका लागि जिल्ला वाहिरबाट आउने भक्तजनहरु पनि यो अभियानमा जोडिनुभएको छ ।’ प्रशिद्ध खयर भारानी थानमा पुग्ने भक्तजनहरुलाई सहज होस् भनेर बाजे बज्यैको सम्झनामा बुवा सहित तिनभाईले चौतारा र पिउने पानीको धारा निर्माण गर्नुभएको पाउद्धारका सुरज तिलिजा पुनले बताउनुभयो ।

हामी आजकल पोखरामा वस्छौं उहाँले भन्नुभयो ‘बाजे बज्जैको सझनामा बनेको चौताराको मर्मत सम्भार र सरसफाई गर्न म पोखरा देखि आएको हुँ । वर्षको एकपटक आएर चौताराको मर्मत सम्भार र सरसफाई गर्ने गरेका छौं जसले बाजे बज्जैलाई सम्झने अवसर दिलाएको छ ।’ पदयात्राका विभिन्न स्थानमा बनाइएका चौताराले पदयात्रालाई सहज बनाएको खयरलेक पुग्नुभएका धनगढीका लोकबहादुर नायकले बताउनुभयो ।

समुदायको पहलमा निर्माण गरिएको पदमार्ग र चौताराहरु साच्चिकै देशकै नमुना जस्तो लाग्छ उहाँले भन्नुभयो ‘अहिले सम्म धेरै स्थानको भ्रमणमा पुगियो तर यस्तो परोपकारी काम मैले देखेको थिइन । यति धेरैको उचाईमा आएर पनि चौतारा निर्माण गरेका रहेछन् ।’ यसको सिको अन्य स्थानमा पनि गर्न आवश्यक भएको उहाँको भनाई छ ।