विद्युतका कर्मचारीले फोन रिसिभ नगर्दा धाइरिङमा अप्रिय दुर्घटना (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य\जलजला
साउन २३ गते ।

पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ धारापानीमा सोमबार विद्युत लाइनमा हाइभोल्टेज प्रशारण हुँदा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार विहान करिब ७ बजेतिर विद्युतको वितरण लाइनको पोलमा आगो लागेपछि धारापानीका स्थानीयले मिलनचोक स्थित नो लाइटमा फोन गरे ।

तर त्यहाँ वस्ने कर्मचारीले फोन रिसिभ गरेनन् । हुनत विद्युतका कर्मचारीले सहजै फोन रिसिभ गदैनन् । समयमै फोन रिसिभ गरेर लाइन सर्टडाउन गरिदिएको भए अप्रिय घटना घट्ने थिएन ।


‘हामीले विद्युतको पोलमा आगलागी भएपछि पटकपटक फोन ग¥यौं तर कर्मचारीले कुनै रेस्पोन्स गरेनन्’ स्थानीवासी पूर्णचन्द्र आचार्यले भन्नुभयो ‘कर्मचारीले समयमै फोन रिसिभ गरिदिएको भएर लाइन सर्टडाउन गरेको भए अनाहकमा ज्यान जाने थिएन ।’ ‘विहान ७ बजे विद्युतको पोलमा आगलागी भयो तर साढे आठ बजेसम्म पनि विद्युत सर्टडाउन गरिएन । गाउँका घरहरुमा हाइभोल्टेज लाइन विस्तार भयो जसका कारण मानविय क्षति हुनपुग्यो । यो विद्युत कार्यालयका कर्मचारीको लापरबाही हो,’ आचार्यले भन्नुभयो ।

गाउँको विद्युत लाइनको समस्याका वारेमा एकहप्ता अघिदेखि जानकारी गराउँदा पनि विद्युत कार्यालयले लाइन मर्मत गर्न ध्यान नदिएका कारण दुःखद घटना घटेको स्थानीय तिलक आचार्यले बताउनुभयो । हाइभोल्टेजका कारण धारापानीका करिब २०० घरधुरीमा जडान भएका मिटरवक्स,विद्युत बल्ब,पोलबाट घर सम्म लगिएको तार जलेको स्थानीयवासी यामबहादुर केसीले बताउनुभयो ।

करेन्ट लागेर स्थानीय ५० वर्षीय सितादेवी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर १३ जना सामान्य घाइते भएका छन् । घाइतेको बेनी अस्पतालमा उपचार पछि घरफर्किका छन् । विद्युत लाइन चुढिएर बाख्रा फार्ममा रहेका बाख्रालाई करेन्ट लाग्दा स्थानीय प्रताप आचार्यका १६ वटा बाख्रा मरेका छन् ।

घटना स्थलमा पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले अव्यवस्थीत विद्युत लाइनका कारण दुःखद घटना घटेको बताउनुभयो। समस्याका वारेमा स्थानीयले पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित कार्यालयले मर्मतका लागि चासो नराखेका कारण मानविय र भौतिक क्षति हुनपुगेको उहाँले बताउनुभयो । पीडितलाई उचित क्षतिपुर्ती व्यवस्था गर्नुपर्ने र गाउँमा विजुलीको प्रशारण लाइनलाई व्यवस्थित गर्नुपर्ने उहाँले बताउनुभयो ।

घटना लगत्तै मिलनचोक स्थित प्रहरी चौकीका इन्चार्ज मुक्ति खड्का,स्थानीय जनप्रतिनिध,नेपाल विद्युत प्राधिकरण कुश्माका कर्मचारी सहितको टोली पुगेको थियो । एचडीको पोलमा रहेको जम्परले प्रशारण लाइनको तारमा छुनपुग्दा हाइभोल्टेज उत्पन्न भएको विद्युत कार्यालयका आकाश तज्याले बताउनुभयो । नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्र प्रमुख शिवनारायण गोशेलीले २२० भोल्टेज प्रसारण हुनुपर्ने विद्युतको तारमा त्यो भन्दा धेरै भोल्टेज प्रसारण भएकाले घटना घटेको बताउनुभयो ।

जम्पर लुज भएका कारण पनि विद्युत प्रवाहमा समस्या आएको हुनसक्ने उहाँले बताउनुभयो । घटनाको यर्थाथ विवरण प्राविधिक जाँच पछि आउनसक्ने भन्दै २२० भोल्जेट प्रवाह हुनपर्ने तारमा ११ हजार भोल्टेजसम्मको लाइन प्रवाह भएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष आचार्यले विद्युत कार्यालयको लापरबाहीका कारण प्रशारण लाइनमा ११ हजार भोल्टेज प्रवाह भएका कारण ठूलो क्षति पुगेको बताउनुभयो । विद्युत प्रशारणका लागि राखिएको ट्रास्सफर्मरमा एमसीपी नराखी सिधै लाइन जोडिएकाले प्रशारण लाइनमा समस्या उत्पन्न हुँदा लाइन सर्टडाउन नभएको उहाँले बताउनुभयो ।