बाढीपहिरोले अवरुद्ध मालढुङ्गा–बेनी सडक पाँच दिनपछि खुल्यो
म्याग्दी,असोज १४ गते । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अन्तर्गतको मालढुङ्गा–बेनी सडक पाँचदिन पछि पुनः सञ्चालनमा आएको छ । कालीगण्डकी नदीको कटान र पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि असोज १० गते रातिदेखि बेनी–मालढुङ्गा–पोखरा सडक अवरुद्ध भएको थियो ।
सडकको विभिन्न स्थानमा आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको सडक मर्मत तथा पहिरो पन्छाएपछि बुधबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएसँगै बेनी देखि पोखरा सिधा यातायात सुरु भएको छ । सडक सञ्चालनमा आएपछि बीचबाटोमा रोकिएका सवारीसाधन गन्तब्यमा जान थालेका छन् ।
मंगलबार मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा कालिगण्डकी नदीमा आएको बाढीले कटान गरेको सडकको नयाँ ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो । मध्यपहाडी लोकमार्ग आयोजनाले पर्वतको सहश्रधारा र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक योजनाले मालढुङ्गा बेनी खण्डको विभिन्न स्थानमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
१३ किलोमिटर लामो मालढुंगा–बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ स्थित केराबारी र लामाबगर क्षेत्रमा खसेको पहिरो पन्छाएपछि बेनीदेखि पोखरासम्म सवारीसाधन सञ्चालन हुन थालेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडक खुलाउनसमेत मर्मत कार्य थालिएको छ । जोमसोमदेखि घाँसा हुँदै म्याग्दीको भुरुङ–तातोपानीसम्मको सडक मर्मत गरिएको र बेनीदेखि गलेश्वरसम्म यातायात सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
लगातारको वर्षापछि आएको बाढीपहिरोले सडक,पुल तथा अन्य पूर्वाधारमा क्षति पु¥याउँदा म्याग्दी र आसपासका जिल्लाको जनजीवन प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी र जिल्लाका स्थानीय तहहरुले बेनी देखि ग्रामिण भेग जोड्ने सडक मर्मत सम्भार र पुननिर्माणमा जुटेका छन् । ग्रामिण सडकहरु पूर्णरुपमा सञ्चालन गर्न अझै एकहप्ता भन्दा बढी समय लाग्ने देखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्