बेनी–जोमसोम–कोरला सडक सञ्चालनमा आउन एक साता लाग्ने
असोज १२ गते । भारी वर्षाका कारण आएको बाढीपहिरो र नदी कटानले राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुर्याएको छ। सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन एक साताभन्दा बढी समय लाग्ने आयोजना प्रमुखले बताएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा र हिमपातबाट सडकका विभिन्न खण्डमा क्षति पुगेको जानकारी दिए ।
उनका अनुसार पर्वत–मालढुङ्गा खण्डका पाँच, बेनीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म १६ तथा म्याग्दी–मुस्ताङ सीमा काभ्रेभिरदेखि जोमसोम हुँदै कोरला नाकासम्म २५ स्थानमा लेदो, ग्रेगानसहितको बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको छ ।
पर्वत–मालढुङ्गा खण्डमा लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा सडकमा क्षति पुगेको छ । त्यस्तै बेनी–रुप्से खण्डअन्तर्गत गलेश्वर, रघुगङ्गा पुल, बैसरी, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटोखोला र रुप्सेखोलालगायत स्थान प्रभावित भएका छन् ।
म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभिरदेखि कोरला नाकासम्मका विभिन्न स्थानमा पनि आंशिक तथा मध्यम क्षति पुगेको आयोजनाले जनाएको छ । खहरेखोला, घाँसा, कैकुखोला, लेतेखोला, मार्फा, पान्डाखोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वेखोला र छुसाङखोलालगायत स्थानमा क्षति पुगेको छ ।
त्यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का घ्याकरखोला, चैले, समरखोला, झोखोला, स्याङवचे, घमी, चराङ, छोसेर तथा लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय आसपासका सडकमा समेत क्षति पुगेको आयोजना प्रमुख शर्माले जानकारी दिए । म्याग्दी खण्डका केही स्थानमा सडक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए । तातोपानी–पोखरेबगर जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुलको पहुँचमार्गसमेत बाढीले क्षति पुर्याएको छ।
पर्याप्त जनशक्ति र उपकरण व्यवस्थापन गर्न सकिए एक साताभित्र सडक पूर्णरूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको आयोजना प्रमुख शर्माले बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माले अवरुद्ध कोरला सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित सबै निकायसँग समन्वय र सहजीकरण भइरहेको बताए ।
सडक अवरुद्ध हुँदा विभिन्न समस्या देखिन थालेको र धार्मिक पर्यटकको आवागमनसमेत प्रभावित भएकाले सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताए । rss
प्रतिक्रिया राख्नुहोस्