म्याग्दी पहिरो अपडेट : मृतकको संख्या ७ पुग्यो, १०६ जनाको उद्धार
म्याग्दी, १२ असोज ः यही असोज ८ देखि ११ गतेको निरन्तरको झरिपछिको पहिरोका कारण म्याग्दीमा ज्यान गुमाउनेको संख्या सात जना पुगेको छ ।
दुई जना वेपत्ता भएका छन भने पहिरोको जोखिममा रहेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार, गिवाङ, नेपाने, घिरवाङ, धोस्केखोर, किन्दुका एक सय छ जनालाई उद्दार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएका उनिहरुलाई शिख, घारमा अस्थायी शिविर राखिएको छ ।
सडक यातायात सम्पर्क बिच्छेद भएकाले अस्थायी शिविरमा बेनीबाट हेलिकप्टरबाटै खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामान ढुवानी गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
पहिरोमा वेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली विकको खोजी जारी रहेको छ भने वेपत्ता भएका अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको सोमबार शव फेला परेको सहायक प्रजिअ आचार्यले बताउनुभयो । अन्नपूर्ण –३ की शिलकुमारी पाईजा, योगमाया पाईजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका गाउँपालिका–३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण–५ की जेनी पुर्जाको शव भेटिएको छ । पहिरोबाट म्याग्दी जिल्लाभर दुई सय घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।
पहिरोका कारण अवरुद्ध बनेको बेनी–बागलुङ सडक आंशिक रुपमा सञ्चालनमा आएको छ । बेनी–दरवाङ सडकको बेनी–तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरि मर्मत गरेको छ । म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको बेनी देखि गलेश्वर सम्म मंगलबा सडक खुलेको छ । जिल्ला सदरमुकाम बेनीमा सञ्चार र विद्युत सेवा आंशिक रुपमा सूचारु भएपनि ग्रामिण क्षेत्रमा अवरुद्ध छ । सञ्चार र विद्युत सेवा अवरुद्ध हुँदा विपद्को क्षतिको विवरण संकलनमा समस्या भएको छ ।
क्षति विवरण संकलनका लागि प्रत्येक स्थानीय तहलाई दुई\दुई जना जनशक्ति माग गर्ने सोमबारको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । म्याग्दी, मुस्ताङ र बागलुङ जिल्ला राष्ट्रिय राजमार्गसँग सम्र्पबिच्छेद भएकाले इन्धन अभाव हुन सक्ने देखिएकाले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोल पम्पहरुलाई प्रशासनले निर्देशन दिएको छ ।
मौजुदा पेट्रोलियम पदार्थ सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध खुलाउन प्रयोग गरिने सवारी साधनलाई उपलब्ध गराउने र अन्य सवारी साधनहरुको हकमा आवश्यकता हेरि प्राथमकता अनुसार उपलब्ध गराउने ब्यवस्था मिलाएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्