बेनी (म्याग्दी), असोज १० गते । लगातारको वर्षाका कारण म्याग्दीका विभिन्न स्थानीय तहमा पहिरो जाँदा घरगोठमा क्षति पुगेको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लामा मानवीय क्षति भएको छैन ।
असोज ९ गतेदेखि १० गते बेलुका ७ बजेसम्मको विवरणअनुसार बेनी नगरपालिका, मंगला, अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकाका विभिन्न बस्तीमा पहिरो गएको छ । धवलागिरि गाउँपालिकामा पनि सडक अवरुद्ध भएको छ । अधिकांश स्थानीय तहमा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ ।
बेनी नगरपालिकाका विभिन्न वडामा पहिरोले घरगोठमा क्षति पुर्याएको छ । वडा नं. १ को अर्जम र सिममा एक घरमा क्षति पुगेको र अर्को घर जोखिममा परेको छ । वडा नं. २ को बालडाँडामा दुई घर, एक गोठ र दुई भैँसीमा क्षति पुगेको छ । वडा नं. ३ भकिम्लीमा सात घर जोखिममा परेका छन् भने तीन गोठ र दुई भैँसीमा क्षति भएको विवरणमा उल्लेख छ ।
त्यसैगरी वडा नं. ४ को ज्यामरुककोटस्थित डाँडाखेतमा चार घर, वडा नं. ५ को चिप्लेटीमा एक घरमा क्षति पुगेको छ । वडा नं. ६ को अर्थुङ्गेमा चार घर पहिरोको जोखिममा रहेका छन् । जोखिममा रहेका बस्तीका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
मंगला गाउँपालिकाको वडा नं. २ मा पर्ने रनबाङ र हिदीमा पहिरो गएको छ । रनबाङका दुई र हिदीका ६ देखि ७ परिवार प्रभावित भएका छन् । दुई घरमा क्षति पुगेको र तीन घरका १० जनालाई सुरक्षित स्थानमा सारिएको छ । वडा नं. ५ को घेगरेमा एक परिवारका ६ जना प्रभावित भएका छन् । उनीहरूलाई आमा समूहको भवनमा राखिएको छ । गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
ADD
अन्नपूर्ण गाउँपालिकाको वडा नं. ५ स्थित पाउद्वारको नाची र शिखको किन्दुकमा पहिरो जाँदा दुई घर र एक भैँसी पुरिएको छ । दुई घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वडा नं. ८ को राम्चे धारापानीमा पहिरोका कारण चार घर जोखिममा परेका छन् ।
मालिका गाउँपालिकाको वडा नं. ५ स्थित वतासे डाँडामा पहिरो जाँदा एक गोठमा क्षति पुगेको र एक घर चर्किएको छ । वडा नं. ६ अन्तर्गत दरबाङ, ताकम र धारापानी जाने बाटोमा पहिरो गएको छ । थापाचौरमा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
रघुगंगा गाउँपालिकाका विभिन्न वडामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । वडा नं. २ को आरन टोलमा सामान्य भल पसेको छ । वडा नं. ३ मा नहर भरिएर घरमा भल पसेको छ भने गलेश्वरदेखि राहुघाट जलविद्युत् आयोजना हुँदै गाउँपालिका केन्द्र जाने बाटो बन्द भएको छ । वडा नं. ४, ५, ६ र ७ का विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएको छ ।
धवलागिरि गाउँपालिकामा पहिरोका कारण सडक अवरुद्ध भए पनि अन्य अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
मुख्य सडकमा पनि पहिरो
वर्षाका कारण बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–पाखापानी सडक खण्डमा पहिरो गएको छ ।
बेनी–जोमसोम सडकको गलेश्वर, राहुघाट, डाँडाखेत, बैसरी, तातोपानी, सुकेबगर, जलथले, रुप्से र काभ्रेभिर क्षेत्रमा पहिरो गएको छ । बेनी–दरबाङ सडकको सिंगा तातोपानी र फापरखेतमा पहिरो गएको छ भने बेनी–पाखापानी सडकको पाखापानी क्षेत्रमा पहिरो गएको छ । यी सडक खण्डमा साना पहिरोसमेत धेरै स्थानमा खसेका छन् ।
लगातारको वर्षाका कारण ग्रामीण बस्ती र मुख्य सडकमा पहिरो जाने क्रम बढेकाले आवागमन प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभए पनि घरगोठ, पशुचौपाया र सडकमा क्षति पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्