म्याग्दीमा नेपाली कांग्रेसको छवटै पालिकामा नयाँ नेतृत्व चयन
म्याग्दी, नेपाली कांग्रेस म्याग्दीले जिल्लाका छवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । असोज ७ र ८ गते सम्पन्न भएको पालिका अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको हो ।
बेनी नगरपालिकासहित चारवटा गाउँपालिकामा सभापति र पदाधिकारीहरू सर्वसम्मत चयन गरिएको हो भने मंगला गाउँपालिकामा मतदानबाट सभापति निर्वाचित गरिएको थियो । मंगला बाहेक अन्य पालिकामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनले कांग्रेस म्याग्दीमा आन्तरिक एकता र संगठन सृदृढीकरणको सन्देश देखिएको छ ।
ADD
आन्तरिक एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै बेनी नगर सभापतिमा चक्र केसी, रघुगंगा गाउँपालिका सभापतिमा निरज भण्डारी,अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरूवाल, मंगला गाउँपालिका सभापतिमा गोपाल भट्टचन, मालिका गाउँपालिका सभापतिमा राजेन्द्र जुग्जाली (राजु) र धवलागिरी गाउँपालिका सभापतिमा प्रेम पुन निर्विरोध निर्वाचित भएका हुन । यसैबीच, पालिका तहको निर्वाचनसँगै म्याग्दी कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरणमा समेत ठूलो फेरबदल आएको छ । नेपाली कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) ले पूर्व संस्थापन (शेरबहादुर देउवा) कित्ता छोडेर कांग्रेसको संस्थापन तर्फ लागेपछि जिल्लामा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ ।
सभापति गर्बुजाको कित्ता परिवर्तनसँगै जिल्लाका अधिकांश स्थानीय तहका नयाँ नेतृत्व र कार्यकर्ताहरू पनि गगन थापाले नेतृत्व गरेको संस्थापन पक्षमा लागेपछि म्याग्दीमा कांग्रेसको संगठनलाई थप संगठित र प्रभावकारी बनाउने विश्वास कार्यकर्ताहरूले लिएका छन् ।
नवनिर्वाचित पालिका सभापतिहरूले पनि पार्टीलाई गाउँगाउँसम्म एकीकृत गर्दै जनसरोकारका मुद्दामा सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्