ताजा समाचार:
Search

पाँचौं पर्वत महोत्सवको तयारी पूरा

विशन क्षेत्री/कुश्मा
माघ १२ गते ।

माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको पाँचौं पर्वत महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । बिहीवारदेखि शुरू हुने उक्त महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लागि हुन लागेको पाँचौं पर्वत महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले जानकारी दिए । महोत्सवमा स्टल निर्माण कार्य ९० प्रतिशत पूरा भए पनि बुकिङ भने शतप्रतिशत भएको उद्योग वाणिज्य सङ्घ तथा कार्यक्रम मूल आयोजक समितिका आर्थिक संयोजक गोेपी अधिकारीले बताए । ‘महोत्सवमा १६ ओटा लघुउद्यम, १२ ओटा होटल तथा रेष्टुरेण्टका लागि बुकिङ भएको छ,’ उनले भने । त्यसैगरी, महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि प्रदर्शनका स्टल रहेको उनले बताए ।20170124064938_Clipboard18महोत्सव प्रचारप्रसारका दृष्टिकोणले अत्यन्त प्रभावकारी बन्दै गइरहेको र अपेक्षा गरेअनुसार नै काम भइरहेकाले आर्थिक रुपले समेत सफल हुने अपेक्षा आफूले गरेको सङ्घका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव आर्थिक संयोजक गोपी अधिकारीले बताए । महोत्सवलाई रोचक बनाउन थुप्रै राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ ।

महोत्सवमा आउने दर्शकले अष्ट्रिच, ऊँट र चौंरीगाईसमेत अवलोकन गर्न पाउने भएका छन् । जिल्लामा रहेका लामा र अग्ला पुल, नेपालकै प्राविधिकले निर्माण गरेको केबलकार मोडेलको यान्त्रिक पुल, बन्दै गरेको साहसिक बञ्जी जम्प, ऐतिहासिक गुप्तेश्वर तथा अलपेश्वर गुफा, सहस्रधारा, कालीगण्डकीको र्‍याफ्टिङ र प्याराग्लाइडिङ महोत्सवका आकर्षण रहेको आयोजकले जानकारी दिएका छन् ।

महोत्सव अवलोकनका लागि ५ सय रुपैयाँमा प्याकेज टिकटको व्यवस्था गरिएको छ भने ६० रुपैयाँमा सामान्य टिकट तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । abhiyan.com.np