ताजा समाचार:
Search

बेनी–महारानीथान सडक कालोपत्रेको तयारी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ माघ ।
म्याग्दीको सदरमुकाम बेनी स्थित धार्मीक तथा पर्यटकीय स्थल महारानी थानसम्म जाने सडक कालोपत्रे गर्ने तयारी भएको छ ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत करिब एक किलोमिटर दुरीको यो सडक स्तरवृद्धि र कालोपत्रे गर्ने तयारी भएको हो । बेनी बजार महारानी मन्दिर जाने सडक योजनालाई यो वर्ष ४४ लाख बिस हजार रुपैया बजेट प्राप्त भएको डिभिजन प्रमुख ईञ्जिनियर थानेश्वर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार पहिले चार लाख रुपैया बजेट बिनियोजन भएको यो योजनालाई भौतिक योजना तथा यातायात मन्त्रालयले मंगलबार थप चालीस लाख बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य पुनम खड्काको पहलमा बजेट थप भएको जनाइएको छ ।

यसै वर्ष सम्पन्न गर्नेगरी योजनाको काम अघि बढाउन ठेक्का प्रक्रिया सुरु गरिसकेको डिभिजन प्रमुख खत्रीले बताउनुभयो । प्रारम्भिक चरणको सर्वेक्षण र ठेक्का आव्हान गरिसकेको उहाँले बताउनुभयो । ठेक्का प्रक्रियापछि अर्को चरणको सर्वेक्षण र काम सुरु हुने ईञ्जिनियर खत्रीले बताउनुभयो ।

बेनी बजार नजिकै रहेको महारानी थानमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । मंगलबार र शनिबार पुजाआजा हुने महारानी बेनीको प्रमुख धार्मीक स्थल मानिन्छ । बेनी–पाखापानी सडक अन्तरगत पर्ने महारानी थान नजिकै वौद्ध स्तुपा समेत रहेको छ ।