ताजा समाचार:
Search

पशु सेवा कार्यालयले थप दश गाविसमा प्राबिधिक खटायो

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ४ माघ ।
जिल्ला पशु सेवा कार्यालय म्याग्दीले हालै नियुक्त भएका दश जना प्राबिधिकलाई मंगलबारदेखि कार्यक्षेत्रमा खटाएको छ ।

पशुपंक्षि विकास मन्त्रालयको “एक गाविस एक पशु प्राबिधिक” भन्ने कार्यक्रम अन्तरगत पाँच जना नायव पशु सेवा र पाँच जना नायव पशु स्वास्थ्य प्राबिधिकलाई दश गाविसमा खटाइएको कार्यालयले जनाएको छ ।

नारच्याङमा संगिता पुन, शिखमा प्रकाश घर्ती क्षेत्री, हिस्तानमा राजु बरुवाल, पिप्लेमा सुजन बिक, बिममा प्रेमकुमारी गुरुङ, ओखरबोटमा धु्रब चोखाल, कुहुँमा आकाश जिसी, कुईनेमंगलेमा सबिता पाईजा पुन, मुनामा सुविता पूर्जा र बेगखोलामा भिमप्रसाद पुनलाई खटाइएको पशु विकास अधिकृत नरबहादुर बानियाले जानकारी दिनुभयो ।IMG_1126उहाँका अनुसार लोक सेवा आयोगको नियम अनुसार परिक्षा मार्फत करारमा नियुक्त गरिएको हो । उनिहरुले गाविस कार्यालय मातहत रहेर कृषकहरुलाई पशु सेवा र स्वास्थ्य सम्बन्धि सेवा दिने जिम्मेवारी पाएका छन् ।

गत वर्ष गुर्जा, रुम, बरंजा, राम्चे, दोवा, चिमखोला र मल्कवाङ गाविसमा पशु सेवा प्राबिधिक नियुक्त गरि परिचालन गरिएको थियो । ग्रामिण र दुर्गम क्षेत्रका कृषकलाई स्थानीय स्तरमा पशु स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाविस स्तरमा प्राबिधिक परिचालन गरिएको कार्यालय प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनले बताउनुभयो ।

बेनी स्थित जिल्ला पशु सेवा कार्यालय अन्तरगत अर्थुङ्गे, लुलाङ, ताकम, दरवाङ, बाबियाचौर, पाखापानी, भगवती, घार र दानामा स्थाई सेवा केन्द्र रहेका छन् । अर्मन, देविस्थान, निस्कोट, मराङ, झिँ, दग्नाम, भकिम्ली र भुरुङ तातोपानी बाहेकका गाविसमा पशु सेवा प्राबिधिक परिचालन भएका छन् ।

यसैबीच कार्यालयले प्राबिधिक र परामर्श सेवामा कृषकको सहज पहुँच स्थापित गराउनका लागि टोल फ्रि नम्बर सुरु गरेको छ । १६६०६९५२२२२ मा फोन गरेर कृषकहरुले आफ्नो गुनासो, समस्या र प्रतिक्रिया व्यक्त गर्न सक्ने व्यवस्था मिलाएका कार्यालयका पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।

यो नम्बरमा फोन गर्दा शूल्क लाग्दैन् । यसैगरी वेभसाईट पनि सञ्चालन गरिएको पशु सेवा प्राबिधिक रेग्मीले बताउनुभयो ।