ताजा समाचार:
Search

बेनीमा युवा समितिको कार्यालय स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ३ माघ ।
म्याग्दीको बेनीमा जिल्ला युवा समितिको कार्यालय स्थापना भएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्ले म्याग्दीमा युवा सम्बन्धि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थापना गरेको हो ।

कार्यालयको सोमबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रजिअ आचार्यले म्याग्दीका युवाहरुमा बिदेशमोह घटाएर निजामती सेवाप्रती आकर्षित गर्नुपर्ने बताउनुभयो ।yubaयसैगरी विद्यार्थीमा पढाईको महत्व बुझाएर रोजगारी सिर्जना र नेतृत्व विकासमा सघाउ पुग्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले स्थानीय निकायले युवाका लागि बिनियोजन गर्ने बजेट परिचालनका लागि युवा कार्यालयले सहजिकरण गर्नुपर्ने बताउनुभयो ।

यस वर्ष युवा उद्यमशिलता कार्यक्रम, युवा प्रतिभा पहिचान, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालनका लागि १२ लाख १२ हजार २०० रुपैया बजेट प्राप्त भएको कार्यालय प्रमुख घनश्याम पौडेलले जानकारी दिनुभयो । युवा संग सम्बन्धि संघ संस्था र निकायसंग सहकार्य गरेर योजना तथा कार्यक्रम सञ्चालन गरिने पौडेलले बताउनुभयो ।

जिल्ला युवा समिति म्याग्दीका अध्यक्ष देवीप्रसाद शर्माको अध्यक्षता र अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका माधवप्रसाद रेग्मी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, अनेरास्ववीयुका अध्यक्ष प्रकाश पौडेल र नेपाल पत्रकार महासंघका अध्यक्ष सुरत केसीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।