ताजा समाचार:
Search

ताकममा गाउँपालिका केन्द्र बनाउन माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा

विकल्प न्यूज/बेनी
बेनी ३ माघ ।
प्रस्तावीत धौलागिरी गाउँपालिकाको केन्द्र ताकममा कायम गर्न स्थानीय बासिन्दाले दवावमुलक आन्दोलन थालेका छन् ।

ताकममा क्रियाशिल राजनीतिक दल, युवा कल्व, आमा समूह लगायतका संघ संस्थाहरुको एक टोलीले गाउँ पालीकाको केन्द्र ताकममा बनाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएका छन् ।

पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरी मार्फत ज्ञापनपत्र मन्त्रिपरिषद् र स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र पठाएको संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम समेत तय गरेको छ ।takamयसैगरी जिल्लामा क्रियाशिल सबै राजनीतिक दलका पार्टी कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहको सिमाना, संख्या निर्धारण गर्न बनेको आयोगले गत हप्ता सरकारलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा धौलागिरी गाउँपालीकाको अस्थाई केन्द्र मुनामा काम गर्न उल्लेख भएको भन्दै ताकमका बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । यसअघि रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँटलाई बनाउनुपर्ने माग राख्दै पिप्ले र भगवतीका बासिन्दाले समेत आन्दोलन घोषणा गरिसकेका छन् ।

स्थानीय तह पुनसंरचनाका लागि जिल्लामा गठित प्राबिधिक सहयोग समितिले धौलागिरी गाउँपालीकाको केन्द्र ताकम र मुना मध्य एक ठाउँ तोक्न सिफारीस गरेको थियो । जिविस, प्रशासन र राजनितिक दलका नेताहरुले भने आयोगको प्रतिवेदन सार्वजनिक नभएकाले आधिकारीक जानकारी नभएको बताएका छन् ।

पुर्वाधार, आयोगको मापदण्ड लगायतका आधारमा गाउँपालीकाको केन्द्र ताकम उपयुक्त हुने संघर्ष समितिको भनाई छ । विपद्को कम जोखिम र सबैलाई पायक पर्ने तथा पर्याप्त पुर्वाधार भएकाले ताकम केन्द्र बनाउनुपर्ने स्थानीय अगुवा देवबहादुर थापाले बताउनुभयो ।
मल्कवाङ, मराङ, ताकम, मुना, मुदी, गुर्जा र लुलाङ गाविसलाई समेटेर धौलागिरी गाउँपालीका प्रस्ताव गरिएको छ । ताकम, धारापानी, हिलापोखरीका महिला, युवा, राजनितीकर्मीहरुको टोलीले प्ले कार्ड र नारा लगाउँदै प्रशासन र जिविसमा ज्ञापनपत्र बुझाउन गएका थिए ।
पहिलो चरणको आन्दोलनबाट माग पुरा नभए दोस्रो चरणमा थप आन्दोलनका कार्यक्रम गर्ने संघर्ष समितिले जनाएको छ ।