ताजा समाचार:
Search

बानियाँ बन्धु समाजद्वारा महायज्ञको आयव्यय सार्वजनिक

विकल्प न्यूज/बेनी
पुस २२ गते ।
बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा महायज्ञमा सङ्कलित रकमको आयव्यव विवरण सार्वजनिक भएको छ । गएको मंसिर २२ देखि २८ गतेसम्म पुला भिरमुनीमा सञ्चालित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञबाट सङ्कलित रकमको एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । img_0018साप्ताहिक महायज्ञबाट झण्डै १ करोड रुपैयाँ सङ्कलन गरिएको बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीले जनाएको छ । महायज्ञमा कुल ९२ लाख ९२ हजार ९ सय १६ रुपैयाँ आम्दानी, १६ लाख २५ हजार २ सय ४४ रुपैयाँ खर्च भई ७६ लाख ६७ हजार ६ सय ७२ रुपैयाँ बचत रहेको महायज्ञ मूल आयोजक समितिका आर्थिक संयोजक क्याप्टेन धर्मराज बानियाँले जानकारी दिए ।

उनका अनुसार उठ्न बाँकी ४० लाख ७७ हजार ९ सय ४९ रुपैयाँ रहेको छ । यसैगरी संयोजक बानियाँले महायज्ञमा दक्षिणातर्फ ३ लाख ७७ हजार ८ सय ३०, सम्मानमा २ लाख ५१ हजार ९ सय ७०, प्रचारप्रसार १ लाख ७५ हजार २ सय, टेन्ट तथा साउण्ड सिस्टमतर्फ १ लाख ४५ हजार, खाद्यान्न १ लाख २७ हजार ६ सय ६५ र यातायात ७७ हजारसहित विभिन्न १९ ओटा शीर्षकमा खर्च भएको आयव्यय विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै महायज्ञमा ८२ मुरी १० पाथी धान, ४ मुरी १० पाथी चामल, ६ पाथी गहुँ तथा ४ पाथी मास समेत सङ्कलन भएको थियो । महायज्ञबाट सङ्कलित रकमले बानियाँ बन्धुहरुको जालपा देवी मन्दिरको पुनर्निर्माण र पुलाचौरका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्गलगायतमा खर्च गरिने बताइएको छ ।

कार्यक्रममा महायज्ञका यज्ञाचार्य पण्डित प्रेमप्रकाश पौडेल, बानियाँका इतिहासकार कृष्णबहादुर बानियाँ र समाजसेवी मिनबहादुर बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम बानियाँ बन्धु समाज म्याग्दीका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, द्वितीय उपाध्यक्ष दिपबहादुर बानियाँको स्वागत र सचिव दलकेशर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।