रेशमवहादुर बानियाँ /विकल्प न्यूज
मंसिर २० गते ।
संसद बैठक स्थगित भएकाले मंसिर दोस्रो साता म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा समावेश भएका गाविसहरुको भ्रमण गर्ने योजना बनाए । स्थानीय स्तरमा विकास योजना कार्यान्वयनको अवस्था, जनताको समस्या, सुझाव र अपेक्षा बुझ्ने उद्देश्यले राजनीतिक भन्दा पनि विकाससंग सम्बन्धित रहेर भ्रमण गरिएको हो । भ्रमणका क्रममा दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, पाउद्धार, शिख, घार, घराम्दी, टिकोट, राम्चे र नांगीमा सञ्चालित योजनाहरुको अवलोकनका साथै गाविस सचिव, स्थानीय स्तरमा क्रियाशिल सबै राजनीतिक दलका नेता, अगुवा र सर्वसाधारणहरुसंग संयुक्त रुपमा भेटघाट र अन्तरक्रिया गरे ।
गाउँमा गएपछि आफ्ना कार्यकर्तालाई मात्र भेट्ने परम्परालाई तोडेर गाविस कार्यालय मार्फत संयोजन गरेर सबैसंग छलफल तथा साक्षत्कार गरेको हुँ । जनप्रतिनिधिको रुपमा सबैको अपेक्षा, समस्या, सुझाव र गुनासो बुझ्ने, सुन्ने प्रयत्न गरेको हँु । तर भ्रमणलाई गैरराजनीतिक रुपमा लिईदिन अनुरोध गर्दछु । यो भ्रमण राजनीतिक उद्देश्य राखेर गरिएको होइन ।
डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहीन रहेपनि एक हप्तासम्मको यो भ्रमणका क्रममा मैले त्यस्तो अनुभव गर्न पाइन् । चुनाव नभएपनि स्थानीय बासिन्दाले प्रत्येक वडा र गाविसमा संयोजकहरु बनाएका रहेछन् । बस्ती र गाविस स्तरमा भेला मार्फत जनताले आफ्ना प्रतिनिधि चुनेका हुन् । तिनै प्रतिनिधि मार्फत गाउँका हरेक समस्याहरु समाधान हुने राम्रो संस्कार रहेको मैले पाए ।
गाविसको काम, सामाजिक अभियान र विकास निर्माणमा गाउँ तथा वडा संयोजकको भुमिका प्रभावकारी र सहयोगी रहेको पाए । जसले गर्दा स्थानीय स्तरमा राजनीतिक दलहरुको भुमिका भने खुम्चिएको पाइयो । राजनीतिक दलका प्रतिनिधि, गाउँ र वडाका बासिन्दाले चयन गरेको संयन्त्र, गाविस र अन्य कार्यालयबीच सहकार्य हुन आवश्यक देखिन्छ ।यस क्षेत्रको अर्को सकारात्मक पक्ष विकास योजना निर्माणमा भएको जनसहभागिता हो । जिविस, विषयगत कार्यालय र अन्य निकायले दिएको अनुदानको तुलनामा स्थानीय बासिन्दाले दोब्बर, तेब्बर बढी आर्थिक स्रोत र श्रमदान जुटाएर सडक, भवन लगायत पुर्वाधार आयोजना निर्माण गरेका छन् ।
दाना स्थित ज्ञानप्रकाश माविको भवन, महभिर–घराम्दी, महभिर–टिकोट सडक, काफलडाँडा र राम्चेको सामुदायिक भवन लगायतका योजना जनसहभागिताको नमुना हुन् । जनताको एकता र सक्रियता भयो भने सरकारी निकायको न्युन सहयोगमा समेत करोडौका योजना निर्माण गर्न सकिन्छ भन्ने उदाहरण यस क्षेत्रमा प्रशस्त उदाहरण छन् ।घारमा स्थानीय एक परिवारले १५ लाख रुपैयाँमा खरिद गरेर उपलब्ध गराएको जग्गामा मुक्तीमार्ग माविको भवन निर्माण भैरहेको छ । भिरकाटे–दोवा सडकलाई फराकीलो बनाउन स्थानीयले आफ्नो खेतबारी मासेर जग्गा दिएका छन् । यो सडकमा समुदायले चन्दा संकलन गरेर समेत लगानी गरेका छन् । केही ठाउँमा मोड सुधार गर्न आवश्यक रहेको यो सडक जिल्लाका अन्य सडकको तुलनामा राम्रो लाग्यो ।
राज्यको करोडौ लगानी भएको पोखरेबगर–घार सडकको नाजुक अवस्था देखेर दःुख लाग्यो । प्रभावित क्षेत्रका बासिन्दाले पर्याप्त जग्गा उपलब्ध नगराउँदा यो सडक साँघुरो र जीर्ण बनेको तथा स्तरवृद्धी कार्य प्रभावित भएको गुनासो सुने । घारका बासिन्दालाई अन्तरक्रियाका क्रममा दोवाको सडकबाट पाठ सिक्न अनुरोध पनि गरे ।उत्तरी म्याग्दीका आठ गाविस र मुस्ताङ जिल्लालाई जोड्ने बेनी जोमसोम सडक स्तरवृद्धीका लागि पहल गर्नुपर्ने विषय सबैको साझा माग तथा सुझाव बन्यो । अर्थ मन्त्रालयले हालै तिन अर्ब को बहुबर्षिय ठेक्का मार्फत काम अघि बढाउन डिपीआर स्वीकृत गरेको बेनी जोमसोम सडकको कामलाई तिब्रता दिन माथिल्लो स्तरबाट पहल र स्थानीय स्तरमा काम गर्ने अनुकुल वातावरण बनाउन आवश्यक छ ।
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी कोरीडोर अन्तरगत दानामा सब स्टेशन निर्माण सुरु गरेपछि नारच्याङमा ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाले तिब्रताका साथ काम अघि बढाएको छ । ५ मेघावाटको घलेम्दीखोला जलविद्युत आयोजनाको काम तिब्र गतिमा अघि बढेको छ ।
दानामा सब स्टेशन निर्माण गर्न ठेकेदार कार्यक्षेत्रमा परिचालीत भएको छ । दाना–खुर्कोट प्रशारण लाइन र सब स्टेशन निर्माण कार्य अघि बढेपछि कालीगण्डकी र आसपासका नदी तथा मुस्ताङमा जलविद्युत आयोजना निर्माणले तिब्रता पाउने आशा गरिएको छ ।
पोखरेबगर देखि शिखको नेपाने पाउद्धार हँुदै किन्दु स्वाँत सडक जिल्ला तहबाट प्राथमिकतामा पर्न नसकेको स्थानीयले गुनासो गरे । पोखरेबगर हँुदै पाउद्धार गाउँ नजिकै पुगेर बजेट अभावमा सडक निर्माण कार्य अघि बढ्न नसकेको रहेछ । जिविस, गाविसको तुलनामा स्थानीयको धेरै गुणा बढी लगानी भएको यो सडकलाई पूर्णता दिई, स्तरवृद्धी गरेर सञ्चालन गर्न सकेमा त्यहाँका बासिन्दालाई धेरै सुबिधा पुग्छ ।
पर्वत लेकफाँट फलामेडाँडा हुँदै म्याग्दीको नागी, राम्चे, रिमा, टिकोट हुदै घराम्दी पुगेको सडकलाई घार र शिखसंग जोड्नुपर्ने माग स्थानीयले राखेका छन् । यो सडकले पनि धेरै सम्भावना र महत्व बोकेको छ । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दिको अभाव भएको र घेराबार नभएको समस्या धेरै ठाउँमा उठ्यो ।
चन्दा उठाएर निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन समुदायलाई धेरै भार परेको छ । विद्यालय परिसरमा घेराबार नहुँनाले बाहिरी व्यक्तिहरुले पठनपाठन प्रभावित गर्ने किसीमको क्रियाकलाप गरेको गुनासो पनि धेरै ठाउँमा सुनियो । राम्चेका बासिन्दाले स्वास्थ्य चौकी भवन निर्माणमा ढिलासुस्ती भएको विषयमा गुनासो गरे । सो भवनको माथि रहेको विद्युतको मुख्य लाईनका कारण दोस्रो तला भन्दा बढी ढलान गर्न समस्या हुने देखिएको छ ।
यसैगरी नांगीमा गत वर्ष खेलमैदान निर्माणका लागि आठ लाख रुपैयाँ अनुदानमा सुरु भएको योजनाले पूर्णता पाउन सकेको छैन् । महत्वाकांक्षी योजनाको रुपमा स्थानीयले अघि सारेको यो कामलाई पूर्णता दिन सकेमा सो क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने जनताको अपेक्षा छ ।
नयाँ संबिधान कार्यान्वयनका बिषयमा पनि यस क्षेत्रका बासिन्दाले चासो व्यक्त गरे । स्थानीय तह पुनसंरचना र संबिधान कार्यान्वयको विषयमा समेत अन्तरक्रियाको क्रममा जनतालाई बुझाउने प्रयास गरेको छु । राम्चे, नांगीका बासिन्दाले अन्नपूर्ण गाउँपालिकाको केन्द्र अपायक पर्ने गुनासो गरेका छन् । उहाँहरुले सम्भव भए पर्वतको लेकफाँट तिरै समावेश गर्नुपर्ने माग गर्नुभएको छ ।
बैदेशिक रोजगारी, अवसर, सेवा र सुबिधाको खोजीमा गाउँका मानिसहरु बसाईसराई गर्ने क्रम यो भेगको अर्को समस्याको रुपमा पाए । यो समस्या तत्कालै रोकीने र सुबिधा दिने सम्भावना देखिनैन । गाउँमा पुर्वाधार निर्माण र विभिन्न अवसर सिर्जना गरेर बसाईसराई गरेर बाहिर जाने अवस्थालाई कम गर्न सकिन्छ ।
भौगोलिक बिकटता र छरीएको बस्ती पनि यस क्षेत्रको विकासको लागि अर्को चुनौती हो । बस्तु स्थितीलाई बुझेर योजना निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्छ । गाउँका जनता र सरोकारवालाले व्यक्त गरेका सुझाव, सल्लाह र अपेक्षाहरुलाई गम्भिर रुपमा मनन् गरेको छु । जनताको समस्यालाई समाधान र अपेक्षालाई सम्बोधन गर्न जनप्रतीनिधिको हैसीयतमा सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउँदछु ।
गाउँ तथा गाविस स्तरमा अन्तरक्रियाका लागि संयोजन गर्नुहुने गाविस सचिव, स्थानीय स्तरमा क्रियाशिल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत राजनीतिक दलका प्रतिनिधि साथीहरु र भ्रमणमा सहभागि नेपाली काँग्रेसमा पार्टीका जिल्ला सभापति खम्बिर गर्बुजा, पुर्व सहसचिव अजयमिलन श्रेष्ठ, सदस्य कृष्णप्रसाद बरुवाल, महाधिवेशन प्रतिनिधि भरत रकाल र कार्यालय सचिव बिशाल खत्रीलाई धन्यवाद व्यक्त गर्दछु ।
मंसिर १४ गते बेनीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बानियाँले व्यक्त गर्नुभएको भनाईको सम्पादीत अंश ।