शिव सस्मित/विकल्प न्यूज
कार्तिक ४ गते ।
हामीकहाँ मुख्य गरी भौतिक पूर्वाधारको विकासलाई सामाजिक विकाससँग जोडेर हेर्ने चलन रहेको छ । त्यसपछि राजनीतिक, शैक्षिक, सांस्कृतिक लगायत अन्य पक्षहरु जोडिन आउँछन् । समाजसँग सम्बन्धित सबै पक्षहरुको विकासको समष्टिगत रुप नै सामाजिक विकास हो भन्ने कुरामा समाजका प्रबुद्ध व्यक्तिहरुको त ध्यान पुग्न सकेको देखिँदैन भने सामान्य मानिसको सोचाइ त्यहाँसम्म पुग्न सक्ने कुरै भएन । सबै पक्षहरुको समग्र रुप सामाजिक विकास हो भनिरहँदा सामाजिक विकासको मुख्य आधार मानवीय चेतनाको विकास हो भन्ने कुरा नकार्न मिल्दैन ।
मानवीय चेतनालाई समयानुकुल परिष्कृत गर्दै लैजाने विभिन्न माध्यमहरु रहेका छन् । मुख्य माध्यमका रुपमा भने शिक्षालाई लिइन्छ । विभिन्न तरिकाबाट आर्जित ज्ञानले मानिसको चेतनालाई फराकिलो बनाउँदै लैजान्छ फलस्वरुप समाज विकासको ढोका खुल्छ भन्ने आम बुझाइ र मान्यता रहेको छ । शिक्षा आधारभूत कुरा भए तापनि मानवीय धारणा र चेतनामा परिवर्तन ल्याउने सशक्त र प्रभावकारी माध्यम भनेको साहित्य नै हो ।
साहित्य यस्तो माध्यम हो जसले सरल, सहज, रोचक र शैलीगत ढङ्गबाट मानिसको मौजुदा धारणामा परिवर्तनको विजारोपण गर्दछ । साहित्य एक त्यस्तो मनोवैज्ञानिक मेसिन हो जसले मान्छेको चेतन, अचेतन मस्तिष्कमा रहेका विकारहरुलाई हटाएर दही मथेर नौनी निकालेझैं सोचाइलाई शुद्ध र सकारात्मक बनाउँछ । अनि मान्छे भएर जन्मिए पनि मान्छेलाई मान्छे बनाउँछ । समाज विकासको मान्यता अनुसार यो दिशमा नलेखिएको साहित्यलाई साहित्य भन्न सकिँदैन ।
साहित्यको विकास हुनु भनेको मानवीय चेतनाको विकास हुनु हो र मानवीय चेतनाको विकास हुनु भनेको समाजको विकास हुनु हो भन्ने कुरालाई आत्मसात गरिसकेपछि समाज विकासमा चिन्ता र चासो लिनेहरुले साहित्यको विकासमा समेत ध्यान दिनु अत्यन्त आवश्यक छ । हाम्रो समाजमा साहित्यप्रति रुचि नभएर हो या साहित्यकर्मीहरुले समाजलाई बुझाउन नसकेर हो साहित्य र साहित्यकर्मीलाई समाजले उपेक्षा गरेको पाइन्छ । सरकारी, गैरसरकारी र विकासे अड्डाहरुले विभिन्न अनुत्पादक शीर्षकमा रकम खर्च गर्ने तर साहित्यिक सङ्घसंस्था र साहित्यकर्मीहरुको प्रोत्साहन हुने गरी ठोस योजना ल्याउने र कार्यान्वयन गर्नेतर्फ त्यति ध्यान दिएको देखिँदैन ।
साहित्यको विकासका लागि साहित्यकर्मीहरुले आआफ्नो ठाउँबाट विभिन्न कार्यहरु गरिरहेका हुन्छन् । विभिन्न साहित्यिक सङ्घसंस्थाहरु स्थापना गर्ने, संस्थागत रुपमा विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्ने, एकै ठाउँमा जम्मा भई साहित्यिक सिर्जनाहरु एक आपसमा सुन्ने सुनाउने र कुनै माध्यमबाट समाजका अन्य सदस्यहरुलाई समेत साहित्यिक खुराकहरु पस्कने कार्य गरिराखेका हुन्छन् । यसरी हेर्दा मन्द रुपमा मानिसको चेतनालाई परिष्कार गर्ने कार्यमा साहित्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो कुरा समाजले समयमै बुझेर साहित्यकर्मीहरुलाई हौसला र प्रोत्साहन गर्नु आजको आवश्यकता हो ।
म्याग्दी जिल्लाको साहित्यलाई नियाल्दा पछिल्लो पटक निकै रचनात्मक गतिविधिहरु सञ्चालन भइरहेका छन् । जिल्लामा संस्थागत रुपमा स्थापित सबैभन्दा अग्रज साहित्यिक संस्था म्याग्दी साहित्यिक समाज त्यसपछि पौलस्त्य साहित्यिक समाज, मधुस्मृति साहित्य प्रतिष्ठान, नन्दकला–हरिलाल स्मृति प्रतिष्ठानलगायतका सङ्घसंस्थाहरुमध्ये कतिपय अस्तित्वमा छन् भने कतिपय नरहेको पाइन्छ ।
सक्रिय रहेका दुईवटा साहित्यिक संस्थाहरुले जिल्लाको साहित्यिक विकासमा अग्रणी भूमिका खेलिरहेकै भए तापनि पछिल्लो पटक स्थापना भएका सुवासना साहित्यिक सदन र म्याग्दी साहित्य सञ्चारले निकै नौला र सिर्जनात्मक कार्यहरु गरेर साहित्यको विकासमा अत्यन्त ठुलो भूमिका खेलिरहे । यी संस्थाहरुले आञ्चलिक र राष्ट्रिय रुपमा ख्यातिप्राप्त साहित्यकारहरुलाई जिल्लामा ल्याउने, अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने, कृति समीक्षा गराउने र अनुज स्रष्टाहरुलाई प्रोत्साहन गर्ने जस्ता रचनात्मक गतिविधिहरु सञ्चालन गरी जिल्लालाई नै राष्ट्रिय स्तरमा चिनाउन हरयत्न गरे र यस्ता प्रयासहरु निरन्तर जारी छन् । हालसालै यी दुई संस्था एकीकृत भएका छन् । साहित्यकर्मीहरु र साहित्यिक संङघसंस्थाबीच हुने गुट उपगुट, व्यक्तिगत ‘इगो’ को संस्कारलाई चुनौती दिंदै एकीकृत भएका यी दुई संस्थाहरुले यस्तो साहित्यिक कुसंस्कार बोकेर हिँड्नेहरुलाई गतिलो पाठ पढाउन सफल भएको कुरा नकार्न कसैले मिल्दैन । यो अत्यन्त सकारात्मक पक्ष हो ।
फुटेर होइन जुटेर मात्र साहित्यको विकास गर्न सकिन्छ र साहित्यको विकास मार्फत् समाजको विकास गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न खोज्नु अत्यन्त सह्राहनीय कुरा हो । देशभरका साहित्यिक संस्थाहरुका लागि यो मननीय र स्तुत्य कार्य हो । त्यसैगरी केन्द्रको शाखा विस्तार गर्ने क्रममा म्याग्दी जिल्लामा पनि गठन भएको कान्छो साहित्यिक संस्था हातेमालो साहित्य प्रतिष्ठानले छोटो समयमै सिर्जनात्मक र सामाजिक कार्यहरु, जस्तै रक्तदान, वृक्षारोपण र अन्य साहित्यिक कार्यक्रमहरु सञ्चालन गरी आफ्नो पहिचान स्थापित गर्न लागि परेको छ । यो संस्थाले सञ्चालन गरेका गतिविधिहरुले निरन्तरता पाएमा समाज विकासमा ठुलै योगदान पुग्ने देखिएको छ । यसरी हेर्दा साहित्यकर्मीहरु र तिनीहरुका सामूहिक सङ्घ संस्थाहरुले साहित्यको माध्यमबाट समाजमा चेतनाको दियो बाल्ने र विकासका लागि अन्य पक्षहरुलाई उज्यालो देखाइदिने काम गरिरहेका छन् भन्न कसैले अब हिच्किचाउनु पर्दैन ।
अब कडाइका साथ भन्नुपर्छ, समाजका अन्य चेतनशील वर्गले साहित्यकर्मीहरु लहडी हुन् र तिनीहरुले लहडमा के के कामहरु गर्छन्, जे गर्छन् आफ्नै लागि गर्छन् भन्ने सोचाइ राख्दछन् भने यो साँघुरो सोचाइ हो । तिनीहरुले यस्तो सोचाइ तत्काल बदल्नुपर्दछ । साहित्य समाजका लागि हो, समाज हामी सबै मिलेर बनाउने हो भन्ने सोचाइ राखेर अब साहित्यकर्मी र साहित्यिक सङ्घसंस्थाहरुलाई माया गर्न सिक्नुपर्दछ । साहित्यकारहरुका सिर्जनाहरु मन दिएर सुनिदिने, उनीहरुका कृतिहरु प्रकाशनमा सहयोग गर्ने, कृतिहरु किनेर पढिदिने र कुनै न कुनै रुपमा उनीहरुलाई प्रोत्साहन गर्ने कार्य गर्नुपर्दछ । साहित्यको विकास हुनु भनेको समाजको विकास हुनु हो र समाजको विकास हुनु भनेको आफू र आफ्नो भावी पिँढीको भविष्य सुन्दर हुनु हो भन्ने धारणा राजनीतिकर्मी, विकासकर्मी, सरकारी–गैरसरकारी संस्थाहरु र सबै पक्षले बनाउन सक्नुपर्दछ । सबैमा यस्तो धारणा बन्न सकेमा र साहित्यलाई हृदयदेखि नै माया गर्न सकेमा साँच्चिकै समाज विकासको ढोका खोलिने कुरामा कसैको दुईमत नहोला । नवविकल्प विशेषाङ्कमा प्रकाशित