चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
भदौ २३ गते ।
भदौ १६ मोतिराम जयन्ति ! अर्थात यो वर्षको “कुसे औशी” ! यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा पनि लोकपरिचित हुदै जान थालेको छ । संयोग ! प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा ऋगवेदको थोत्रो भैसकेको पुस्तक पल्टाउँदा किताबको कापमा ठुलोदाज्यू लालबहादुर बानियाँको पुरानो फोटो फेलाप¥यो । बाबुपछिको पूजनीय दाज्यू ! फरक सन्दर्भमै भए पनि शुभपर्वमै दर्शन मिल्यो । मन भरिएर आयो ।
आँखा रसाए । क्षणभरका लागि गला अवरुद्ध भएजस्तो लाग्यो । “दाज्यूको देहावसान भएको ठ्याक्कै कति भयो” भनेर छोरीलाई सोधेँ । पुरै सातवर्ष बितिसकेछ ! मेरो दाजू मेरो मात्रै होइन, सिंगो गाउँको अविभावक हुनुहुन्थ्यो । खोइ, अब त मेरा दाजूलाई सम्झने मान्छेहरु गाउँमा होलान कि नहोलान् कुन्नी ? भए पनि औलामा गन्न सकिने संख्या मात्र बाँकी होला । अलिकता जान्ने बुझ्ने मान्छेलाई गाउँघरमा भलाद्मीको नाम दिने चलन छ । वास्तवमा भलाद्मीहरुको जीवनको अधिकाँंश समय गाउँलेहरुको सेवा सहयोगमै बित्छ तापनि गाउँलेहरुको सत्तोसराप खाने पनि उनीहरु नै हुन्छन । स्वभावतः हरेक मानिसमा मानवीय गुण अवगुणको संगम रहन्छ नै ।
न कोही सर्वाङ्ग सुन्दर हुन्छ न कोही सर्वगुणसम्पन्न नै हुनसक्छ ! गुणावगुण स्वाभाविक मानवीय चरीत्र हो । सबैका लागि “आँखामा राखे पनि नबिझाउने” हुनका लागि त भगवान बुद्धले झै “बोधीसत्व” प्राप्तगर्न सक्नुपर्छ । होइन भने सामाजिक जीवन जिउनेहरुले गाली पचाउन पनि सिकनै पर्छ । ताली र गाली खानु त स्वाभाविक हो । प्रथमतः गाउँलेले पत्याउने हैसियत आर्जन गर्न सजिलो छैन । मेरा दाजु जहाँसम्म पुग्नु भो, जुन सामाजिक स्थान बनाउनु भो, त्यसका निमित्त ठूलै संघर्ष गर्नु भएको थियो ।
पुलामा सबभन्दा पहिले एस.एल.सी. पास गरेको कीर्तीमान कायम गर्ने मेरा दाजुको शिक्षाआर्जनको जिविविषा कति कष्टपूर्ण थियो भनेर आज अनुमान गर्न कठिन हुन्छ । शिक्षाको उज्यालो घामको दर्शनका लागि उठाएका कष्ट र गरेका संघर्षका परिघटनाहरु दन्य कथाजस्ता लाग्छन् । घरबाटै सुरु भएको प्रारारम्भिक शिक्षाले पूर्णता मल्लाजको ४÷५ वर्षको बसाईबाट पाएको थियो रे ! त्यो जमानामा सिंगो पुला अर्थात पातलेखेत, घतान, अर्थुङ्गे, पुलाचौर र सिंगाले ओगटेको भूगोलमा कतै प्रारम्भिक पाठशाला समेत थिएन । बरु पारी बेनीमा भने स्कुूल थियो रे ! मल्लाज पछि पारी वेनीस्थित स्कुलमा पनि केही समय अध्ययन गर्नु भएको थियो रे । मैले देखिजान्ने कुरा भएन । सुनेको मात्र हो ।
विद्याको भोकले कुदाएको बाहुनको छोरो वनासर वा हरिद्वार तिर पुग्ने जमानामा घरबाट भागेर हिँडेका दुईजना क्षत्रीका छौंडाहरु गोर्खाभर्तीका लागि कुनाघाट जानुपर्नेमा काठमाडौं तिर हानिएको घटना समाजका लागि अपत्यारिलो हुने नै भो । शिक्षा आर्जनका लागि घरको पूर्व सल्लाह सहमतिविना भागेर काठमाडौं पुग्ने मेरा दाजुका साथी माननीय सांसद रेशमबहादुर बानियाँका पिताश्री हुनुहुन्थ्यो रे । अर्थात विद्याको भोकले एकजोडी लालबहादुरलाई बहकाउँदै काठमाडौं पु¥याएको थियो । दुई दुईवटा विवाह गरिसकेको लक्का जवानलाई माध्यकिम शिक्षा आर्जनको तिर्खाले नेपाल खाल्डोको दर्शन गराएको थियो । लेखपढ गर्न कठिन भएर हो वा काठमाडौंको जाडो खप्न नसकेर हो कुन्नी हजुर्बा लालबहादुर पढाई छोडेर घर फर्कनु भयो । लगत्तै गोर्खा राइफलमा भर्तीहरु हुन रुचाउनु भयो । मेरा दाजुले भने काठमाडौंको तत्कालीन समयमा नाम चलेको सरकारी स्कुल “जेपी हाईस्कुल”मा आठ कक्षामा भर्ना भएर पढाई सुरु गर्नु भएको थियो रे !
यतिबेला वेनीमा ६÷६ वटा माध्यमकि विद्यालयहरु छन् । चारवटामा त १२ सम्मकै पढाई हुन्छ क्या रे । एउटा प्राइवेट स्कुलमा डिप्लोमाको समेत पढाई हुन्छ । अर्को एउटा ढिप्लोमाको पढाई हुने त्रिविको आङ्गिक क्याम्पसमा स्नातकोत्तरको पढाई सञ्चालन गर्ने तयारी पनि चल्दै छ क्या रे । तयारी नभए पनि चर्चा भने चलेजस्तो लाग्छ । वेनीको आजको यो शैक्षिक वातावरण देखे भोगेको मान्छेलाई ५०÷५५ वर्ष अघि वेनीमा प्राइमरी स्कुल पनि थिएन होला भनेर पत्याउन गाह्रो पर्ने नै भो । बरु पारी वेनीमा स्कुल थियो, वारी वेनीमा थिएन भनेर पत्याउन जोकोहीलाई पनि गाह्रो पर्छ । वेनीको शैक्षिक जागरण तिनताका कल्पनै गर्न नसकिने गरी तन्नम थियो । वेनीको प्रकाश माध्यमकि विद्यालयबाट पहिलो व्याचको एस. एल. सी. २०२४ सालमा निस्केको हो ।
माथि मेरा दाजुले शिक्षाआर्जनका लागि गरेको संघर्षको कथा सुनाउनुको प्रयोजन सिंगो म्याग्दीको शैक्षिक पछौटेपनको इतिहासको जानकारी गराउनुसँग सम्बन्धित छ । राणा शासनको अन्तपछि झण्डै एकदशकसम्म वेनीमा स्कुल पाठशाला खुलेका थिएनन । वेनीमा मात्रै होइन, सिंगो म्याग्दी जिल्लाले शैक्षिक संस्थाको मुख देख्ने सौभाग्य पाएकै थिएन । वि.सं. २०१२÷१३ वा ०१४ सालतिरको कुरा होला । दर्वाङ्ग निबासी समाजसेवी सरेबहादुर शेरचन (माओवादी कार्यवाहीमा मारिने होइनन नी !) ले शिक्षामन्त्रालयबाट म्याग्दी भेकका लागि दशवटा प्राइमरी स्कुलहरुको स्वीकृति गराएर स्कुलको स्वीकृति र शिक्षक समेत काठमाडौंबाट लिएर आएछन् । उनैले वेनी, सिंगा र पुलाचौरमा १÷१ वटा स्कुल दिएर छोडेका हुन् । एउटा दरबाङ्गमा राखेहोलान, बाँकी छ वटा कुन कुन गाउँतिर बाँडे कुन्नी ? त्यसरी बल्ल वेनीमा पहिलो स्कुल खुलेको हो ।
०१५ सालमा स्थापित भएको काँग्रेसको सरकार ०१७ सालमै ढल्यो । संसदीय व्यवस्था समेत उखेलियो । स्कुल स्थापना भएको झण्डै एक दशकपछि अर्थात पञ्चायती व्यवस्था प्रारम्भ भएपछि पनि निकै मुश्किलले वेनीमा निमावि कक्षा सञ्चालन भएको हो । २०÷२१ सालतिर कता हो, तत्कालीन शिक्षा सहायक मन्त्री राजेश्वर देवकोटाको स्वागतका लागि म्याग्दीको सदरमुकाम वेनीमा आयोजित सभामा हाइस्कुलको माग गर्न भनेर उभिएका सञ्चालक समितिका अध्यक्ष हरिनारायण भट्टचनले हडबडीमा प्रकाश मिडिल स्कुललाई निम्न माध्यमिक विद्यालयमा स्तरोन्नति गरिदिनु प¥यो भनेर गरेको सार्वजनिक निवेदनले तरङ्गित बनाएको सभालाई शिक्षामन्त्री देवकोटाले “मुलुक गरीब भएको हुनाले मागेर सरकार चलाउनुपर्ने अवस्था छ । कति विदेशीहरुसँग हात थापी रहने ? लाजमर्दो भैसक्यो । म्याग्दीबासीले सरकारबाट अपेक्षा राख्नु स्वाभाविक भए पनि तत्काल स्कुलको थप आर्थिक भार बहन गर्न सक्ने अवस्थामा सरकार छैन ” भनीदिनाले वेनीबासीलाई थप निराश बनाएको थियो ।
यथार्थमा वेनीमा पहिलो स्कुल स्थापना गर्ने शुभकार्यको श्रेय सेरबहादुर शेरचनजीलाई जान्छ । अवश्य, त्यो कुराको जानकारी राख्ने मानिसहरुको अनिकाल वेनीमा परिसकेको नहुनुपर्ने हो । तर कहिल्यै कुनै सन्दर्भमा पनि सेरचनजीको नाम स्मरण वेनीको समाजले गरेको सम्झना मेरो स्मरणमा छैन । सेरबहादुरलाई वेनीले बिर्सेको मात्रै होइन, कहिल्यै सम्झेको र गुन मानेको जस्तो लाग्दैन । न सिंगाले सम्झन्छ न पुलाचौरले स्मरण गर्छ । स्कूल संस्थापकको नामसूचिमा अरुहरुकै नाम चढेको देखिन्छ । वेनीका हरिनायण भट्टचन, पुलाचौरका डेकबहादुर बानियाँ र सिंगाका “तपाली” भनेर चिनिने एकजना भलाद्मी चुरेटा तिनताका समाजमा चिनिएिका काँग्रेसी कार्यकर्ता थिए । सेरबहादुरजी त काँग्रेसका ठुलै नेता हुन भनिदिँदा फरक पर्दैन । ०१५ सालको निर्वाचनमा काँग्रेसको तर्फबाट ८७ नं निर्वाचन क्षेत्रको उमेदवारीको टिकट समेत उनैले पाएका थिए ।
पछि योगेन्द्रमान सेरचनलाई कास्की पोखरामा टिकट मिलाउन नसक्दा विपी कोइरालालाई परेको अप्ठेरो फुकाई दिनका निमित्त पाइसकेको टिकट पार्टीलाई फिर्ता गर्ने उदारता देखाएका हुन । हा,े त्यही काँग्रेसी हैसियतले सेरबहादुरले खल्तीमा राखेर ल्याउन र बाँड्न मिल्नेगरी म्याग्दी खोलाको लागि दशवटा स्कुलहरुको एकैसाथ स्वीकृति आएको हो । र त्यही काँग्रेसी नाताले हरिनायण, डेकबहादुर र तपालीजस्ता आफ्ना कार्यकर्ताहरुलाई आ–आफनो गाउँमा स्थापना गर्नेगरी सेरबहादुर सेरचनबाट स्कूलको स्वीकृति “उपहार” मिलेको हो ।