माईका मन्दिरहरु किन गाउँको बीचमा बनाइदैनन् !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
भदौ ६ गते ।
chandraपुलस्त्य–पुलह ऋषिद्वयको आश्रमलाई “पुला” भनियो । तिनताका अवश्य अहिलेजस्तो बाक्लो बस्ती थिएन । जनसंख्या बढदै गयो, पुलाको गाउँ पनि विस्तारित हुदै गयो । वारी पारीका मानिसहरुले पुला भनेर चिन्ने क्षेत्र अहिलेसम्म पनि निकै ठूलो छ । मल्लाज, ज्यामरुककोट, कुहुँ, वरांजा, भकिम्ली वा राखुतिरका मानिसहरुले वाखेत, घतान, पुला, सिंगा, अर्थुङ्गे समतेलाई पुला भन्दैछन् । प्रारम्भमा पुला नामाकरण भएको क्षेत्र अवश्य ठूलो थिएन । पहिले पुला नाम पाएको ठाउँ “पुलाधारा” होला ।

त्यसलाई पुलाडाँडा पनि भनिन्छ । तर पछिल्लोपटक पञ्चायतले कोरीदिएको पुलाको सिमाभित्र डडुवा, काउले, चिप्लेटी, नयाँगाउँ, पुलाचौर, पुरुन्डिही, अवेचेौर, कुमाल्डिही, फुर्केसल्ला, कोटसाँघु आदि अनेक गाउँबस्तीहरु रहेका छन् । गाउँ ठाउँले पाएका ती नामहरु स्थानविशेषको विशेषताकै आधारमा रहेका हुन । कुमाल्डिही देखि आरनसम्मका सबै बस्तीहरुलाई सगोलमा “भिरिमुनी” भनेर चिनिन्छ । उसो त अधिकांश पहाडी गाउँबस्तीहरु भिर, कान्ला, पाखा, पखेरोमै बसेका छन ।

तैपनि हाम्रो गाउँको नाम भिरमुनी कसरी रहयो होला भनेर गाउँको भौगोलिक अवस्थितिसँग अपरिचित मानिसका मनमा जिज्ञासा उतपन्न स्वाभाविक हुन्छ । तर किन कसरी भनेर माथापच्ची गर्नै पर्दैन । प्रचलित नाउँबाटै गाउँको शिरोभागमा अवश्य भयङ्कर भीर पहरो छ भन्ने अनुमान जस्ले पनि गर्नसक्छ । यद्यपि “मल्कवाङ” को मलम्पार वा “पाखापानी”को कोटगाउँजस्तो हिमालको टुप्पोबाट गुडुल्किएको ढुङ्गो घरको छानामै बजारिने अवस्था त छैन तापनि गाउँको माथितिर हेर्दा टोपी खस्ने भीर दृष्टिगोचर हुन्छ ।

आज अलि फरक प्रसङ्गमा चर्चा गर्ने सन्दर्भमा गाउँको नामाकरणको कुरो कोटयाइएको हो । भिरमुनीको विस्तारमा आन्तरिक र वाह्य बसाई सराईले महत्वपूर्ण स्थान राख्दै आएको छ । हामी छ भाइ बहिनीहरुमध्ये पछिल्ला तीनदजना कुमाल्डिहीमा र अघिल्ला तीन भाई भिरमुनीमा जन्मेका थियौ रे ! संयोगवस कालगवलित हुन बाँकी दुईजना मध्ये एकजना कुमाल्डिही र अर्को एकजना भिरमुनीमा जन्मेका भाइहरु जीवित छौं ।

आरनटोलदेखि फुर्केसल्ला, मरुवा र विमिराबोटसम्मको कुरा गर्ने हो भने फरक फरक ठाउँबाट मानिसहरु बसाई सरेर आएका हुन भन्ने कुरा प्रमाणित गर्नका लागि जात, थर, गोत्र बाहेक अर्को एउटा बलियो उदाहरण पनि भेटिंदो रहेछ । त्यो भनेको “माईको स्थान” हो । खासगरेर खस समाजको प्रभुत्व रहेको हरेक गाउँको छेउछाउतिर कमसेकम एउटा “माईस्थान” अवश्य भेटिन्छ । त्यस्तो स्थान, माडौं वा मन्दिर गाउँबाट अलि टाढा एकलासतिर स्थापित गरिएको हुन्छ । भिरमुनीमा भने कमसेकम तीनवटा अलग अलग माईस्थानहरु रहेका छन् ।

अवश्य ती माईस्थानहरु अलग ठाउँबाट बसाईसराई गरी आउनेहरुले आ–आफ्नो सुविधा र पायक हेरेर स्थापना गरेको हुनुपर्छ । त्यसैले ढुक्कसँग भन्न सकिन्छ कि भिरमुनी एउटा “छपाली” वस्ती हो । हुन पनि यो एउटै गाउँमा दमाई, सार्की, कामी, क्षत्री, बाहुन, ठकुरी देखि मगरसम्मको मिश्रित आवादि रहेको छ ।

आजको समयसम्म आइपुग्दा सबै माईस्थानहरु वैदिक परम्पराका देवीहरुका मन्दिरमा रुपान्तरित भएका छन् । ठूलो दशै र रामनवमी अर्थात चैते दशैमा पूजा दिइने नयाँ परम्परा बसेको छ । दुर्गाकवच वा सप्तसती चण्डीमा दिइएका श्लोकहरु भट्टयाएर देवीको पूजा गर्ने गरिन्छ । कुनै कुनै मन्दिरहरुमा त दैनिक पूजाको व्यवस्था समेत भएको छ । तर खोजी गर्दैजाँदा हरेक खस गाउँ वरपर रहने “माईस्थान” की देवी “माई” को वैदिक देवी दुर्गासँग गोरुबेचेको साइनो सम्बन्ध जोडिँदो रहेनछ भन्ने तथ्य स्पष्ट हुदो रहेछ । सालवसाली दिइने “माईपूजा” कुलपूजा जस्तै खस जातिको मौलिक परम्परा रहेछ । खस देवी माई पनि देवी त हुन तर देवीभागवत वा अन्य वैदिक साहित्यमा उल्लेख भएकी महिषमर्दिनी देवी काली भने होइनरहिछन् । वैदिक परम्परासँग सम्बन्ध नराख्ने मष्ट, वराह, भूमी, जालपा, कालिका, मालिका, भुरुचुनी, झाँक्री, दुखालु, वायु, वाहन जस्तै माइपूजाको परम्परा पनि खस समाजमा विकास भएको मौलिक परम्परा रहेछ ।

हाम्रो गाउँको मध्यभागमा एउटा पुरानो “माईस्थान” रहेको छ । गाउँ विस्तारको क्रममा बस्ती क्रमशः तल झर्दै गयो र औलो उन्मूलन हुनपूर्व बस्तीसून्य रहेको कोटसाँघुसम्म फैलियो । अवश्य पनि त्यो माईस्थान माथिबाट तलतिर सक्रमित हुदै आएको गाउँको पुछारमै स्थापना गरिएको हुनुपर्छ । गाउँबस्ती झरेर तल वेँसीसम्म पुग्नाले माईस्थान मध्यगाउँमा रहन गएको हो । त्यो माईस्थान वरपरको वस्ती टोललाई आजकाल “भन्पुन्ने” भनेर चिनिन्छ । दुरुस्तै त्यही नामको अर्को एउटा टोल अर्थुङ्गेमा पनि छ ।

देवीका सय नाममध्येको एउटा “भवानी” पनि हुने भएकोले “भवानी पुज्ने” भन्ने शब्दावलीको अपभ्रंश भएर भवानी पुन्ने वा भन्पुन्ने भएको होलाजस्तो लाग्दथ्यो । तर वास्तविकता त्यस्तो होइन रहेछ । बुढापाकाहरुले “भ्वानीपुन्ने” भन्ने गरेको सुनिन्थ्यो । वास्तवमा शब्दावलीको सुद्ध रुप त्यही पो रहेछ ! सिंजा उपत्यकाबाट पूर्वतिर संक्रमित हुदै आएका खसहरुले आफूसँग, भाषा, संस्कृति, संस्कार, परम्परा र देवता समेत साथै लिएर आए र जहाँ जहाँ बस्ती बसाले ती ठाउँहरुमा देवता पनि स्थापना गरे ।

मष्ट, झाँक्री, वायु, दोखला आदि खसपरम्पराका देवी देवताहरु हुन । हृदयघातले कसैको अकस्मात ज्यान लियो, औषधि उपचार र हारगुहार नपाउने स्थिति उत्पन्न भयो भने कुनै देवताले “वान” हानेको हो भन्ने चलन थियो । वैदिक देवताहरु विष्णुको गरुड, महादेवको नन्दी, गणेशको मुसा, इन्द्रको हात्ति वाहन भएजस्तै पश्चिमको खस समाजमा देवताहरुका अनेक वान, अर्थात “वाहन” हुन्छन् भन्ने मान्यता जीवित छ ।

स्थानीय उच्चारणमा वाहनलाई “भा..न” भनिदो रहेछ । त्यही भान् जुम्ला डोटी देखि म्याग्दी पर्वत, कास्की गोर्खासम्म आइपुग्दा वान्मा रुपान्तरित भएको रहेछ । रिसाएका देवताले छोड्ने वान भनेको तीर अर्थात वाण नभएर वाहन अर्थात भान रहेछ । जसरी वान भनेको वाण होइनरहेछ, त्यसैगरी भवानीपुन्ने पनि भवानीपुज्ने होइन रहेछ । बरु भवानी पुन्नेको सट्टा डोटेली लवजमा “भ्वानी पुन्या” हुदो रहेछ । असुद्ध उच्चारण गरिदै आएको होला भनेर गरिएको अनुमान गलत रहेछ । भ्वानी र पुन्ने दुबैको रुप विल्कूल सुद्ध रहेछ । त्यसलाई असुद्ध ठान्ने नादानी बरु आफैले गरिएको रहेछ ।
अब एकै छिन माईको रुपमा पुजिने देवीको कुरा गरौं । विफर, पानीसरा, ठेउलाजस्ता रोगहरु संक्रामक हुन्छन । तिनको वैज्ञानकि औषधि पत्तो नलाग्दासम्म ती ज्यानमारा महामारी मानिन्थे । विफरबाट संक्रमित हुनुलाई “माई उछर्«नु” भनिन्थ्यो । अर्थात ज्यानमारा विफरलाई माईको प्रकोप मानिन्थ्यो । देवी रिसाएका कारणले विफरादि संक्रामक रोगहरु फैलन्छन भन्ने मान्यता तत्कालीन समाजले राख्दथ्यो ।

संक्रामक रोगको महामारीबाट गाउँलाई मुक्त राख्नका लागि हरेक वर्ष माईको पुजा गरिन्थ्यो । अर्थात पूजा मनितो गरेर देवीलाई खुसीपार्ने प्रयत्न गरिन्थ्यो । २०÷२५ वर्ष अगाडिसम्म त्यो परम्परा खस समाजमा प्रचलित थियो । घरगन्तीका हिसाबले पूजा सरजाम जुटाएर भव्य जुलुसले गाजावाजा सहित गाउँलाई छेको हालेर (परिक्रमा गरेर) गाउँदेखि अलिपर पुगेपछि माईको स्थापना गरिन्थ्यो, पूजा दिइन्थ्यो । पूजा दिइसकेपछि त्यसरी छेको हालिएको गाउँभित्र माईको प्रकोप छिर्दैन भन्ने मान्यता राखिन्थ्यो ।

समयपुजाको नामले् समेत चिनिने त्यो पूजापरम्परा वास्तवमा आदिम समाजले विकास गरेको प्रतिरोधात्मक उपचारको एउटा काल्पनिक विधि थियो । हरेक वर्ष दिइने त्यही समय पूजाको लागि गाउँको किनारातिर स्थापना गरिने माईस्थानले नै स्थायी मन्दिरको रुप लिएको हुनसक्छ ।

अथवा सालिन्दै पूजादिने गरिएको ठाउँलाई स्थायी माडौेंको रुप दिएको पनि हुनसक्छ । पछि तीनै माईस्थानहरु वैदिक देवीका नाममा अतिक्रमित भए होलान् । हरेक वर्षमा एक एकपटक पूजा दिने खसदेवी “माई” हरु अब वैदिक देवीमा रुपान्तरित भएका छन् । सांस्कृति अतिक्रमणको परिणामस्वरुप आफ्नो मौलिक मान्यता विस्थापित भैसकेको भए पनि “माईस्थान” हरुको अस्तित्व गाउँ गाउँमा बाँकी छ । कमसेकम एउटा माईथान नभएको खस गाउँ सायदै एउटै होला । र ती माईको स्थापनाको साइनो सम्बन्ध वैदिक देवी दुर्गासँग छैन भनेर पत्याउने मान्छे पनि सायदै फेला पर्ला !