म्याग्दीमा स्थानीयतको पुनःसरचना गर्दा अपनाउनु पर्ने सतर्कता

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
म्याग्दी,साउन २४ गते ।
chandraमुलुकभर यतिबेला स्थानीय तहको सिमाङ्कन र विभाजनको बहस चलिरहेको छ । वास्तवमा पुनर्संरचना भनिए पनि गर्नखोजिएको कुरा नयाँ संरचना निर्माण गर्नु नै हो । देशको संघीय ढाँचामा पुनर्संरचना गर्ने राजनीतिक उद्देश्यको अवधारणाले त्यसै भन्छ । तर व्यवहारमा पुरानो जिल्लाको संरचना यथावत राख्ने निर्णय भएपछि स्वभावतः त्यो अभियान पुनर्संरचनामा खुम्चन गएको छ भन्नु बढ्ता हुदैन ।

गाउँ र जिल्लास्तरमा हुने गरेका छलफल, पत्रपत्रिका छापिने आलेखहरु र सामाजिक सञ्जालहरु मार्फत हुन थालेका विचार विनिमयलाई हेर्दा म्याग्दीले पनि देशभर निर्माण भएको त्यो लहरमा उत्साहका साथ भाग लिन थालेको छ भन्नुपर्ने हुन्छ । म्याग्दीमा देखिएको त्यो जागरणमा आफूलाई सहभागि बनाउने सन्दर्भमा पुरानो इतिहास स्मरण गर्नु आवश्यक नभए पनि व्यर्थ पनि हुँदैन जस्तो लाग्छ ।

वि.सं. २०१८ सालको जिल्ला विभाजन सिमाङ्कनबाट म्याग्दीले अलगै जिल्लाको मान्यता पाएको हो । पहिले यो इलाका पाल्पा जिल्ला (गौडा) अन्तर्गतको भूभाग थियो । पछि जिल्ला पर्वत भयो र गौडा (जिल्ला सदरमुकाम) बाग्लुङ्गमा रहँदै आएको थियो । जिल्लाको मान्यता पाएपछिको म्याग्दीको सिमाना उत्तरमा राहुगाड र पूर्वमा कालीगण्डकी वारीका २१ वटा गाउँ पञ्चायतमा सिमित गरिएको थियो ।myagdi-2अहिलेका पातलेखेत र घतान, सिंगा र पुला, झीँ र पाखापानी, कुहुँ र बावियाचौर, लुलाङ र गुर्जा विभाजित थिएनन । त्यतिबेला प्रत्येक गाउँपञ्चायतबाट एक एकजना प्रतिनिधि(जिसस) चुनिएर आउँथे र तिनै जिससहरुले आफूमध्येवाट ११ सदस्यीय जिल्ला पञ्चायतको निर्वाचन गर्थे । म्याग्दीको पश्चिमी भेकमा सेरबहादुर सेरचन, दिपबहादुर खड्का, दीर्घनारायण गौचन, झकबहादुर सेरचन, पदमबहादुर खत्री जस्ता दिग्गज पञ्च हस्तीहरु राजनीतिमा सक्रिय थिए ।

रहनसहन हिमचिमका हिसाबले पुलाका डेकबहादुर र लालबहादुर बानियाँहरु पनि त्यही समूहमा सामेल थिए । उत्तरी खण्डतिर एक्ला भीमप्रसाद गौचन थिए । जिल्ला पञ्चायतको दोश्रो निर्वाचनबाट राजनीतिमा होमिएका भीमप्रसाद गौचनलाई जिल्ला राजनीतिमा दरो खुट्टो जमाउनका निमित्त कित तिनै हस्तीहरुसँग सहकार्य गर्नु पथ्र्यो कि अर्को कुनै तिकडदम रच्नुपर्ने अवस्था थियो ।

प्रारम्भमा उनले सेरबहादुर सेरचनलाई गुरु थापेर पञ्चायतको राजनीति सुरु गरेका हुन । तर उनीहरुका अगाडि आफू जुनिएर रहेको हिनातबोधबाट मुक्ति पाउनका लागि गौचनले नयाँ रकमी जालसाँज प्रारम्भ गरे । जिल्लास्तरको राजनीति गरुन्ज्याल सभासदहरुको किनबेचबाट जिल्लाको नेतृत्व हत्याउन सफल भएपनि जिल्ला पञ्चायतको बहुमत सधै विपक्षमा अर्थात पश्चिमको हातमा जान्थ्यो । गौचनले आफ्नो पहुँच कसैगरी केन्द्रसम्म पु¥याउन सफल भएपछि कमजोर राजनीतिक स्थिति सुधार्नका लागि आफू अनुकूलका गाउँ पञ्चायतहरुको पुनर्संंरचना गर्ने षडयन्त्रमा सफलता पाए ।

पाखापानी एउटै गाविसलाई पाखापानी, कोटगाउँ र झीँ समेत तीनवटा गाउँपञ्चायत बनाइयो । पातलेखेत र घतानलाई अलग गरियो । पुलाबाट सिंगा र कुँहुँबाट बावियाचौरलाई अलग गरियो । विमबाट दर्वाङ्कलाई छुट्याइयो । बराञ्जा, रुम, अर्मन, ताकम जस्ता ठूला गाविसहरुलाई भने यथावत राखिएको मात्र होइन आफ्नो पक्ष सुदृढ गराउने उद्देश्यबाट उसै ठूलो रहेको तामकमा मुनाको मच्छिमलाई गाभियो ।1यसरी आफ्नो पक्षमा बहुमत जिससहरु निर्वाचित हुने परिस्थिति निर्माणका लागि कतै एउटा गाउँको मात्र गाउँ पञ्चायत र कतै अर्मनजस्ता आठ÷दश गाउँहरुको गाउँपञ्चायत बनाइयो । त्यतिबेलाको पुनर्संरचनामा नत जनसंख्यालाई आधार बनाइएको थियो न भौगोलिक सुगमतालाई दृष्टिगत गरिएको थियो । त्यतिबेला विभाजित गरिएका गाउँपञ्चायतमध्ये जनसंख्याको दृष्टिले साना भए पनि गुर्जा र लुलाङ्गलाई अलग बनाउने चेष्टाको मात्र औचित्य पुष्टि गर्ने आधार थियो । बाँकी सबै नितान्त व्यक्तिगत राजनीतिक लाभहानीलाई दृष्टिगत गरेर गरिएका विभाजनहरु थिए ।

प्रादेशिक सरकारले आफ्नो आवश्यकता र अनुकूलता अनुसार स्थानीय तहको संरचना निर्माण गर्ने अधिकार अन्तरिम संविधानले दिएको थियो । त्यो प्रावधान निश्चय नै व्यवहारिक र वैज्ञानिक हुनसक्थ्यो । तर नयाँ संविधानले त्यो अधिकार केन्द्रलाई दियो । स्थानीय तहका प्रमुख उपप्रमुखहरु समेत संघीय सदन (उपल्लो) को निर्वाचनमा मतदाता रहने व्यवस्था गरिएको र विगत १४÷१५ वर्षदेखि स्थानीय निकायहरु जनप्रतिनिधविहीन रहेको कारणले स्थानीय तहको सिमाङ्कन विभाजनामा हतारो गर्नुपर्ने परिस्थिति बन्न गयो ।

त्यसैले २०७३ सालको फल्गुणसम्म सुझाव सरकारसमक्ष बुझाइसक्नुपर्ने सिमा तोकेर पुनर्संरचना सुझाव आयोग बनेको हो । पछिल्लो पटक मंसिरमै निर्वाचन गर्ने समयसारिणी तत्कालीन मन्त्रपरिषदले अघिसारेपछि पुनर्संरचना हतारोमै सक्नुपर्ने अवस्था आयो । त्यही हतारोले स्थानीय तहको सिमा निर्धारण गर्नुपर्दा भौगोलिक अनुकूलता र प्राकृतिक साधानश्रोतको उपलब्धतालाई किनारामा थन्काएर केवल जनसंख्यालाई सिमाङ्कन विभाजनको एकमात्र आधार बनाउन आयोग वाध्य बन्यो ।

नयाँ व्यवस्थाअनुसार अब बन्ने स्थानीय तह र परम्परागत स्थानीय निकायहरुको हैसियतमा आधारभूत रुपमै अन्तर रहन्छ । हिजोका जस्तो केन्द्रको निगाह र निर्देशनमा सक्रिय हुने स्थानीय तह अब हुनेछैनन । स्थानीयस्तरमै पनि साधनश्रोत जुटाउनुपर्ने, विकास निर्माणका योजनाहरु तर्जुमा तथा कार्यन्वयन गर्ने र आवश्यक कानुनसमेत बनाउने अधिकार स्थनीय तहका सरकार र विधायिकाहरुलाई हुनेछ । त्यसैले स्थानीय तह निर्माण गर्दा प्राकृतिक साधनश्रोत र विकास निर्माणको आयोजनाहरु सञ्चालनका लागि आवश्यकपर्ने जनशक्ति समेतलाई ध्यानमा राखेर सिमाङ्कन मिलाउनु पर्ने आवश्यकता हो ।

केवल जनसंख्याको आधारमा मात्र सिमाङ्कन वा पुनर्संरचना गर्नुृ विल्कुल अव्यवहारिक र अवैज्ञानिक कार्य हुनजान्छ । देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको सन्दर्भमा आयोगको काम तत्कालको लागि स्थगित भएको छ । स्थानीय निर्वाचनलाई चैतवैशाखतिर गर्ने मनशाय नयाँ सत्तागठबन्धनले राखेको देखिएको हुनाले पहिले गर्न थालिएको गल्ती सच्याउने अवसर आयोगले पाउने छ भन्ने आशा राख्न सकिन्छ । त्यसैले स्थानीयस्तरमा नयाँ ढङ्गबाट सिमाङ्कन र विभाजनको विषयमा छलफल चलाउँदै रहनु उपयुक्त हुने देखिन्छ ।

पुरानो जिल्ला, गाउँ र नगरको संरचनाहरुलाई आधार मानेर पुनर्संरचना गर्ने निर्णय खोटपूर्ण छ । सबै स्थानीय निकायहर डिजल्भ गरेर सून्यबाट स्थानीय तहको संरचना निर्माण गर्ने व्यवस्था गरेका भए सामाजिक, आर्थिक, भौगालिक र जनसांखिक आधारमा नयाँ संरचनाहरु निर्माण गर्न सजिलो हुन्थ्यो ।

व्यवहारिक र वैज्ञानिक पनि हुनसक्थ्यो । पुरानै संरचनालाई आधार बनाउँदा प्रदेश निर्माणको सन्दर्भमा आएको “अखण्ड” को अवधारणाले फेरि पनि अप्ठेरो पार्ने सक्ने र नयाँ पुनर्संरचनाले राखेको उद्देश्य र लक्ष प्राप्तिमा वाधा पुग्नजाने हुन सक्छ । उदाहरणका लागि म्याग्दीको रत्नेचौर बाग्लुङ्गतिर गाभ्दा जनताले पाउने सेवा सुविधाका दृष्टिले सहुलियतपूर्ण हुन्छ भने पर्वतको मल्लाजलाई म्याग्दी (वेनी)मा गाभिँदा सबै दृष्टिले उपुयक्त हुन्छ । जिल्लाको पुरानो सिमा नचलाउने भएपछि त्यसको सम्भावना रहेन । जिल्ला भित्रैको कुरा गर्ने हो भने बरांजाको पूर्वी भेकका लागि वेनी पायक हुन्छ भने पश्चिमीखण्ड (रानीवास उता)को खण्डका लागि दरबाङ्ग पायक पर्छ । बाबायाचौरकै सन्र्भमा पनि स्थिति दुरुस्तै त्यस्तै हो ।

पहिले किटान गरिएभन्दा स्थानीय तहहरुको संख्या बढ्ने सम्भावनालाई ध्यानमा राखेर नयाँ पुनर्संरचनाको बारेमा छलफल चलाउनु उपयुक्त हुन्छ जस्तो लाग्दछ । अर्थात म्याग्दीमा पाँच होइन, छ वा अधिकतम ७ वटासम्म स्थानीय तहहरु रहन सक्छन । अर्थात हिजो ५५० देखि ७ सयको हाराहारीमा स्थानीय तह बनाउने परिकल्पना आयोगले गरेको थियो भने त्यो संख्या अब ८ सयसम्म पुग्न सक्ने सम्भावना प्रबल बनेको छ । म्याग्दीको सन्दर्भमा भैगोलिक विकटताका हिसाबले ५ वटा मात्र स्थानीय तह निर्माण गनुृपर्दा किनै सकस पर्ने अवस्था थियो । यता तान्दा उता छोटो हुने र उताकालाई सुविधाजनक बनाउन खोज्दा यताकोलाई असुविधा थपिने स्थिति देखिन्थ्यो । कमसेकम छवटासम्म स्थानीय तह निर्माण गर्न पाउने हो भने लभगभग समस्या समाधान हुने र थप एउटा तह बनाउन मिल्ने हो भने अल्पसंख्यक जाति छन्त्यालको लागि अलगै स्थानीय तहको व्यवस्था हुनसक्ने स्थिति देखिन्छ ।

नयाँ सत्ता गठबन्धनको आशय स्थानीय तहहरुको संख्या बढाउनुपर्ने रहेको देखिन्छ । त्यसैले कमसेकम म्याग्दीको सन्दर्भमा सिमाङ्कन विभाजन उतिसारो समस्याको विषय रहने छैन । तैपनि स्थानीय तहहरुको सिमाङ्कन विभाजन वा पुनर्संरचनाको सन्दर्भमा राजनीतिक लाभहानि र आग्रह पूर्वाग्रह भन्दा माथि उठेर व्यापक छलफल बहस चलाउने र आम सर्वसाधारणलाई अधितकतम सुविधा पुगोस भन्ने पवित्र ध्येयका साथ संरचना निर्माण हुने वातावरण तयार गर्नुपर्ने आवश्यकता देखिन्छ ।

त्यसो गर्न सकिएन भने फेरि पञ्चायतका कालको विडम्बना पुन दोहोरिएको असन्तुष्टि समाजमा रहनेछ । राजनीतिप्रेरित विभाजनको परिणाम कतिसम्म कुरुप र अव्यवहारिक हुनसक्छ भन्ने कुराको उदाहरण खोज्न म्याग्दीको इतिहासको सिमा बाहिर भौंतारिनुपर्छ जस्तो लाग्दैन । गाउँ नै नविराई अलग पञ्चायती संरचना निर्माण गरेर आफ्नो राजनीतिक आधार दिगो राख्ने अभीष्टसिद्धिको इतिहासको त्यो निकृष्ट प्रयत्नलाई उदाहरण मानेर सतर्क हुनै पर्छ । राजनीति सधै इमानमा चल्छ भन्न सकिदैन ।

आफू र आफू संलग्न राजनीतिक दलको हित हेर्ने प्रयत्न राजनीतिकर्मीबाट हुदै हुदैन भनेर विश्वस्त हुन मिल्दैन । त्यस्तो प्रयत्नलाई राजनीतिक चश्माले हेर्दा अन्यथा हो भनेर मान्न पनि मिल्दैन । त्यसैले मसिनो गरी विषयलाई केलाउने र समाजको अधिकतम हितकल्याणलाई ध्यानमा राखेर सेवा सुविधा सरलतापूर्वक प्राप्तगर्ने जनताको अधिकार सुनिश्चित हुने गरी स्थानीय तहहरुको पुनर्संरचना गर्न दवाद सिर्जना गर्नु समाजको सचेत समुदायको कर्तव्य हुनजान्छ ।