शक्ति गलेश्वरको ! महिमा छैन वेनीको

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
साउन २ गते ।
chandraबाँसारुख देखि ढकने गौंडासम्म लमतन्न सुतेको तेर्सो गोरेटो । डोरेटो माथि आँगन । आँगनको पछाडि घर धन्सारको लहर । वारी पारी टाढा कतैबाट हेर्दा स–सानो बजारजस्तो दोखिन्थ्यो होला सायद मेरो जन्मगाउँ । अर्थात वेनी नगरपालिका अन्तर्गतको “कुमालडिँहीँको बस्ती” ।
साँचै तिनताका अहिलेको भन्दा बस्ती अलि घना थियो । लहरै घरहरु भए पनि मगर गाउँजस्तो किचमिच्च परेको, घरमाथि घर पनि थिएनन, वरीपरी थुक्ने सुविधा नहुने गरी घरसँग घर जोडिएका पनि थिएनन । प्रत्येक घरको वरीपरी कोठेबारी हुन्थ्यो । झालपात, सागसब्जी र खुर्सानी लगाउने सानोतिनो पाटो फोटो सबैको हुन्थ्यो । प्राय घरको वरीपरी केरा, अम्बा, भोगटे, विमिरो, मेवा, निवुवा कागतीमध्ये एक दुईथरी बोटहरु अवश्य हुन्थे । बस्ती बाक्लो पनि थियो, खुला पनि थियो । घरका आँगनहरु एकअर्कासँग झण्डै जोडिएका हुनाले गाउँ रमाइलै पनि थियो । त्यसैले होला हिँउदका साँझहरुमा, खासगरेर शुक्लपक्षका उज्याला रातहरुमा, फुर्केसल्ला, सेताढुङ्गादेखिका केटाकेटी र किशोर किशोरीहरु कुमाल्डिहीँमा जम्मा हुने र रमाइलो गर्ने गर्थे । कहिले भजन कीर्तन गरिन्थ्यो, कहिले नाच नौटङ्कीको आयोजना हुन्थ्यो । कहिले पराल खेलिन्थ्यो ।

जुनको उज्यालोमा कपर्दी र छुत्ती पनि खेल्ने गरिन्थ्यो । कहिले लोककथा भन्ने सुन्ने गरिन्थ्यो । भजनकीर्तन र नाच नौटङ्कीको प्रायोजकको भूमिका बाँसारुखकी देउरुपा भाउजूले निर्वाह गर्नुहुन्थ्यो । तिनताका गाउँमा चिया खाने चलन भने भित्रिसकेको थिएन । भाउजूले खाजाको प्रबन्ध गरिदिनु हुन्थ्यो । भुटेका मकै, भटमास, उवा, जुनेलो र कहिलेकहीँ सेलरोटीको पनि प्रवन्ध हुन्थ्यो । नाचगान, भजनकिर्तन गरिसकेपछि प्रसादको रुपमा खाजा खाइन्थ्यो र आ–आफ्ना घरतिर लागिन्थ्यो ।
देउरुपा भाउजूको प्रोत्साहबाट गाउँभरका केटाकेटी, किशोर किशोरीहरुलाई एक आपसमा झ्याम्मिने र सांस्कृतिक अभ्यास गर्ने अवसर दिन्थ्यो । मादल, मुरली, खैजडी, मुजुरा, झुर्मा जस्ता वाजा बजाउन सिक्ने अवसर मिल्थ्यो । गाउँमा भर्खर भर्खर स्कुल त खुलेको थियो । तर स्कुलमा पाठयक्रमअनुसारको पढाइ लेखाइबाहेक अतिरिक्त कार्यक्रमहरु हुदैनथे । त्यसैले देउरुपा भाउजूको संरक्षकत्व र प्रोत्साहन गाउँका केटाकेटीहरुलाई अतिरिक्त क्रियाकलापहरुको अभ्यास गर्ने सहायक पाठशाला नै बनेको थियो । सिनेमा देखिएको थिएन, टेलिभिजनको नाम सुनिएको थिएन, गाउँमा कसैसँग रेडियो पनि थिएन । त्योबेलाको हाम्रो बालचेष्टा गाउँकै लागि मनोरञ्जनको अब्बल साधन बनेको थियो । beni

विशेष पूजा र पर्व उत्सवहरुका अवसरमा रातभर जाग्राम बस्ने, भजनकिर्तन गर्ने परम्परा थियो । घरै नबिराई सत्यनारायणको पूजा हुन्थ्यो । स्वस्थानीको व्रत बसिन्थ्यो । भजनको तालमा नाच्न प्रायः सबैलाई आउँथ्यो । नौमती बाजा बज्ने अवसरहरुमा केटाहरुले नाच्ने अभ्यास गर्थे । भजनकीर्तनमा भने महिलाहरु पनि नाचमा सरिक हुन्थे । कालीपार अर्थात स्याङ्गजा कास्कीतिरजस्तो महिलापुरुषले सगोलमा भजन गाउने चलन हाम्रोतिर थिएन । भजनमा दोहरी त झन वर्जितजस्तै थियो । त्यसैले होला साह्रै कम लोग्ने मान्छेहरुले भजनमा नाच्ने अवसर पाउँथे । नृत्यागनमा महिलाहरुकै एकलौटी कब्जाजस्तो हुन्थ्यो ।

लोग्ने मान्छेहरुले गाउँथे, बजाउँथे, महिलाहरु नाच्थे । हरेक भजन कीर्तन वा नौमतीवाजा बजेको ठाउँमा नविराईकन नाच्न अघिसर्ने एकमात्र व्यक्ति जुगेपानीका “आशाराम” दाई हुन्थे । गाउँमा नाचिने भजनकीर्तनको नृत्य परम्परामा देउरुपा भाउजूको प्रोत्साहनले एउटा नयाँ आयाम थपिदिएको थियो । मादल मुजुरा र खैंजडी वा दमाई बाजा (नौमतीबाजा) को तालमा नाचिने नृत्य बाहेक अन्य नाच नौटंकीको अभ्यासको थालनी भएको थियो ।
galeshowar
गाउँको त्यो सांस्कृतिक अभ्यासमा लागेको समूहलाई नाच्न गाउन सिकाउने कुनै गुरु थिएन । कहीकतै आफैले देखेको वा सुनिएका नाच र गीतहरुको सगोलमा अभ्यास गर्ने, एउटाले अर्कोलाई सिकाउने, दुरुस्त भयो भएन भनेर छलफल गर्ने र सुधार्ने गरिन्थ्यो । र भन्न छुटाउन नमिल्ने कुरा के थियो भने गाउँमा गरिने नाचनौटङ्कीहरुको अभ्यास मूलतः वेनीको नेवार समुदायले सालबसाली देखाउने सडकनृत्य नौटङ्कीको अनुकरण हुन्थ्यो । खासगरेर त्यतिबेला थेट्टरको नामले परिचित युगल नृत्य, नागानगिनी, लाखे आदि ।

हाम्रो त्यो अभियानले फुर्केसल्लाको सार्की माइलो, सेताढुङ्गाको कैलो र पाखाघरको रखाले कालो क्रमशः नागा, नगिनी र जोक्कर नृत्यमा पोख्त भएका थिए । नागनगिनीको नाच त नचाइन्थ्यो तर “जिके व सा पिरती” भन्ने नेवारी गीत हामीलाई आउँदैनथ्यो । बाजाको तालमा नाचको नक्कल मात्र गरिन्थ्यो । अर्थात गीतविनाको मुकनृत्य हुन्थ्यो । कहिलेकहीँ हाम्रो नाच नौटङ्कीको सार्वजनिक प्रदर्शनको आयोजना पनि हुन्थ्यो । गाउँभरको अलि ठूलो आँगन छानेर घरको पटाङ्गिनीमा दर्शकहरुको बस्ने प्रबन्ध गरिन्थ्योे, आँगनको डिलबाट उत्तराभिमुख भएर नाच प्रदर्शन गरिन्थ्यो । वाजा बजाउनेहरु भने सुविधा अुनसार जता पनि बस्न सक्थे ।

नाच्न जान्ने मानिसको अनुपस्थिति भएको साँझ भजन जम्थ्यो । पाका भजनेहरुले झै कुनै पौराणिक कथामा आधारित भजन हाम्रा हुदैनथे । भजनका चुटकाहरु गाइन्थ्यो । वेप्रसंगका र कतै सुनेर कण्ठभएका भजनका टुक्काहरुलाई चुट्के भजनको नाम दिएका थियौ । तिनै चुटेक भजनहरुमध्येको एउटा आजसम्म पनि मेरो स्मरणमा छ –“शक्ति गलेश्वरको ! महिमा छैन वेनीको !” भजनको सन्देश के थियो भन्ने कुराको ज्ञान हामीलाई थिएन । नत वेनीसँग कुनै रिसराग र बैरभाव थियो न गलेश्वरसँग कुनै साइनो सम्बन्ध र अनुराग नै थियो ।

हामीमध्ये कैयौंले गलेश्वर र वेनीको अनुहारसम्म पनि देखेका हुदैनथ्योैं । तैपनि मादल, मुजुरा, खैजडी, झुर्मासँग मच्ची मच्ची राग, स्वर मिलाएर गाइन्थ्यो । एकपटक होइन अनेकपटक र एक वर्ष होइन अनेकौ वर्षसम्म त्यही एउटा भजनको टुक्का दोहो¥याइन्थ्यो । गाइन्थ्यो । हाम्रो त्यो सांस्कृतिक अभियान मेरा ठुलादाजु स्कुलको हेडमाष्टर भएर नआउँदासम्म निन्तर चल्यो । दाइले स्कुलको कमाण्ड सम्हालेपछि नियमित पढाइलेखाइ बाहेक अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन हुन थाले । वेलावेलामा साहित्यक गोष्ठी, कविता वाचन, विशेष पर्व अवसरहरुमा नाच नौटङ्कीको प्रदर्शन, कसैको स्वागत सत्कारमा सांस्कृतिक कार्यक्रम स्कुलका तर्फबाट आयोजित गरिन थालेपछि देउरुपा भाउजूको स्वेच्छिक पाठशाला बन्द भयो । त्यसको आवश्यकता नै परेन ।

उतिबेला अर्थ नबुझी नबुझी घाँटीका नसा फुलाएर गाउने गरिएको भजनको चुट्काको अर्थ यतिबेला बल्ल लाग्न थालेको छ । वेनी पर्वराज्यको राजधानी थियो । मल्लराजाहरुले दोविल्लामा शिवालय स्थापना गरेर नियमित पूजाको प्रबन्ध गरिदिएका थिए । सालसालै भागवत पारायणको प्रबन्ध मिलाएका थिए । शिवरात्री, माघेसंक्रान्ति, हरितालिका तीज आदि सांस्कृतिक पर्वहरुमा हाटमेलाको परम्परा बसाली दिएका थिए ।

व्यापार प्रवर्धनका लागि नेवाहरु झिकाएर पसलहरु खोल्न लगाएका थिए । नेवारहरुसँग नेवार संस्कृति पनि वेनीमा भित्रनु स्वभाविक भो । बर्खे नाच नौटङ्कीहरुको नियमित प्रदर्शन हुन थाल्यो । वेनी बजार एकैसाथ धर्म, संस्कृति र क्रय विक्रयको सङ्गमस्थल बन्यो । मानिसहरुको आकर्षणको केन्द्र बन्यो । गंङ्गास्नान, बस्तु क्रय विक्रय र मनोरञ्जनको साझा थलो बन्यो । त्यसैले पर्वतराज्यको पतनपछि पनि वेनीबजार गुलजार रहयो ।
उता गलेश्वरको बजार मात्रै होइन, स्वयम गलेश्वर महादेवको स्थापना पनि वेनीको शिवालयभन्दा निकै कान्छो हो । जुनबेला वेनीको धार्मिक महिमाले उत्कर्ष छुँदै थियो त्यतिबेलासम्म गलेश्वर गुमनामजस्तै थियो । एकादुई फिरन्ते जोगी सन्यासीहरु अस्थायीरुपमा बस्थे ।
त्यही सन्दर्भमा धार्मिक मान्यताको ज्ञानसून्य “कामगर्नाको दुखले जोगी बनेको” भन्न सुहाउने कुनै मानिसले पथ्थरमाथि रहेको अपेक्षाकृति अलि ठूलो शालग्रामलाई शिवलिङ्ग मानेर पूजा गर्न थाल्यो होला । कुनै एकजना रखाले बाबुसाहेवले विश्वयुद्धको दौरानमा हराएको आफ्नो छोराको सकुशल फिर्तिको कामना गरेर खरफुसको छाना राखेको सानो मन्दिर बनाइदिए । बस्ती बाक्लो नभएको ठाउँ, मन्दिर पनि वेनीको तुलनामा अनाकर्षक भएपछि मानिसहरुको ध्यान नतानिनु स्वभाविक भो ।

विज्ञानपनका लागि अहिलेजस्तो टिभी, अखवार, रेडियो जस्ता श्रव्यदृश्य साधनहरु उपलब्ध थिएनन् । त्यसैले गलेश्वरको उन्नयनमा लाग्नेहरुले “गाइने परम्परा”को सिको गरे होलान । जसरी गाइनेहरुले विभिन्न ठाउँहरुमा भएका राम्रा नराम्रा घटनाहरुलाई गीतमा ढालेर रोचक शैलीमा मनोरञ्न र सूचना एकैसाथ सम्प्रेषण गर्छन, त्यसैगरी भजन कीर्तन हुने ठाउँहरुमा पुगेर भजनको त्यही टुक्का “शक्ति गलेश्वरको, महिमा छैन विनीको” भनेर गाउन थाले होलान् । उनीहरुबाट सिकेर सुनेर अरुले पनि गाउन थाले । खासगरेर केटाकेटीहरुले टिपे, गाए । गाउन थाले । वास्तवमा भाकल मनितोबाट इश्वर खुसी हुन्छन् र आशातित फल प्राप्त हुन्छ भन्ने कुरामा विश्वास राख्ने धर्मभिरु मानिसहरुलाई त्यो एउटा सन्देश बन्यो ।

वेनी शिवालयका भन्दा गलेश्वरका देवता “क्षात् क्षात्” (साक्षात) छन रे, मागे कल्पेको कुरा पूरा हुन्छ रे भन्ने हल्लालाई त्यो भजनको टुक्काले निकै सहयोग पु¥यायो होला । मानिसहरुमा गलेश्वर महादेवको पूजा,अर्चनार आराधना गर्ने भावना जाग्यो । आस्था बढ्यो । गलेश्वरको विज्ञापनका लागि रचिएको टुक्का हामीले पनि अर्थैं नबुझी गायौं । विनाशुल्क वर्षौैंसम्म विज्ञापन ग¥यौं । अज्ञानतामै भए पनि हामीले गरेको विज्ञापनबाट गलेश्वर महादेव त अवश्य खुसी भए होलान् ! तर वेनीका त्रिनेत्र त रिसाए होलान् कि ? खोइ कुन्नी ? देवता न बोल्छन् न सुन्छन् ।