चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असार २० गते ।
पं. प्रेमप्रकाश पौडेलको पछिल्लो कृति “मातृभूमि” को भाषा संस्कृति खण्डमा आर्यहरुले खसहरुको संगतमा परेर आफ्नो मातृभाषा संस्कृत बिर्सेकोमा दुःख मनाउ गरिएको छ । अंसतः त्यो भनाईमा सत्यता छ तर लेखकले दावी गरेजस्तो भने होइन । गङ्गाको मैदानतिरबाट उक्लने वैदिक ब्राह्मणहरुले आफ्नो मौलिक भाषा बिर्सेको र खसभाषा अङ्गिकार गरेको कुरा सत्य हो तर उनीहरुले बिर्सेको अर्थात चलनचल्तीमा प्रयोग गर्न छोडेको भाषा संस्कृत थिएन । हो, केही वैदिक ब्राह्मण समुदायहरु नेपालका पहाडतिर उक्लेर स्थायी बसोबास गरेकाछन् । खासगरेर, मिश्र, झा, उपाध्यायहरुको पातलो उपस्थिति नेपालका उपत्यका र पहाडतिर देखिन्छ ।
स्वभावतः पहाड उक्लिएका वैदिक ब्राह्मणहरुले खसभाषा पूर्णरुपमा अपनाएका छन् । तर त्यो समुदायले नेपाल छिर्नुभन्दा अगाडि पनि संस्कृत बोलचालमा प्रयोग गर्दैनथ्यो । हिन्दी, अवधि, मैथिली वा भोजपुरी भाषीको रुपमा नेपाल प्रवेश गरेका हुन । अर्थात नेपाल प्रवेश गर्ने वैदिक ब्राह्मण समुदायको पुर्खाले कुनै जमानामा संस्कृत भाषा बोलाचालमा प्रयोग गर्ने गरेकै भए पनि उनका सन्तानहरुले नेपाल छिर्नुपूर्व नै संस्कृत भाषा व्यवहारमा प्रयोग गर्न छोडिसकेका थिए । लेखकले इङ्गित गर्न खोजेको विषय वैदिक ब्राह्मणहरुको भाषा परिवर्तन नभएर आफ्नै पुर्खाहरुले गरेको संस्कृत परित्याग हो भन्ने देखिन्छ ।
अर्थात उनको गुनासो खस जातिका बाहुनहरुको सम्बन्धमा हो । निसन्देह लेखकको त्यस्तो आशय नितान्त भ्रमको उपज हो । नेपालका पूर्वीया भनेर परिचित पहाडी ब्राह्मणहरु वैदिक आर्यका सन्तान होइनन् । पौड्याल, कोइराला, सुवेदी, आचार्य, सिग्देल, रेग्मी, ढुङ्गाना, पुडासैनी, अधिकारी, उप्रेती, रिजाल, रिमाल आदि थरहरु हुने पुर्वीया बाहुनहरु सबै खसवंशका हुन् । खसहरुको मातृभाषा संस्कृत थिएन, होइन । खसहरुको भाषा खरोष्टी हो भनेर भरतनाटयममा स्पष्ट उल्लेख भएको छ । वैदिक आर्यहरुले खसहरुलाई अनार्य ठान्ने मात्रै होइन संस्कारच्यूत भएका शुद्र नै मान्थे भन्ने कुराको जीवित प्रमाण मनुस्मृति र महाभारत ग्रन्थमा परेका प्रसंगहरुले दिन्छन् ।
सनातन वैदिक धर्र्म ग्रहण गरेर जनै भिर्दासम्म पनि संस्कारहीन अर्थात “खा ठा” भनेर खसजातिका बाहुनहरुलाई वैदिक ब्राह्मणहरुले हेप्थे, दुत्कार्थे । त्यही “खा ठा” नै कालान्तरमा पहाडी बाहुनहरुलाई गाली गर्ने शब्द “काठा” मा रुपान्तरित भएको हो । बाहौं शताब्दीको आसपासतिर हिन्दू धर्मसंस्कार ग्रहण गरेपछि मात्र नेपालका पहाडी (पूर्वीया) बाहुनहरुले कर्मकाण्डी पुरेत्याईका लागि संस्कृत पढ्न लेख्न थालेका हुन । खस भाषा नै पूर्वीया ब्राह्मणहरुको मातृभाषा हो । आर्यको शाब्दिक अर्थ “सभ्य र सुसंस्कृत” भन्ने हुन्छ । आफूलाई वैदिक आर्यजस्तै सभ्य र सुसंस्कृत भनाउने लोभका कारणले खसजातिका बाहुनहरुले आफूलाई आर्यवंशसंग जोड्न थालेका हुन ।
वैदिक आर्य ब्राह्मण र खस ब्राह्मणबीच विहावारी पनि चल्दैनथ्यो (अझै पनि सनतान भैसकेको छैन) । आफूलाई खसेत्तर जाति हौं भनेर प्रमाणित गर्ने सन्दर्भमै अन्य खसहरुसंग बाहुनहरुको रक्त सम्बन्ध (वैवाहिक सम्बन्ध) तोडिएको हो । कथम सम्बन्ध राख्नै पर्ने अनिवार्य परिस्थिति आइलाग्यो भने पनि खस खसिनीहरुबाट जन्मेका सन्तानलाईृ तल्लो श्रेणीमा राख्ने, भातभान्सा नचलाउने परम्परा बसालिएको हो ।
ब्राह्मणहरुकै सिको गरेर खस ठकुरीहरुले पनि क्षत्री वा मङ्गोल समुदायसँग विहावारी नगर्ने चलन चलाएका हुन् । जनै भिरेर औपचारिक रुपमा क्षत्री कहलिन थालेका खसहरु त्यो मामलामा सबैभन्दा उदार देखिए पनि कथित तल्लो जात अर्थात छोइछिटो गर्नुपर्ने मानिएका समुदायसँग विहावारी नचलाउने परम्परा पछयाएको देखिन्छ ।
म्याग्दी, बाग्लुङ्ग र रुकुममा छन्त्यालहरुको राम्रै बस्ती छ । छन्त्यालको आफ्नो मौलिक भाषा छ र जाति पनि अलग मानिन्छ । छन्त्याल जातिको उत्पत्तिको सम्बन्धमा अनेकौं किम्वदन्तिहरु छन् । त्यसमध्ये रुकुमको “छिन्तुङ” भन्ने ठाउँको नामबाट त्यो जातिको नामाकरण भएको हो भन्ने कुरामा धेरैले विश्वास गरेको देखिन्छ । त्यस्तो तर्कलाई किटानीकासाथ होइन भन्न पनि सकिन्न र हो भन्ने भरपर्दो आधार पनि भेटिदैन । छन्त्याल समुदायले आफूहरु आर्यवंशी भएको र कुनै कारणवस आर्यसंस्कार परित्याग गरेको हो भन्न रुचाउँछ ।
त्यसैले हुनुपर्छ एकजना छन्त्याल मित्रलाई “छन्त्याल भाषाको निकट सम्बन्ध तामाङ भाषासँग भएको देखिने हुनाले तामाङ र छन्त्यालबीच आनुवंशिक सम्बन्ध छ कि भनेर जिज्ञासा राख्दा “होइन” भनेर टकटकिएका थिए र भाषा अवलम्बन गर्दैमा जाति एउटै हुुपर्छ भन्ने छैन भन्ने तर्क गरेका थिए ।
उनको तर्कलाई ठाडै इन्कार गर्न नसकिए पनि अन्य सम्भावनाहरुप्रति आखाँ चिम्लन सकिदैन । छन्त्याल बाहेक अरुले त्यो भाषा नबोल्नु र तामाङ र छन्त्याल भाषाका ७०/८० प्रतिशत शब्द शब्दावली आपसमा मिल्नुले ती दुई समुदायबीचको निकट सम्बन्धको पुष्टि गर्छ भन्न सकिन्छ ।
दुई भिन्न समुदायलाई निकट सम्बन्धको डोरीले गाँस्ने मुख्य सेतु भाषा हो । जाति नश्ल फरक भए पनि भाषा एउटै छ भने तिनीहरुबीचको सम्बन्ध निकट र सुमधुर रहन्छ । नेपालका छन्त्याल र खसब्राह्माणहरुले किन हो कुन्नी आफूले बोलचालमा प्रयोग गर्ने भाषाका माध्यमबाट आपसमा जोडिने सम्बन्धको आधारमा निर्माण हुने निकटतालाई इन्कार गर्ने सचेत प्रयत्न गरेको देखिन्छ ।
भिन्न समुदायका मानिसहरुलाई भाषाले कसरी नजिक बनाउँछ भन्ने कुराको बलियो उदाहरण शाक्य र नेवारहरुको सम्बन्ध रहेको छ । काठमाडौंको नेवारी राष्ट्रियता निर्माणको छुट्टै र विशिष्ट कथा छ । अर्थात लिच्छवी, किरात, मल्ल, नायर, खस, मैथिल आदि अनेकौं जातिको सम्मिश्रणबाट नेवार संस्कृति, सभ्यता र राष्ट्रियता बनेको छ । त्यही सन्दर्भमा कपिलबस्तुतिरबाट उक्लिएका शाक्यहरु पनि नेवार संस्कृतिमा रमे, भिजे र विलय भएका हुन् ।
जसरी नेवारहरु बन्दव्यापारको सिलसिलामा उपत्यका बाहिर फिजिए त्यसैगरी शाक्यहरु पनि देशभर छरिएका छन् र उनीहरुका बस्तीहरु नेवार समुदायमै छन् । काठमाडौं छिर्ने सबै जातजातिले जस्तै शाक्यहरुले पनि आफ्नो भाषा बिर्से र नेवारी अपनाएका हुन । नेवारी समुदायमा घुलमिल भए पनि झा, बानिया, मल्ल, शाक्यहरुजस्ता केही समुदायहरुका मौलिक रीतिरिवाज, परम्पराहरु पूर्णरुपमा विलोप भैसकेका छैनन् । तिनीहरुले विर्सेको भाषा हो, संस्कृतिको अवशेष भने बाँकी नै छ ।
शाक्यहरुको मौलिक भाषा पाली (मागधी) हो । बुद्धग्रन्थहरु पाली भाषामै लेखिएका छन् । शाक्य, थारु र मगर समुदायबीच नश्लीय निकटता छ भनेर नृृतत्वशास्त्रीहरुले मान्छन् । हुन पनि जिउडाल, रुपरंग र आनीवानीमा ती तिनै समुदायबीच आश्चर्यजनक समानता देखिन्छ ।
मगर र पाली भाषाका धेरै शब्दहरु आपसमा मिल्छन् पनि । मगर भाषामा “वाङ” भनेको “बस्ती” र “लुङ” भनेको “समथर” हुन्छ । समथर बस्ती अर्थात “वाङलुङ” मगरभाषाबाट बनेको हो । उता पाली भाषामा “लुङ” भनेको समथर र “वेनी” भनेको “संगम” भन्ने अर्थमा “लुङवेनी” अर्थात ”लुम्विनी” बनेको छ ।
मातृभाषा पाली भएका शाक्यहरु र मगधी मग्ग मगरभाषी मगरसमुदायबीच जातिगत र नश्लगत निकटता रहेकोजस्तो प्रतीत हुन्छ । तर पछिल्लो कालखण्डमा शाक्यहरुले नेवारी भाषालाई पूर्णरुपमा अङ्गिकार गरेका हुनाले मगर वा थारुभन्दा व्यवहारमा नेवारसँग आफ्नो साइनो नजिक रहेको मान्छन् । भाषाले मानिसलाई कसरी आफन्तपनको अनुभूति गराइदिन्छ भन्ने कुरा मगर, नेवार र शाक्यबीचको दुरी र निकटताको सामाजिक सम्बन्धले स्पष्ट पार्छ ।
खसजातिका बाहुन र छन्त्याल समुदायले भाषाको साइनोलाई इन्कार गर्नुको दुईटा कारण रहेको देखिन्छ । एउटा कारण त अज्ञानता नै हो । आफ्नो जाति, नश्ल र भाषाको इतिहास हराएपछि मानिस स्वभाविकरुपमा कुहिरोको काग बन्छ । दोश्रो कारण भनेको जातगत उचनीचको सामाजिक मान्यता रहेको हाम्रोजस्तो सामन्तवादी संस्कारको अवशेष नमेटिइसकेको समाजमा आफूलाइ उपल्लो जातको भनेर दावी गर्ने र त्यसैमा गौरव गर्ने प्रवृत्ति हो । वंश, खानदान, कुल, घराना, आदिको आधारमा आफूलाई उच्च संस्कारयुक्त ठान्ने र तल्लो श्रेणीका भनेर अरुलाई हेप्ने चलनको उन्मूलन भैसकेको छैन । त्यसैले अझैसम्म पनि जात, थर, जाति, वंश लुकाउने वा फेर्ने चलन बाँकी नै छ र विहावारीमा त्यसको खोजी अझै हुन छोडेको छैन ।
1 thoughts on “दुई भिन्न समुदायबीच सामाजिक सम्बन्धको बलियो कडी “भाषा””