ताजा समाचार:
Search

किन हुँदैन बजेट समयमै खर्च ?

रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज
म्याग्दी,असार २० गते ।
...आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत बजेट चालिस प्रतिशतको हाराहारीमा मात्र खर्च हुने अवस्था देखिएको छ । यसले विनियोजित बजेट खर्च गर्न नसक्ने हाम्रो खुबीलाई उजागर गरेको मात्र छैन देशको विकासको गति निकै सुस्त छ भन्ने प्रस्ट पारिदिएको छ ।

बजेट विनियोजनमा रस्साकसी गर्ने हामीले बजेट किन समयमै खर्च हुन सकेन भनेर खासै ध्यान दिन सकिरहेका छैनौं। यसतर्फ हामीले नजरअन्दाज गरेर बसिरह्यौं भने देश अझ पछाडी धकेलिने छ।

विनियोजित बजेट समयमै खर्च नहुनुका पछाडी थुप्रै कारण छन्। पहिलो कारण त बिगत चौध वर्ष देखि स्थानीय निकायहरु जनप्रतिनिधि विहिन अवस्थामा चलिरहेका छन् जसले गर्दा स्थानीय निकायहरुले जनता प्रति उत्तरदायी हुन र जनताको विकास प्रतिको चाहनालाई गम्भीर रुपमा लिन सकिरहेका छैनन् ।

त्यतिमात्र होइन सहमतीय पद्धतीका आधारमा विकासका निर्माणका योजनाहरु संचालन गर्ने नाममा योजना छनौट देखि लिएर उपभोक्ता समिति गठन सम्मका कुरामा राजनीतिक भागवण्डा मिलाई योजना सम्झौता देखि सम्पन्न गरुन्जेल सम्म धेरै समय खर्चिनु पर्ने बाध्यता छ । यसले समग्र विकास प्रकृयालाई सुस्त बनाइरहेको छ ।ghara sadak 1अर्का कारण कर्मचारीको उदासीनता हो। कर्मचारीहरुलाई समयमै काम गर्नुपर्छ नत्र बजेट फ्रिज हुन्छ भन्ने त थाहा छ तर त्यसको दोष आफुलाई पनि आउँछ भन्नेमा खासै वास्ता गर्दैनन्। कर्मचारीतन्त्रमा एकले अर्कोलाई देखाउंँदै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति व्याप्त छ। “सरकारी काम कहिले जाला घाम” भने झैँ कार्यालयका कामकाजमा भन्दा पनि व्यक्तिगत लाभ कताबाट लिन सकिन्छ भन्ने मानसिकता उनीहरुमा हावी छ । उनीहरुको ढिलासुस्ती र अपारदर्शिताले जनता आक्रान्त भैरहेका छन् ।

बजेट समयमै खर्च हुन नसक्नुको अर्को कारण हो जनताका लाचारीपन। बहुसंख्यक जनताले कहाँबाट के मा कति बजेट छुट्टिएको छ र त्यो कसले कसरी खर्च गर्छ भनि चासो लिंदैनन् ।

खासगरी गरिब, निमुखा र दुर्गमका जनताको पक्षमा बोलिदिने र उनीहरुको आवाज सुनिदिने पनि कोहि छैन । विहान बेलुका कसरी हातमुख जोर्ने भन्नेमै उनीहरुको ध्यान केन्द्रित हुन्छ ।

टाठा, बाठा र पहँुचवालाहरु आफ्नो दुनु सोझ्याउन तिर मात्र लाग्छन। नागरिक समाज, मिडिया र बौद्धिक वर्गलेजे जस्तो भूमिका खेल्नुपर्ने हो त्यसो गर्न सकिरहेका छैनन्।
देशको समसामयिक परिस्थितिले पनि बजेटको खर्चमा प्रभाव पार्दछ। त्यस्तैसमय समयमा हुने प्रगति समिक्षा र स्थलगत अनुगमन तथा मुल्यांकनबाट प्राप्त पृष्ठपोषणलाई आत्मसाथ गर्न नसक्नु पनि थप कारण हुन्।

तोकिएको काम तोकिएको समय सिमा भित्र सम्पन्न गर्ने अभ्यास नहुनु नै समयमै बजेट खर्च नुहुनुको प्रमुखकारण हो। तिकिएको समयसीमा भित्र काम गर्न सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ।

एकातर्फ बजेट खर्च हुन नसकेर फ्रिज भएर जाने समस्या छ भने अर्कोतर्फ खर्च भएको बजेटको दश प्रतिशत पनि काम नगरी शतप्रतिशत काम भएको भनि “बिल मिलाएर खाने” प्रवृत्ति बढ्दै गइरहेको छ। समयमै ध्यान दिनसकिएन भने यो रोगले देशका महत्वपूर्ण अंगहरुलाई शिथिल बनाई पुरै देशलाई नै थला पार्ने निश्चित छ ।

जनताले रगत पसिना बगाई तिरेको करबाट प्राप्त हुने रकमबाट निर्मित बजेट जनताकै सेवामा लगाउन सकिएमा मात्र न्यायसंगत हुन्छ। राष्ट्रको ढुकुटीबाट कसैलाई गोजी भर्न दिएर,घर घडेरी किन्न दिएर वा छोरा–छोरीलाई विदेश पठाउन दिएर देशको विकास हुँदैन । राष्ट्रको ढुकुटीमा सबैको समान हक हुन्छ, यसलाई समयमै विकास निर्माणमा कार्यमा खर्च गर्नुपर्दछ।