बेनीमा बाढीको संत्रास ! त्यसको इतिहास र दिगो समाधान !!

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
म्याग्दी,असार ६ गते ।
chandra  मनसुनी वर्षा सुरु भैसकेको छैन र पनि यसपटक फेरि वेनीबजार बाढीको चपेटामा परेछ ! अकल्पनीय नोक्सान पुगेछ । ठूलै सन्त्रास फैलिए छ । हुन त वेनीका लागि यो नयाँ अनुभव भने होइन । विगत पन्ध्र वर्षको अवधिमा अर्थात वेनी–पाखापानी जोड्ने ग्रामिण सडक निर्माण सुरु भएयता चार÷पाँच पटक त्यही प्रकृतिको विनाश र सन्त्रास दोहोरिएको छ । नयाँ पुस्ताले सडक निर्माण आयोजनालाई नै विनाशको कारण मान्नु अस्वाभाविक मानिदैन । मान्छेका आँखामा पर्ने सामुन्नेका घटनाहरु नै त हुन ।

तर वेनीको निकट इतिहासका पाना पल्टाउने हो भने त्यस प्रकृतिका घटनाहरु ग्रामिण सडक निर्माण थाल्नुपूर्व पनि पटक पटक दोहोरिएको कुराको स्मरण ताजा हुन्छ । म्याग्दी जिल्ला अस्पतालक्षेत्र वरपर थुप्रिएको सिल्ट (माटो ढुङ्गाको थुप्रो) अर्थुङ्गको पूर्वीउत्तर हिस्सा हुँदै बगेर आउने जामुनाखर्क पाखाको खोल्सीको करामत हो । क्याम्पसचोकमा पनि त्यस्तो दुर्घना पटक पटक निम्तने गथ्र्यों ।

रुचि सिनेमाहलदेखि यति होटेलसम्मको जग्गा बाढीले पुरिएको घटना अस्तिभर्खरको होजस्तो लाग्छ । काली पुल र मङ्गलाघाटका बासिन्दाहरुलाई समय समयमा बाढीले हाहाकार पार्दै आएकै हो । आरसीयुपीले निर्माण गरेका र हाल सिंचाई भूसंरक्षण लगायतका कार्यालयहरु रहेको ठाउँ पनि वराह पाखाको खोल्सोले पटक पटक पुर्ने गरेकै हो । अर्थात वेनीले भोगदै आएको मौसमी बाढीको प्रकोप पहिलो पटके पनि होइन, नयाँ पनि होइन र सडक निर्माणका कारणबाट मात्र सिर्जित समस्या पनि होइन । त्यसअघि पनि बेनीबासीलाई हाहा पार्नेगरी अर्थुुङ्गेतिरबाट बाढी झथ्र्यो । पहिले बस्ती पातलो थियो र नोक्सान कम हुन्थ्यो । बस्ती बढ्यो, बाढीको क्षति पु¥याउने क्षमतामा गुणात्मक बृद्धि भयोे ।DSC00036

करीब आधा शताब्दीयता प्रिमन्सुनी वर्षा कम हुन थालेको छ । हामी तन्नेरी हुँदासम्म पनि बुढापाकाहरुले “तीन बाढी नभएसम्म पाखोबारीमा मकै छर्न हुदैन” भन्थे ! त्यसो भन्नुको मतलब मल, वीउ मात्र होइन जमिनको माटो समेत बढार्ने गरी वैशाख जेठमा पटक पटक बाढी आउँथ्यो ।

औताएर मकै छरे मल, वीउ र माटो समेत बाढीले सोहोरेर लगिदिने भएकोले बाढी आउने क्रम थामिएपछि मात्रै मकै छर्नु उपयुक्त हुन्छ भन्ने आशय हो त्यो । पछिल्लो चार/ पाँच दशकयता प्रिमन्सुनको बेग निकै घटेको छ । नत्र भने अझ ठूलो विनाशको सामना वेनीले गर्नुपर्ने हुन्थ्यो होला । ठूलो झरी पर्दा अर्थुङ्गेको पानीढले फाँटमा परेको पानी झर्ने एकमात्र ठाउँ वेनी नै हो । अन्त जाने वा पठाउने ठाउँ छैन ।
पुरानो जमानामा अर्थुङ्गेको गाउँबस्तीको सिरानबाट एउटा खाँद हर्रखर्कतिर र अर्को एउटा जामुनाखर्कको खोल्सीतिर

पन्छाउने स्थायी प्रकृतिको व्यवस्था गरिएको देखिन्थ्योे । वेनीको बजारको करेसामा अर्थात अर्थुङ्गे पाखाको पुछारमा हुलाकचोकमा निस्कने गरी त्यस्तै संरचना रहेको देखिन्थ्यो । ती खाँद कुलेसाहरुको अस्तित्व मेटियो । त्यसको अर्थ बर्षाको परिमाण कम हुन थालेकै हो । पानी कम पर्न थालेपछि ती खाँद कुलेसाहरुको संरक्षण र पुनर्निमार्ण गर्नुपर्ने आवश्यकताबोध अर्थुङ्गेर वेनीको बस्तीले नगरेको होला । DSC00019

वेनीमा पटके दुर्घटना निम्तनुको एउटा कारण त त्यो पनि हो जस्तो लाग्छ ।  मानिस पौरखी जात हो । आफ्नो सुख सुविधा र हित संरक्षणका लागि अकल्पनीय व्यवस्थाहरु मान्छेले गरेको हुन्छ । चिनीयाँहरुले समुद्रमा बालुवा माटो भरेर पनडूब्बीहरु राख्न मिल्ने नयाँ टापुहरु निर्माण गरेकाछन भनिन्छ । जापानीहरुले समुद्रमाथि धान खेती गर्छन भनिन्छ । वेनीको समस्या समाधान गर्नै नसकिने प्रकृतिको होइन । आक्कल झुक्कल निम्तने हुनाले मानिसको त्यतातिर ध्यान नपुगेको मात्र हो ।

प्रिमन्सुनको पानी पार्ने क्षमतामा ह्रास आउँदै गएको हुनाले प्राकृतिकरुपमै वेनी बजार खतरामुक्त हुन्थ्यो होला । सडक निर्माणको कार्यले घाउ उकल्चिने परिस्थिति निर्माण भएको कुरा भने तीतो सत्य हो । समस्या सिर्जना भएपछि समाधान पनि निस्कन्छ । वेनीले पनि स्थायी समाधान पहिल्याउने नै छ । कुनै न कुनै रुपमा वेनीसँग आफ्नो पनि लुते साइनो गाँसिने हुनाले विषय परिस्थितिले अलिकता सम्वेदनशील बनाउँदो रहेछ । गर्न सकिने त के छ र ? थुतुनो लगाउने मात्र हो । भन्न मन लागेको कुरा कलमको माध्यमबाट अभिव्यक्त गर्ने हो ।

उपदेश कसैलाई रुचिकर लाग्दैन । सार्वजनिक चासोको विषयमा कलम चलाउँदा त झन बढी विचार पु¥याउनुपर्ने हुन्छ । मानिसहरु आग्रह प्रेरित हुन्छन् । निराग्रही हुन त बुद्धत्व प्राप्त गर्नुपर्छ । आग्रह राखेर गरिने सस्ता प्रतिटिप्पणीहरु प्रितिकर नहुने भएपनि देखे जानेको कुरा भन्नु मान्छेको धर्म हो । समाजले आज बेठिक ठह¥याएको कुरा भोलि ठिक ठहरियो भने आफ्नो “मान भाउ बढ्छ” भनेर मेरा पिताजीले भन्नु हुन्थ्यो ।DSC00024

कुनै कुराको पक्ष लिनुपर्दा भीडको मनशाय हेरेर होइन बस्तुतथ्यको आधारमा उभिने संस्कार त्यसरी विकास भएको हो । तै पनि विकास निर्माणको कुरामा राय व्यक्त गर्दा “तैंले के गरिस् ?” भन्ने आशय व्यक्त गर्नेहरुको मुख बुझो लगाउन सकिदैन । सामाजिक सरोकारको विषयमा राय व्यक्त गर्ने कुरालाई अपराध ठान्ने प्रवृत्ति मुढाग्रहको उपज हो । त्यसैले जोसुकैले जेसुकै भन्दै गरोस् वेनीको बाढीजन्य विनाशको कारणहरुको खोजीनीतिमा मात्रै होइन, स्थायी समाधान खोज्ने विषयमा हातेमालो गर्ने कर्तव्यबाट विमुख हुन मनले मान्दैन ।

वेनीको पछिल्लो बाढीजन्य विनाशको कारण नयाँ निर्माण हुँदै गरेको सडक आयोजना नै हो । तर विनाश निम्तनुमा पहिलो कारण त वेनीको समाज आफै हो । हो, बजारसँग परामर्श नगरिकन तत्कालीन जिल्ला विकासले सडकको प्रारम्भिक सर्भे गरेको हो । सडक निर्माणको काम सुरु गरेको त दिनकै उज्यालोमा थियो । भविष्यमा आइपर्न सक्ने समस्या र विनाशको पूर्वानुमान गर्न बजारले सकेन ।

दरो प्र्रतिवादमा नउत्रुको कारण त्यही थियो । यो विषयमा “विकासविरोधी नदेखिने” सतही भावनाबाट निर्देशित हुने मुर्खता वेनीको समाजले गरेकै हो । दोश्रो कारणको रुपमा सडक निर्माणमा अग्रसरता लिनेहरुको भूमिकालाई मान्नु पर्छ । एक प्रसङ्गमा “देउरालाीमै निकाल्नु थियो भने महारानी कटाएर अग्निखेत तिरबाट किन सर्भे नगरेको ?” भनेर सोधिएको प्रश्नको जवाफमा सडक निर्माणको प्राविधिक नेतृत्व गरेका ओभरसियर रायले “हामीलाई मनखुसीले कसले काम गर्न दिन्छ र ? निर्णय नेताहरुको हो ।

हामी त कामदार मात्र न हौं । मेरो विवेक प्रयोग गर्न पाएका भए अवश्य तपाईले भनेको बाटो जान्थ्यो । माननीय केसीज्यूले आँपाको रुखतिर पु¥याउनै पर्ने आदेश दिनु भयो, आँपारुखसम्म पुगेपछि देउरालितिर फर्काउनै पर्ने कुरामा जिविस सदस्य बानियाँजीले बल पु¥याउनु भयो”! प्राविधिक रायले दिएको त्यो जवाफले सडक निर्माणको अन्तर्यमा चलेको दाउपेचको पोल खोल्छ ।
अर्को एउटा कारण पनि त्यो प्रक्रियामा जोडिएको छ । पहिलो वर्षकोे ट्रयाक खोल्ने कामले वराहपाखो पनि छिचोलेको थिएन । दोश्रो वर्षमा त्यो सडक विस्तारका लागि भनेर जिल्ला विकासले जम्मा चार लाख बजेट विनियोजन ग¥यो । तत्कालीन जिविस सभापति तथा हालका व्यवस्थापिका संसदका माननीय सदस्य शर्माजीसँग नितान्त व्यक्तिगत तवरमा त्यो बाटोको अलाइन्मेन्ट नै बदल्दा राम्रो हुन्छ ।

बरु त्यसको जिम्मा म लिन्छु, । महारानी–अग्निखेत हुँदै देउराली उकाल्ने नयाँ ट्रयाक खोलौ । सडक अपेक्षाकृत सजिलो पनि बन्छ,। बाढी पहिरोको खतराबाट वेनी पनि जोगिन्छ भनेर प्रस्ताव गरेको हुँ । सभापतिजीसँग हुन्न भन्नका लागि तर्कको खाँचो थिएन । सभापतिजीको मनशाय बुझीसकेपछि समूगत वा संस्थागत प्रयत्न गर्ने सोच बनाइएन । अब यतिबेला त्यो आर्थिक वर्षको चार लाखको उपयोग कसरी भयो÷गरियो भन्ने कुरा कोट्याउनु आवश्यक पनि नहोला । प्रसाङ्गिक पनि हुनेछैन ।

वेनीले समस्याको स्थायी समाधान पहिल्याउने प्रयत्न अवश्य गरेकै होला । तर नाली कल्भर्टहरुको सुधारले मात्र समस्या समाधान हुन्छ भन्न सकिन्न । किनकि एक्ले पिपल देखि वेनी (महारानी)सम्म नालीमा पानी वगुन्ज्याल त ठिकै होला । जब नालीबाट खोल्सा खोल्सीमा पानी झर्छ तव विनाशलिलाको प्रारम्भ हुन्छ, हुनेछ । नालीमै बग्ने पानी पनि मङ्गगलाघाट र क्याम्पसचोकका लागि सदाकालको संत्रासको विषय बन्नेछ । सधैका लागि टाउको माथि झुण्डिएको तरबारको पर्याय सावित हुनेछ ।

अर्थुङ्गेभन्दा माथिबाट झर्ने पानीलाई देउरालीबाट अग्निखेततिर झार्ने व्यवस्था गर्न सकिएला तर गाउँभरको पानी गाउँको पुछारमा रहेको सडकमै झर्ने हो । सडकभन्दा तलको पानी झर्ने त वेनीतिरै हो । त्यो सडक वेनी–मङ्गलाघाटतिर पानीढलो परेको छ । त्यही पानी वेनीमा पटक पटक विनाशलिला मच्चाउन पर्याप्त हुनेछ ।

वेनीलाई बाढीबाट हुनसक्ने सम्भावित विनाश र संत्रासबाट जोगाउने हो भने सडकको रुट नै परिवर्तन गर्नुको विकल्प छैन । महारानी–ठूलो खोला सडकको ट्रयाक बनिसकेको छ । त्यसैलाई अग्निखेततिरबाट देउरालीसम्म जोड्ते व्यवस्था गर्ने हो भने सडकको दुरी पनि अलिकता छोटिन्छ र वेनीको सदाकालको संत्रास पनि निर्मूल हुन्छ । त्यो भन्दा भरपर्दो र दिगो समाधान अर्को छँदै छैन ।