मेलमिलाप सम्बन्धि तालीम सुरु

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,असार ३ गते ।
म्याग्दीको बेनीमा शुक्रबारदेखि मेलमिलाप सम्बन्धि आठ दिने आधारभुत तालीम सुरु भएको छ ।

गाउँ तहमा स्थापना हुन लागेका मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउने उद्देश्यले जिविसले आयोजना गरेको तालीममा रुम, लुलाङ, भगवती र बेनपाका २५ जनाको सहभागिता रहेको छ ।

वडा नागरिक मञ्चका संयोजक, सदस्य र सामाजिक परिचालक सहभागी तालीमको मेलमिलाप अभियन्ता शुशिला शेरचन र विद्या खनालले सहजिकरण गर्नुहुने जनाइएको छ ।

bikalpa news
तालीमको उद्घाटन गर्नुहुदै जिल्ला न्यायाधिश रामप्रसाद शर्माले अदालतले कागजी प्रमाणका आधारमा निर्णय गर्ने बताउदै समुदायमा हुने मेलमिलाप केन्द्र मार्फत ब्यवहारीकता हेरेर निर्णय हुने हुँदा न्याय सेवा अझै प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी केशव आचार्यले स साना बिवादहरु प्नि अदालत र सरकारी निकाय सम्म आउँदा धेरै झञ्जट तथा खर्च हुने अवस्था रहेकाले स्थानीय तहमा सम्भव भएसम्म मेलमिलाप गर्न पहल भएमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने बताउनुभयो ।

स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षता, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडीपी)का कार्यक्रम अधिकृत प्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य र गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।