चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
जेठ २९ गते ।
मानिसहरुका चेष्टाहरु विचित्रका हुन्छन् । मानिसले सोच्नुपर्ने नपर्ने कुराहरुको बारेमा सोच्छ । गर्नुपर्ने नपर्ने कामहरु गर्छ । पढ्नुपर्ने नपर्ने कुराहरु पढ्छ । लेख्नुपर्ने नपर्ने कुराहरु लेख्छ । बोल्नुपर्ने नपर्ने कुराहरु बोल्छ । हेनुपर्ने नपर्ने कुराहरु हेर्छ । लहड पनि एउटा मानवीय प्रवृत्ति नै हो । मानवीय प्रवृत्ति र चेष्टाहरु सबै आवश्यकताबाट मात्र निर्देशित हुन्छन् भन्न सकिन्न । पुलाचौर जान्छु भनेर पुलाडाँडास्थित घरबाट निस्केका एकजना हाम्रा हजुर्बा फेरि कल्यिै घर फर्केनन् । अर्थात उनको लहडी स्वभावले घर फर्कनुपर्ने कुरानै बिर्सने बनाइदियो ।
मनको लहडी तरङ्कले उनलाई मालिकाको धुरीतिर डो¥याएछ । उनका लागि त्यो भूगोल अपरिचित थियो । परिवेश विल्कुल नयाँ थियो । उनको चेतनाले घरफर्कने बाटोको दिग्दर्शन गरिदिएन । उनलाई मालिका देवीले सम्मोहित गरेकी पनि होइनन् । नत घाँसदाउरा गर्ने उद्देश्य नै उनको थियो ।
त्यतातिरको उनको यात्रा निरुद्देश्य र निरपेक्ष थियो । भागवत गीताको भाषामा भन्ने हो भने हाम्रो हजुर्बाको मालिका यात्राको चेष्टा विशुद्ध निष्काम कर्मको उदाहरण थियो । फरक कुरा कति मात्रै हो भने निष्काम कर्मको शास्त्रीय सम्मोहनले उनलाई डो¥याएको थिएन । हाम्रो समाजले उनलाई ज्ञानी मान्दैन थियो । उनको यात्रा अज्ञानता र अवचेतनाको परिणाम थियो । अर्को आध्यात्मिक भाषामा भन्ने हो भने मृत्युले उनलाई त्यता डो¥याएको रहेछ । यात्राको थकान र कैयौ दिनको उपबासले शिथिल भएर रुखको छहारीमा सुस्ताएका हजुर्बाको प्राणपखेरु उडेछ । निर्जन वनको एकान्तस्थलमा समाधिलीन भएछन् हाम्रा हजुर्बा !
हाम्रा हजुर्बाले त अवचेतन अवस्थामै यात्रालाई निरन्तरता दिएका हुन । उनको चेष्टाको कुनै उद्देश्य थिएन । सबै मानिस अर्थात चेतना दुरुस्त भएको मानिसले भने सकभर भविष्य हेरेर पाइला चाल्ने प्रयत्न गर्छ । आखाँ चिम्लेर हिड्दा ठेस लाग्न सक्छ भन्ने सम्भावनाको ज्ञानले मानिसलाई सधै सचेत बनाइ राख्छ ।
राष्ट्रसेवकको दीर्घजीवनबाट अवकाश लिनुपर्ने समयको सन्निकट पुगेका एकजना मित्रले हिजो अस्तितिर कता हो अवकाश पछि कुनै राजनीतिक समूहमा आवद्ध हुनु राम्रो होला कि “स्वतन्त्र रहनु फलदायी होला” भनेर मसँग जिज्ञासा राखेथे । हरेक मानिससँग संसारलाई हेर्ने बुझ्ने आफ्नै दृष्टिकोण हुन्छ ।
कसले हो कुन्नी नयाँ दुलहीलाई “मै जस्ती भएस” भनेर आशिष दिएथ्यो रे ! स्वभावतः मैलै दिने जवाफ मेरै दृष्टिकोण र बुझाईको परिधिबाहिर रहने कुरा भएन । उनीसँग विदाबारी भए यता मेरो मनभित्र निरन्तर एक खालको द्वन्द चलिरहेको छ भन्दा फरक पर्दैन । हाम्रो समाज, हाम्रो राजनीति र आम जनताको दृष्टिकोणबीच कही कतै प्रसंग नमिलेजस्तो लागिरहन्छ । सायद संसारमै यस्तै पो होला कि ? अवश्य, नेपाल मात्र अपवाद होला भन्न सकिन्न ।
मूलतः दार्शनिक हिसाबले नेपालको राजनीति परम्परागत सामन्तवाद, आधुनिक पूजिँवाद र (वैज्ञानिक)समाजवाद समेत तीन कित्तामा बाँडिएको देखिन्छ । प्रचलन कस्तो रहेको छ भने प्रारम्भ देखि नै राजनीतिक दलहरुले जनतालाई आफ्नो स्थायी मतदाता बनाउने प्रयत्न गर्दै आएका छन् ।
अर्थात कुनै न कुनै पार्टीको सदस्यता नलिएको मानिस पाउन कठिन छ । हरेक निर्वाचनहरुमा समयको प्रवाह हेरेर बहकिने मानिसहरुको जमातले निर्णायक हैसियत राखे पनि औपचारिक रुपमा कुनै पार्टीको सदस्यता नलिएको मानिस सायदै फेला पर्ला । लोकतान्त्रिक भनिने व्यवस्थाहरुमा आवधिक निर्वाचन प्रणाली अवलम्बन गरिन्छ । स्वभावतः हामीकहाँ पनि त्यस्तै संवैधानिक व्यवस्था छ । अर्थात हरेक ४/५ वर्षमा प्रतिनिधि छनोटको अवसर जनतालाई दिइटोपलिन्छ ।
पार्टीको सदस्यता लिनु भनेको पार्टीप्रति इमान्दार र प्रतिबद्ध रहनु हो । जब तमाम मतदाताहरु कुनै न कुनै पार्टीविशेषप्रति प्रतिबद्ध रहने हो भने आवधिक निर्वाचनको नौटङ्की गर्नुको के अर्थ रहन्छ र ! नीति सिद्धान्त भन्दा पार्टीहरुले प्रतिबद्धता जनाएको आवधिक कार्यक्रम हेरेर मत दिने स्वतन्त्रता मतदातालाई हुनुपर्ने हो ।
राजनीतिक दलहरुले किशोरावस्थादेखि नै नागरिकहरुलाई पार्टी सदस्यतारुपी डोरो बाँधेर स्वतन्त्र निर्णय लिने अधिकारबाट वञ्चित गर्छन् । हरेक मानिसलाई पार्टीको सदस्य बनाउने प्रणालीले सामाजिक सदभावमा समेत प्रतिकूल प्रभाव पारेको मात्र होइन, नागरिकलाई स्वतन्त्र मतदाता होइन कि पार्टी विशेषको खेतालामा रुपान्तरण गरिदिएको छ ।
सामन्तवादी युगको अन्तसँगै दर्शनमा आधारित राजनीतिको प्रयोग मानवसमाजले गर्न थालेको हो । र आज पर्यन्त संसारको राजनीतिलाई त्यसैलले दिग्दर्शन गरिरहेको छ । अहिले पनि संसारभर वाद र दर्शनहरुबीचको घम्साघम्सी चलेकै छ । राजनीतिक दर्शनको नसा जतिको गाढा नसा सायद अरु कुनै चीजको हुन्छ होला ।
प्रसिद्ध जर्मन दार्शनिक माक्र्सले धर्मलाई अफिमसँग तुलना गरेका थिए । तर वास्तविकता त्यो भन्दा भिन्न हुँदो रहेछ । असलमा मान्छेलाई सबभन्दा बढी मात राजनीतिकै लाग्दो रहेछ । सहोदर बाबुछोरा (स्यामलाल मुखिया र मुक्ति रोका) गाउँको प्रधानपञ्चको एउटा पदका लागि प्रतिश्पर्धामा उत्रेकोे उदाहरण हाम्रै म्याग्दीमा छ । अफिमले मान्छेलाई लठ्ठयाउने मात्रै हो, राजनीतिको नसाले त मान्छेलाई नेत्रविहीन र विवेकविहीन समेत बनाउँदो रहेछ ।
हुनत सम्पूर्ण सुन्दर कुनै बस्तु पनि हुँदैन । हरेक चीजबस्तुको सेतो र कालो दुबै पाटो हुन्छ । फरक पार्ने त कुन मान्छेले कुन पाटो देख्छ भन्ने कुराले हो । कसैले सेता पाटो मात्र देख्छ, कसैले कालो पाटो मात्र देख्छ । राजनीतिक दर्शनको सन्दर्भमा पनि त्यही कुरा लागु हुन्छ ।
पूजिँवादी राजनीतिक दर्शनले दिग्विजय गरेको युग हो यो । पूजिँवादको प्रतिद्वन्दीको रुपमा उदाएको समाजवाद धराशायी भएको छ भन्दा फरक पर्दैन । तैपनि त्यसका अनुयायीहरुको संख्या भने मानव समाजमा कम भएको छैन । समाजिक सुरक्षा र मानवीय सहृदयताको सपना देखाउने कुरामा पूजिवादबाद भन्दा समाजबाद अब्बल हुन्छ । मानिसको निर्बलताप्रति पूजिवादजस्तो निर्मम समाजवाद छैन ।
त्यसैले विजयी देखिएको पूँजीवाद समाजबादको सम्भावित पुनर्जीवनबाट सदासर्वदा त्रसित रहन्छ । पूजीवादी दर्शनको नेताको रुपमा उदाएको अमेरिका संसारको जुनसुकै कुनामा उदाउन खोज्ने समाजवादी सत्ताको टाउको निमोठ्न सदा उद्यत रहनुको कारण त्यही हो । चीन उसको सामथ्र्य बाहिर पुगेको भए पनि बाकीँ समाजवादी अवशेष चाहे उत्तरकोरियाको होस अथवा क्युवाको । ब्राजिलको होस अथवा भेनेजुयलाको । तिनीहरुलाई पूर्णरुपमा समाप्त पार्नका लागि हरसम्भव प्रयत्न गरिरहन्छ ।
अजम्मरी र निर्विकल्प कुनै कुरा पनि हुदैन । सफल असफल जे भए पनि पूजिवादको विकल्प समाजवाद नै हो । संसारको राजनीति मूलरुपमा पूजिवाद र समाजवादबाटै निर्देशित छ । शुभ संकेत भन्ने हो कि अशुभ, एक्काइसौं सताब्दीको प्रारम्भमै भारतको राजधानी दिल्लीबाट राजनीतिको एउटा नितान्त नयाँ प्रयोगधाराको परीक्षण सुरु भएको छ र त्यसका मूख्य अभियन्ता ……केजरीवाल बनेका छन् ।
केजरीवालको उदयसंगै राजनैतिक दर्शनका दृष्टिले एउटा नितान्त नयाँ प्रयोगको सुरुवात भएको छ । एउटा भिन्न धारको राजनीति सुरु भएको छ । अर्थात केजरीवालको पार्टी कुनै स्थापित र परम्परागत राजनीतिक दर्शनमा आधारित छैन । राजनीति भनेको देश र समाजहितका लागि हो । देश र समाज भनेको प्रकारान्तरले मानिस नै हो । मानवविहीन भूगोल देश बन्दैन र मानविनाको समाज पनि हुदैन ।
आम मानिसको चासो राजनीतिक दर्शनसँग होइन, व्यवहारसँग सम्बन्धित हुन्छ । आम मानिसको कुनै दर्शन विशेषप्रति मोह वा वितृष्णा पनि हुदैन । हो, त्यही मानवीय प्रवृत्तिलाई दृष्टिगत गरेर आम मानिसको जीवनवृत्तिलाई सहजीकरण गर्ने कार्यक्रमहरु अघि सारेर केजरीवालले राजनीति सुरु गरेका हुन् । उनका कार्यक्रमहरु आम मानिसलाई आधारभूत आवश्यकताहरु उपलब्ध गराउने उद्देश्यबाट निर्देशित छन । र अन्तिम लक्ष त्यो भन्दा अन्त कतै पर छैन । अर्थात नत समाजवाद सामम्यवादले जस्तो स्वर्गको कल्पना गरेको छ नत पुजिवादले जस्तो प्रतिश्पर्धाबाट मात्र जिउन सकिने स्वतन्त्र र समुन्नत समाजको परिकल्पना गरेको छ । पानी, विजुली, रसद, आवागमन, शिक्षा, स्वास्यजस्ता आधारभूत मानवीय आवश्यकताहरुलाई नै राजनीतिको लक्ष बनाइएको छ ।
केजरीवालको राजनीतिक दर्शनले मानिसहरुको समृद्धि, सभ्यता र सुखको परिकल्पना साकार पार्ला वा नपार्ला तर तत्कालका लागि मानिसहरुलाई राजनीतिक दर्शनको बोझिलो बहसबाट मुक्त गरिदिएको छ । हरेक विषयलाई राजनीतिक दर्शनको चश्माबाट हेर्ने र राजनीतिक आग्रह दुराग्रहको शिकार हुनुपर्ने मानव नियतिबाट मुक्त गरिदिएको छ । एक अर्थमा केजरीवालको दर्शनले राजनीतिलाई सरलीकृत गरिदिएको छ ।
दर्शन होइन, समाजको आवश्यकतालाई राजनीतिको लक्ष बनाइदिएको छ । फलानो र ढिस्कानो भनेर मानिसहरुबीच लक्षण रेखा कोर्नु नपर्ने बनाइदिएको छ । राजनीतिक दर्शन र पक्षधरताका आधारमा कित्ताकाट गरिने र पानी बाराबार गनुृपर्ने प्रवृत्ति निरुत्साहित हुने सम्भावना देखाइदिएको छ । उनको राजनीतिले जनतालाई भविष्यका सुनौला सपना देखाउने होइन, हातहातै लिनेदिने परम्पराको प्रारम्भ गरिदिएको छ ।