दुखेली गाइको नश्ल र गुर्जाली मकैको ढोंड !!

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज
जेठ ११ गते ।
सृजनशीलता मानवजातिमा रहेको महत्वपूर्ण गुण हो । जनावरजगतबाट मानिसलाई पृथक अस्तित्व र चिनारी दिने तत्व त्यही हो । व्यक्तिविशेष वा समूह विशेषबाट विज्ञान र प्रविधिको नयाँ खोज अनुसन्धान भएको हुन्छ । व्यवहारमा त्यसको अलम्बन र उपयोगबाट मानवसमाजमा प्रगतिको नयाँ आयाम थपिन्छ । chandra

प्रगतिपथमा फड्को मार्न सहयोग पुग्छ । विज्ञान र प्रविधिका नयाँ नौला आविष्कारहरु आम मानिसको बुताका कुरा होइनन् । सबै मानिसहरुमा गिदीको परिमाण समान रहे पनि त्यसको चमत्कारिक क्षमताको उयोग अन्यन्त थोरै मानिसहरुले मात्र गर्न सक्दछन् । नयाँ कुराको श्रृजना गर्न नसके पनि अरुबाट सिक्ने र अनुकरण गर्नसक्ने क्षमता भने अधिकांश मानिसमा रहन्छ । त्यसैले होला “संगिनीको देख्छु, रहरले मर्छु” भनेजस्तो अरुको कामबाट सिक्ने नाममा जस्ताको तस्तै नक्कल गर्ने प्रवृत्ति धैरै मानिसमा देखिन्छ ।

अरुबाट नक्कल गर्न खोज्नेहरुले जस्ताको तस्तै प्रतिलिपि उतार गरेर मात्र पुग्दैन । पहिलाकोले भन्दा राम्रो गर्न सक्नुपर्छ र मात्रै त्यसको मूल्य र महत्व रहन्छ । तुलनात्मक रुपमा उत्तम बनाउन सकिएन भने परिश्रम अर्थहीन भद्दा नक्कल ठहरिन्छ । त्यसको प्रत्यक्ष नमुना वेनी नगरपालिका वडा नं. ११ स्थित पुलस्त्य–पुलहाश्रममा नवस्थापित शिवमन्दिर बनेको छ ।
व्यक्तिगत आस्था अनास्थाको कुरा अलग हो ।

कुनै विषयप्रतिको आग्रह पूर्वाग्रह पनि होइन । दुर्भाव, द्वेष र घृणाको कुरा पनि होइन । आध्यात्मिक भाषामा मनलाई आत्माको पर्याय मानिन्छ । आत्मा परमात्माको अंश हो पनि भनिन्छ । त्यसअर्थमा आत्माको बोली इश्वरवाणी हो भनेर मान्नुपर्ने हुन्छ । परमात्मालाई ब्रह्म पनि भनिने हुनाले आत्माको आवाज ब्रह्मवाणी हो भन्नुपर्ने हुन्छ । ब्रह्म अर्थात परमात्माको वाणी अवरुद्ध गर्नु वा लुकाउनु धार्मिक मान्यताको दृष्टिले पापकर्म हो ।मेरो अन्तरात्माले पक्षैमा बनेको शिवमन्दिरलाई गलत मान्छ । त्यही अन्तरात्माको अनुभूतिले एकपटक होइन, अनेक पटक त्यो प्रशङ्गको उल्लेख गर्न प्रेरित गरिरहन्छ । तर त्यसको अर्थ र आशय भने मन्दिर भत्काउने होइन । समाजमा अनास्था सिर्जना गर्नु पनि होइन ।

बरु अन्यत्र त्यस किसिमको गल्ती नदोहोरियुन् भन्ने पवित्र भावनाको सरल र निश्छल अभिव्यक्ति मात्र हो । फरक प्रसङ्गमा मन्दिर निर्माणको कुरा उप्काउने धृष्टताको लागि क्षमा याचना गर्न लाज मान्ने कुरा रहेन । सम्बन्धितजनहरुको मन दुखाएको पापकर्मको प्रायश्चित्त यतिले मात्रै अवश्य पुग्दैन होला । कसैले पनि दिनसक्ने कुराको परिमाण त्यति मात्र हुन्छ जति उसको आमद हैसियतले थेग्न सक्तछ भनेर चित्त बुझाउनुको विकल्प रहन्छ जस्तो पनि लाग्दैन ।

निसन्देह, नेपाली समाजको आर्थिक उन्नति, प्रगति र भौतिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सम्भावना रहेका थोरै क्षेत्रहरुमध्येको एउटा पर्यटन पनि हो । पर्यटन प्रवर्धनमा सिङ्गो मुलुक जुट्न थालेको दशकौ बितिसकेको छ । स्वभावतः म्याग्दी पनि पछि नपरेको मात्रै होइन, झर्रो भाषामा भन्ने हो भने चौपट्टै हतारिएको छ । नयाँ नयाँ टे«किङ्ग रुटहरुको खोजी हुन थालेको छ । अग्ला भ्यूप्वाइन्टहरु पहिल्याउने प्रयत्न भैरहेका छन् । “होमस्टे” अभ्यास सुरु भएको छ । यी सबैलार्ई समायानुूकूल र सकारात्मक चेष्टा हुन् भनेर मान्नै पर्छ । तर यहिनेर बिर्सन नमिल्ने र विचार पु¥याउनपर्ने केरा के हो भने नक्कल गरिएको बस्तुमा मौलिक बस्तुको जस्तो आकर्षण रहँदैन ।

सबै होमस्टे “वारपाक” र “घलेगाउँ” हुन सक्तैनन् । सबै हिलस्टेसनहरु “पुनहिल” र “नगरकोट”को समकक्षमा उभिन सक्तैनन । नयाँ ठाउँ वा नयाँ बस्तुको स्वाद पनि नयाँ भैदियो भने मात्र त्यसले विशेष महत्व राख्दछ । आकर्षणको विषय बन्दछ । मानिसलाई आकर्षण गर्ने कुरा “नविनता” हो । अनुकरण होइन । पुनरावृत्ति पनि होइन । झुक्किएर स्वर्ग पुगेको वनियाले कसरी अमिलो सुन्तला र टर्रो केराको व्यापारबाट त्यहीँ पनि कुस्त कमाई गरेथ्यो भन्ने नीति कथाबाट सिक्न सक्नुपर्छ र मात्र इच्छित सफलता प्राप्त गर्न सकिन्छ ।
पछिल्लो कालखण्डमा स्थानीय पत्रपत्रिका र सामाजिक सञ्जालहरुले “टोड्के” लाई पर्यटनजगतमा परिचित गराउने कोशिस गरेको देखिन्छ । टोड्केलाई दृश्यावलोकन गन्तव्यको रुपमा विकसित गराउन म्याग्दीबासीले थालेको प्रयत्न सराहनीय छ । त्यसको निमित्त के कस्तो भविष्यमुखी योजना तर्जुमा गरिएको छ भन्ने कुराको सार्वजनिक जानकारी भने मिलेको छैन । तैपनि त्यो महात्वकांक्षी योजनामा संलग्न हुने उत्साही मित्रहरुलाई थप प्रोत्साहन मिलोस् ्भन्ने सदाशय राखेर केही सुझाव दिन मन औताएको छ । भन्ने बेलामा “अर्ती त केजातिको पनि लिनु” भनिए पनि यथार्थमा अर्ती उपदेश प्रितिकर लाग्दैनन् । सल्लाह सुझावहरु वाध्यकारी नभए पनि अपेक्षाकृत तितै लाग्छन् भन्ने कुरा हजार प्रतिशत सत्य हो ।
 अवश्य, टोड्के एउटा रमणीय ठाउँ हो । प्रकृतिको अनुपम वरदान हो । मूल्यवान हिरा हो । त्यसको दोहन गर्न सकियो भने म्याग्दीको लागि कल्पवृक्ष सावित हुनेछ । कुहुँको “टोड्के”, भकिम्लीको “स्वर्गद्वार”, बरांजाको “भूतपानी”, निस्कोटको “कोटमन्दिर” जस्ता अनेकौ ठाउँहरुमा पर्यटकहरुलाई आकर्षित गर्ने चुम्वकीय क्षमता रहेको देखिन्छ । तर हेक्का राख्नुपर्ने कुरा के हो भने तिनले पुनहिललाई प्रतिस्थापन गर्न सक्तैनन । दुरुस्त उस्तै गरी नगरकोटको समकक्षमा उभिन पनि सक्तैनन । पुनहिल वा नगरकोटको जस्तै पर्यटकीय आकर्षणको सम्भावना रहे पनि त्यसको कारण विशेषतको समानता होइन ।

उही हिमाल, उही गुराँसे जङ्गल, उही उबडखावड भूवनोट, उस्तै सदावहार हरिया वनपाखा हेर्नैका लागि मात्र पुनहिलको सट्टा टोड्के, स्वर्गद्वार वा निशिकोटको भ्रमण गर्न पर्यटकहरु तयार हुुदैनन् । यस्तो आशा गर्नु व्यवहारिक अज्ञानता हो । हरेक पर्यटकीय गन्तव्यले भ्रमण अवलोकनकर्ता समक्र्ष नयाँ स्वाद पस्कन सक्नुपर्छ । नयाँपनको अनुभूति गराउन सकनुपर्छ ।
पर्यटकहरुलाई आकर्षित गर्ने स्थानविशेषको नयाँपन र विशिष्टताले हो । परिवर्तनको अनुभूतिले हो । मौलिकपना र भर्जिनिटीले हो । म्याग्दी बाहिरी संसारले देख्दै नदेखेका र सुन्दै नसुेका अनेकौं नयाँ र आश्चर्यजनक भौगोलिक र जैविक विशेषताहरुको खानी नै हो । हाम्रा परिचित आँखाहरुलाई सामान्य लाग्ने कुराहरु पनि बाहिरी संसारका लागि नयाँ नौला लाग्न सक्तछन् । उदाहरणको निमित्त दुखुमा पालिने गाइगोरुको नश्ललाई नै लिन सकिन्छ ।

म्याग्दीको दुखु मात्रै एउटा त्यस्तो ठाउँ हो जहाँ झालेमाले, पाटे पाङ्गे्र, सेता, राता, गुरे, धौले, चम्रे, तिल्के, झुले आदि नौरङ्गी गाइगोरुहरु पाइन्छन् । गाईको नश्ल नै त्यस्तो हो अथवा ठाउँ विशेषको कमाल हो भन्ने कुरा खोजी अनुसन्धानको विषय हो भन्दा फरक पर्दैन । गुर्जाको मकैको ढोड मधेसको गेँवरा उखुभन्दा रसिलो र गुलियो हुन्छ । पहिलोपटक गुर्जेली मकैको ढोड चुस्ने अवसर पाएको मान्छेले मकैबारी छोड्नै बिर्सन्छ ।

लेकाली भेकतिर भेडीको दूधमा पकाइएको “आलम” को विशिष्ट स्वादलाई प्रतिस्थापन गर्ने अर्को कुनै कुरा हुनसक्छ भन्ने कल्पना गर्न पनि सकिदैन । खस्र्युँखोटीको चिया र झारलको खुट्टाको सुपको स्वाद अद्वितीय हुन्छ भन्ने कुराको जानकारी जीवनमा कमसेकम एकपटक चाख्ने अवसर पाएकालाई मात्रै हुन्छ । त्यो स्वादको वर्णन शब्दमा हुनै सक्तैन । यी त नमूना उदाहरण मात्र हुन् । खोजीपाँसुली गर्ने हो भने थप कति नयाँ नयाँ चीजबस्तुहरु भेटिने छन् । यी यस्ता अनेकन विलक्षण स्वाद र अनुभूति दिने चीजबस्तुको पहिचान र उपयोगले मात्र म्याग्दीको पर्यटनउद्योगलाई विशिष्टता प्रदान गर्छ । सामान्य तर भिन्दै स्वाद, दृश्य र अनुभूतिले अवलोकनकर्ताहरुलाई सम्मोहित गर्ने सामथ्र्य राख्दछ ।


1 thoughts on “दुखेली गाइको नश्ल र गुर्जाली मकैको ढोंड !!

Comments are closed.