पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी, २६ चैत ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप लगाउन शिविर आयोजना गरिएको गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले बताउनुभयो ।

१०० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ । पशु चिकित्सक डा. भरत रेग्मीको नेतृत्वमा रहेको चिकित्सक र प्राविधिकहरुको टोली कुकुरको बन्ध्याकरणमा खटिएका छन् ।

रेविज रोगबाट मानिसलाई बचाउन र कुकुरको अनावश्यक संख्या बढ्न नदिनका लागि बन्ध्याकरण शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

कुकुुरलाई बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको छ । पहिलो दिन दाना, भुरुङ, तातोपानी, पोखरेबगर क्षेत्रका ३१ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

शिविर आयोजनाको जिम्मेवारी लिएको भेटेरीनरी सेन्टरलाई गाउँ गाउँमा पुगेर कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।