समग्र विकास नै मानवअधिकार हो ः डा.अर्याल

विकल्प न्यूज/बेनी
चैत १९ गते ।


मानवअधिकारका वारेमा फरकफरक धारणा आउने भएतापनि विकास र मानवअधिकार एकै सिक्काका पाटाहरु रहेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले बताउनुभएको छ ।

उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रियामा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक अर्यालले मानवअधिकारको परिभाषा ब्यापकु हुने बताउँदै अहिलेको हाम्रो विकास पनि मानवअधिकार रहेको बताउनुभएको हो । उहाँले मानव परिवार सबै सदस्यहरुको अन्तरनिहित मान तथा सम्मान र अविछिन्न अधिकारको मान्यता नै स्वतन्त्र न्याय र शान्तिको आधार पनि मानवअधिकारको विश्वब्यापी घोषणापत्रमै उल्लेख भएको उहाँले तर्क गर्नुभयो । मानवअधिकार सम्बन्धि पाँचौं कार्ययोजनाले तोकेको कार्य गर्ने स्थानियतह सम्मकै जिम्मेवारी रहेकोले उनीहरुको भूमिकालाई पनि हामीले भुल्न नहुने उहाँले बताउनुभयो ।

मुलुकको विकास भएको खण्डमा हरेक क्षेत्रमा सहभागिता पनि बढ्दै जाने भएको हुनाले विकास आर्थिक विकास मात्र नभएर बहुआयामिक प्रकृया भएकोले लाभको न्यायोचित वितरण हुनु पर्ने उहाँको भनाई थियो । विकसति मुलुकहरुमा महिलाहरुको सहभागिता हरेक क्षेत्रमा मजबुत हुने तर्फ इंगित गर्दै उहाँले भन्नुभयो जब विकास हुन्छ तब सहभागिता अनि प्रतिस्पर्धा पनि हुन्छ त्यसैले हरेक लाभको न्यायोचित वितरण हुनु पर्दछ ।

नेपालमा मानवअधिकारको सम्बन्धमा धेरै पहिला देखिनै काम हुँदै आएको बताउँदै उहाँले नेपालको संविधानै विभिन्न अधिकारहरुलाई लिपिबद्ध गरीएको बताउनुभयो । उहाँले हाम्रो मुलुकले संवैधानिक रुपमै अधिकारलाई लिपिबद्ध गरिएको तर्क गर्नुभयो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मानवअधिकारका सन्दर्भमा हामीले वकालत गर्दै गर्दा प्रवासमा रहेका नागरिकको अधिकारका विषयमा पनि बोल्नु पर्ने बताउनु भयो । उहाँले बैदेशिक रोजगारीमा जाँदा भोग्नु पर्ने पिडा र समस्याहरुलाई पनि मानवअधिकारमा जोडिनु पर्ने उहाँको तर्क थियो । जिसस प्रमुख थापाले संक्रमणकालिन न्याया चाँडो टुंगिनु पर्ने उहाँको भनाई छ । उहाँले संक्रमणकालिन न्याया जति ढिला हुन्छ त्यतीनै पिडितहरु झनै पिडीत बन्दै जाने बताउनुभयो । स्थानियतहहरुले टोलटोलमा सामाजिक सुरक्षा भत्ता बितरण गर्नुका साथै स्वास्थ्य परीक्षण जस्ता कार्यबाट पनि मानवअधिकारको प्रत्याभुति गर्ने कार्य भएको जानकारी गराउनु भयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मानवअधिकार भनेको सँधै गरी रहने र कहिल्यै पनि हामीले पुरा गरिसक्यौं भन्न नमिल्ने अधिकार भएकोले यो सदावहार भै रहने बताउनुभयो । आफ्नो अधिकार पालना गर्दै अरुको अधिकार पनि जोगाउनु पनि मानवअधिकार भएकोले यो अधिकारका बारेमा सबैले ध्यान दिनु पर्ने उहाँको धारणा थियो ।

इन्सेकका गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकारको पाँचौं राष्ट्रिय कार्ययोजनाको सन्दर्भमा सहजीकरण गर्नुभएको थियो । उहाँले पाँचौं कार्ययोजनाको उद्देश्य तथा हाल सम्मका चार वटा कार्ययोजनाले दिएको मार्गदर्शन र लक्ष्यले समग्र मुलुकको अग्रगमनका लागि सहयोगी भूमिका निर्वाह भएको बताउनु भएको थियो । इन्सेकले मानवअधिकारको अनुगमन पैरवी गर्नुका साथै सामाजिक न्यायाका लागि पनि भूमिका खेलेको धारणा राख्नु भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष डा.कुन्दन अर्याल, गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल तथा गण्डकी प्रदेशकी कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गर्नुभएको थियो । अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता, उपाध्यक्ष दिवा कुमारी तिजिला पुनको स्वागत तथा प्रमुख प्रशासकिय अधिृकत अमृत सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडा नम्बर ६ का अध्यक्ष रामबहादुर खड्काले मन्तव्य राख्नुभएको थियो ।