बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता

विकल्प न्यूज/बेनी
माघ २६ गते ।

म्याग्दीको बेनी बजारमा रहेका होटल तथा रेष्टुरेन्ट व्यावसायीहरुले हुक्का बिक्री वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बेनी नगरपालिकासँग भएको छलफलमा नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा हुक्का प्रतिबन्द गर्न राखेको प्रस्तावलाई उनीहरुले समर्थन गरेका हुन ।
पछिल्लो समय बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा भेला भएर युवाहरुले हुक्काको प्रयोग गर्ने र एकआपसमा झगडा गर्ने प्रवृत्ति बढेपछि नगरपालिकाले हुक्का प्रतिबन्ध गर्न छलफल अगाडी बढाएका थियो ।

नगरपालिकाले राखेको प्रस्तावलाई होटल व्यावसायीहरुले समर्थन जनाउनुभएको छ नगर प्रमुख केसीले भन्नुभयो, ‘‘नगरपालिकाबाट अव नीतिगत निर्णय गरेर नगर क्षेत्र भित्रका सम्पूर्ण होटल तथा रेष्टुरेण्टहरुमा हुक्काको बिक्री वितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउछौं ।’’

बेनीमा हुक्काको बढ्दो प्रयोगले युवायुवतीहरु कुलतमा फस्ने चिन्ता व्यक्त गरिएको थियो । नगरपालिकाले हुक्कालाई प्रतिबन्ध लगाउन पहिलो चरणमा बजार क्षेत्रका जनप्रतिनिधि,सरोकारवाला निकाय र व्यावसायीहरुसँग छलफल गरेको हो ।

हुक्का बन्द गर्ने बेनी नगरपालिकाको कदमलाई निजी क्षेत्रले स्वागत गरेपनि यसका बारेमा गहन अध्ययन हुन जुरुरी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।