ताजा समाचार:
Search

अन्नपूर्णमा माओवादीकाे प्रशिक्षण

पोखरेबगर, १६ पुष ।

नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले माओवादी जनयुद्ध, जनआन्दोलनको उपलब्धीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकाले यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेपालमा संघीय व्यवस्था भएपछि दुर्गम र विकट क्षेत्रमा विकास गतिबिधि बढेको, महिला, दलित, जनजाती, पिछडिएका समुदाय, लिंगको राज्यका निकायमा उपस्थिति बढेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, सचिवालय सदस्य बिनोद केसी, बेनी नगर अध्यक्ष सेरबहादुर केसी, प्रदेश सदस्य रिमबहादुर कटुवाल र प्रदेश सांसद हरि भण्डारीले म्याग्दीको विकासका लागि माओवादीले गरेको पहलकदमीलाई निष्कर्षलाई जनताले साथ दिनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष थमबहादुर बिकको अध्यक्षता र सचिव श्याम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादीका गाउँपालिका ईञ्चार्ज बागबिर पाईजाले अभियान र माओवादीका जनप्रतिनिधिहरुको कामबाट जनआकर्षण बढेको बताउनुभयो ।

अन्नपूर्णसँगै म्याग्दीका ६ वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । भदौ १६ गतेदेखि शुरु भएको माओवादीको अभियानका क्रममा कार्यकर्ता भेला, प्रशिक्षण, सदस्यता विस्तार, नविकरण, नागरिकसँग भेटघाट लगायतका कार्यक्रम भएको थियो ।