विकल्प न्यूज\बेनी
चैत १ गते ।
जिल्लाको दुर्गम धौलागिरी गाउँपालिका–६,मराङको बुल गाउँमा पहिलोपटक सडक पुगेको छ । भौगोलिक रुपमा विकट रहेको बुल गाउँमा मोटर पुगेपछि स्थानीयवासीहरु खुसि भएका छन् । यो सँगै मराङका सवै वस्तीहरु सडक सञ्जालसँग जोडिएका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट १२ लाख, पचास हजार सांसद भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट गत वर्ष १७ लाख,प्रदेश सांसद नरदेवी पुनले १० लाख र गाउँपालिकाको गत वर्षको १० लाख गरी ४७ लाख ५० हजार लागतमा बुलमा सडक पु¥याइएको हो । मराङको राम्चे–जेवाङ सडक खण्डअन्तर्गतको सडक निर्माण कार्य बुल गाउँसम्म जोडिएको हो । गाउँमा सडक पुगेपछि पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको छ ।
गाउँमा सडक पुगेपछि गाउँको जनजीवन सहज हुनुका साथै गाउँमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सजिलो भएको राम्चे–जेवाङ हुदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताउनुभयो ।‘वर्षौंदेखिको हाम्रो प्रयास सफल भएको छ,‘गाउँघरमै मोटरबाटो आएपछि स्थानीयवासी खुशी भएका छन्’ जुग्जालीले भन्नुभयो ।
मराङको बुलबाट छिमेकी वडा मल्कवाङको मलम्पारतर्फ सडक विस्तार गरिने छ । सडक सञ्जाल जोडिएपछि स्थानीयको जीवनस्तर उकासिने सवारीचालक श्रीप्रसाद पुनको विश्वास छ । छिमेकी गाउँबाट यात्रु बोक्दै आएका पुनले अव गाउँबाटै स्थानीयलाई गन्तब्यसम्म पु¥याउन सहज भएको बताउनुभयो । ट्याक खुलेपछि स्थानीयवासीले गाउँमा पहिलो पटक पुग्ने सवारीसाधनका चालकलाई फूलको मालाले स्वागत गर्ने बताएका छन् ।
सडक सञ्जालले करिब ७० घरधुरी लाभान्वित हुनेछन् । मराङको दुर्गम भेगमा सडक पु¥याउन गाउँपालिका,स्थानीय पूर्वाधार विकास कार्यक्रम संघ र प्रदेशबाट विनियोजन भएको रकमले सडक निर्माण गर्न सहज भएको नेकपा एमाले जिल्ला कार्यसमिति सदस्य इश्वर सुबेदीले जानकारी दिनुभयो ।
सगरमाथा बिल्डर्स एण्ड सप्लायर्सको संचालक समेत रहेका सुबेदीले समृद्धिको आधार सडक नै भएकाले सडक विस्तारसँगै नियमित मर्मतसम्भारमा समेत प्राथमिकता दिएको बताउनुभयो । वडा नम्बर १ गुर्जामा भने अझै सडक पुग्न सकेको छैन ।