नेकपा एमाले धौलागिरीको मुनामा कार्यालय उद्घाटन

विकल्प न्यूज\बेनी
फागुन २६ गते ।   नेकपा एमाले धौलागिरी गाउँपालिका कमिटिले गाउँपालिकाको केन्द्र मुनामा कार्यालय संचालनमा ल्याएको छ । बिहिबार नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य भूपेन्द्र बहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटनकै अवसरमा पालिका कमिटिको पूर्ण वैठक पनि सम्पन्न भएको छ । कार्यालयको उद्घाटन एवं वैठकलाई सम्वोधन गर्दै थापाले धौलागिरी गाउँपालिका एमालेको लालकिल्ला भएको र आसन्न स्थानीय तहको निर्वाचनमा पनि एमालेकै जित हुने दावी गर्नुभयो ।

उहाँले एमालेको विरासतलाई जोगाई सोही अनुरुपको चुनावी तयारी थाल्न पनि धौलागिरीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । हाल सरकारमा रहेका दलहरुले गठवन्धन नै कायम राखी चुनावमा आएपनि एमाले एक्लै लड्ने हैसियतमा रहेको थापाको भनाई थियो ।

नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले केपी ओली सरकारले जनभावनाका काम गरेको भन्दै एमाले पार्टि जनताको मन मनमा भएकोले आसन्न चुनाव जित्न गाह्रो नहुने बताउनुभयो ।

श्रेष्ठले चुनाव लक्षित गतिविधि लिएर धौलागिरीका जनताको घरघरमा पुग्नका लागि पनि पालिका कमिटिलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव तथा धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, जिल्ला कमिटि सदस्य ईश्वर सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पूर्ण कमिटि वैठकले कार्यविभाजन तथा चुनावी रणनीति समेत तयार गरेको पालिका कमिटि सचिव रेशम छन्त्यालले बताउनुभयो । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पालिका कमिटिले कार्यालय संचालन गरि पार्टिको गतिविधि संचालन गर्न थालेको उहाँको भनाई छ ।

कार्यक्रम पालिका कमिटि अध्यक्ष होम बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष राजाराम सुवेदीको स्वागत र सचिव छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।