प्रचण्डको गैरजिम्मेवार अभिव्यक्ति (साम्पादकीय)

विकल्प न्यूज/बेनी
माघ २८ गते । 

नेकपाका अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएको छ । भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञाप्ती र पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण यतिखेर दुई अध्यक्ष विच जुहारी चलेको छ । शुक्रवार प्रचण्डले एक कार्यक्रममा माओवादी फेरी व्युतिनसक्ने अभिव्यक्ति दिनुभएको थियो ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र विच पार्टी एकता भई नेपाल कम्युनिष्ट (नेकपा) पार्टी बनिसकेको अवस्थामा त्यो अभिव्यक्ति किन आयो ? पार्टी एकता घोषणा भएको आठ महिना वितिसकेको छ । केन्द्र र प्रदेशमा पार्टी कमिटिहरु एकता भईसकेका छन् । जिल्ला,स्थानीय तह र जनबर्गिय संगठनका कमिटिहरुको अझै एकता हुन बाँकी छ । स्थानीय तहका कमिटीहरु एकता नहुँदा कार्यकर्ताहरुमा निराशा छाएको समयमा फेरी प्रचण्डको उक्त अभिव्यक्तिले थप निराशा पैदा गराइदिएको छ ।
तल्लोतह सम्म पार्टी एकता नहुँदै प्रचण्डको अभिव्यक्तिले एकता प्रक्रिया कतै टुट्ने त होइन भन्ने आशंका कार्यकर्ताहरुमा उब्जीएको छ । निर्वाचनका समयमा दुइपार्टी विच भएको चुनावी तालमेलले कार्यकर्ताहरुमा उत्साह थपेको थियो । निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनिएपनि तत्काल पार्टी एकता हुन सकेन । एकताको घोषणा गरेको पनि धेरै समय घर्किसकेको छ तर तल्लोतह सम्म एकता गर्न अझै सकिरहेका छैनन् ।

प्रचण्डको ‘अर्को माओवादी जन्मन्छ’ भन्ने अभिव्यक्ति आफैमा गैरजिम्मेवार छ । लाखौं नेता तथा कार्यकर्ताहरुलाई एकताको सुत्रमा लामबद्ध गर्नुको साटो फेरी अर्को माओवादी जन्माउने कुरा कुनै पनि हालतमा कार्यकर्ताहरुलाई ठिक नलाग्न सक्छ । अब फेरी अर्को माओवादी किन र कसका लागि ? संविधानसभाबाट नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनि गणतन्त्रलाई संस्थागत गर्ने मार्गमा पुगिसेको अवस्थामा फेरी अराजकता निम्त्याउने खालको प्रचण्डको अभिव्यक्ति देश र जनताको हितमा छैन ।

दुइपार्टीलाई एकताको सुत्रमा ल्याउनका लागि प्रचण्डले गरेको योगदान नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण छ । त्यहि एकताको जगबाट नै बर्तमान सरकारलाई दुइतिहाई मत प्राप्त भएको हो । नेपाली जनताले बर्तमान सरकारबाट ठूलो आशा र अपेक्षा राखेका छन् । सरकारका कामकारवाहीहरुलाई थप प्रभावकारी बनाई मुलुकलाई विकास र समृद्धिको दिशातर्फ लैजानु अहिलेको मुख्य कार्यभार हो ।

यसका साथै नेकपाले आफ्नो पार्टी संरचनालाई एकताबद्ध र बलियो बनाउनका लागि पनि तत्लो तह सम्म नै तत्काल एकतालाई पूर्णता दिनुको कुनै विकल्प छैन । सार्वजनिक मञ्चमा कुर्लिनु भन्दा योजना बनाएर पार्टी एकतालाई पूर्णता दिन नेताहरुले समय दिनुपर्दछ ।

अर्को कुरा सरकारको नेतृत्व गर्नुभएका केपी शर्मा ओलीले पनि पार्टीका सवै नेता कार्यकर्ताको साथ लिएर सरकार सञ्चालन गर्नु राम्रो हुन्छ । एकलौटी तरिकारले सरकार सञ्चालन हुँदा नेता कार्यकर्ताहरुमा निराशा उब्जीने र एकतालाई असर पुग्ने वातावरण सिर्जना हुनसक्छ । त्यसैले जनताले दिएको मतको सम्मानका लागि नेकपाका नेताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ ।